कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

उपप्रमुखबिनै नगरसभा

कपिलवस्तु — बुद्धभूमि र कपिलवस्तु नगरपालिका उपप्रमुखले पाँचौं नगरसभा बहिष्कार गरेका छन् । आइतबार भएको नगरसभा दुवैले बहिष्कार गरेका हुन् । 

बुद्धभूमि नगरपालिका उपप्रमुख मीरा चौधरीले प्रमुख केशवकुमार श्रेष्ठले एकलौटी र मनोमानी तरिकाले कार्यक्रम र बजेट विनियोजन गरेकाले नगरसभा बहिष्कार गरेको बताइन् । ‘उपप्रमुखका सानातिना कुराको पनि सुनुवाइ हुँदैन,’ उनले भनिन्, ‘त्यस्तो कार्यक्रममा बस्नुको औचित्य देखिनँ ।’


सभामा गएर नोट अफ डिसेन्ट लेखेर फर्किएको उनले बताइन् । कार्यक्रममा उपस्थित भए पनि बजेट सार्वजनिक हुँदा उनी बाहिरिएकी थिइन् । प्रमुख केशवकुमार श्रेष्ठले भने नगरले सम्मान गर्दा गर्दै पनि उपप्रमुख चौधरी अर्कैको कुराले बहकिएको बताए । ‘हामीले सम्मान गरेकै छौं,’ उनले भने, ‘हामी मिलेर काम गर्न तयार छौं ।’

बुद्धभूमिको सभा नेकपाका ४ वडाध्यक्ष र १५ नगर सदस्यले पनि बहिष्कार गरेका छन् । २, ३, ९ र ६ का वडाध्यक्ष र नगर सदस्यले विज्ञप्ति निकालेर बहिष्कार गरेका हुन् । उनीहरूले नगरसभा विधिविधानविपरीत भएकाले बहिष्कार गरेको बताए । सभाले आगामी आवका लागि ८६ करोडको बजेट पारित गरेको छ ।


कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मी गुप्ताले पनि नगरसभा बहिष्कार गरेकी छन् । स्थानीय सरकार संचालन ऐन दफा ६६ अनुसार बजेट संकलन तथा दफा ६७ अनुसार बजेट तर्जुमा बैठक नै नबसी गर्न लागेकाले आफूले बहिष्कार गरेको उनले बताइन् । उनीबाहेक अन्य सबै उपस्थित थिए । ‘उपप्रमुख गुप्ताले बहिष्कार गरेकी छैनन्,’ नगर प्रमुख किरण सिंहले भने, ‘अनुपस्थित मात्रै भएकी हुन् ।’ सभाले आगामी आवका लागि ८९ करोडको बजेट पारित गरेको छ ।

प्रकाशित : असार ३१, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?