३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पूर्वसूचना प्रणाली जडान

बर्दिया — बर्सेनि वर्षायाममा आउने बाढीको पूर्वसूचना प्रभावकारी बनाउन बबईको सल्यान घुइयाबारीमा स्वचालित जलमापन यन्त्र जडान गरिएको छ ।

प्रदेश ५ को आन्तरिक तथा कानुन मन्त्रालयको सहयोगमा विपद् व्यवस्थापन समितिको पहलमा स्वचालित यन्त्र जडान गरिएको हो । यसअघि बबई नदीको माथिल्लो तटीय क्षेत्र चेपाङमा मात्र स्वचालित यन्त्र रहेको थियो ।


यसै साता घुइयाबारी स्थित बबई नदीमा स्वचालित जलमापन यन्त्र जडान गरिएपछि पूर्वसूचना प्रणाली प्रभावकारी हुने भएको छ । चेपाङबाट सदरमुकाम गुलरियास्थित भादामा पानीको प्रभाव करिब ६ घन्टामा आउने गर्छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले घुइयाबारीमा जलमापन यन्त्र जडानले बाढीको पूर्वसूचना तयारीमा थप सहयोग पुग्ने बताए । बबई नदीको घुइयाबारीमा जडान गरिएको स्वचालित यन्त्रले बाढीको पूर्वतयारीमा ३ घण्टा पहिल्यै सूचना पाउने बताएका छन् ।


जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन सक्रिय भएकाले सबै सुरक्षा निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्था रहन निर्देशन दिएको छ । यसै गरी स्थानीय तहलाई समेत विपद् व्यवस्थापनमा सक्रिय रहन भनिएको छ । समितिले कर्णाली तथा बबई नदीको तल्लो तटीय क्षेत्रमा रहेका पूर्वसूचना कार्यदललाई समेत तयारी अवस्थामा राखिएको छ । कर्णाली नदीको तटीय क्षेत्रमा ४६ र बबई नदीको तटीय क्षेत्रमा ३५ वटा कार्यदल रहेको सूचना व्यवस्थापन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्र बर्दियाका अधिकृत रूपन ज्ञवालीले बताए ।


जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले २४ औं घन्टा नदीको बहाव निगरानी गर्ने गरेको छ । नदीले सतर्कता तह पार गर्ने बित्तिकै साइरन बज्छ । बाढीको अवस्था हेरेर पहिल्यै नै पहिचान भएका समुदायमा जोखिम हेरेर साइरन बजाउने व्यवस्था मिलाइएको सञ्चालन केन्द्रका अधिकृत ज्ञवालीले जनाए । त्यसै गरी विपदो बेला खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन यस वर्ष ५ लाख बराबरको खोज तथा उद्धार सामग्री सुरक्षा निकायलाई उपलब्ध गराइएको अधिकृत ज्ञवालीले जनाए ।


जिल्लाका तीनवटै सुरक्षा निकायलाई पानीको बहाव हेर्न डिस्प्रे वोर्ड उपलब्ध गराइएको छ । गत वर्ष पनि जिल्लामा सुरक्षा निकायसँग रहेको खोज तथा उद्धार सामग्रीको पहिचान गरी स्थानीय तहको सहयोगमा १५ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराइएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७६ तथा मनसुन पूर्वतयारी कार्ययोजना लागू गर्दै हुन सक्ने क्षति कम गर्न सबै तयारी पूरा गरेको प्रजिअ कुरुम्बाङले बताए ।

प्रकाशित : असार ३१, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?