कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निरन्तरको पहिरोले अवरोध

सडक निर्माण भएदेखि हरेक वर्ष पहिरो झर्ने र त्यसले सर्वसाधारणको यात्रालाई लामो र असुरक्षित बनाउने गरेको छ

रुकुम पूर्व — सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिं थापा २ सातादेखि पैदल रुकुमकोट आउजाउ गरिरहेका छन् । रुकुमकोट गाउँपालिकाको केन्द्र हो । कार्यपालिका बैठक, गाउँसभा र अन्य कामका लागि आउजाउ गरिरहनुपर्छ । 

निरन्तरको पहिरोले अवरोध

उक्त वडा कार्यालयदेखि रुकुमकोटसम्म सडक निर्माण भएको छ । तर, २ सातादेखि सर्वसाधारण पैदल यात्रा गर्न बाध्य छन् । सिस्ने–७ का वडाध्यक्ष अमृत बुढाथोकी पनि हिंडेरै केन्द्र पुग्छन् । उनी ३ र ४ वडा घुमेर मात्रै रुकुमकोट पुग्छन् । यसपालि पनि कौछेमा पहिरो गएकाले सर्वसाधारणका दुःख सुरु भएका हुन् ।


सोलाबाङ–बालुवा हरित सडकअन्तर्गत सिस्ने–७, कौछेमा खस्ने पहिरोले सास्ती हुने गरेको छ । सडक निर्माण भएदेखि हरेक वर्ष पहिरो झर्ने र त्यसले सर्वसाधारणको यात्रालाई लामो र असुरक्षित बनाउने गरेको छ । ०६५ सालमा सोलाबाङ–बालुवा हरित सडक उद्घाटन भएको थियो । मंसिरमा उद्घाटन भएको सडक त्यसै वर्ष असारमा ठप्प भयो । वर्षातको अवधिभर अब उक्त सडक मर्मत वा सुचारुको सम्भावना छैन ।


सडकदेखि माथिबाट तल बग्ने भेरीसम्म कौछेमा लामो पहिरो छ । घाम लागेका बेला दौड्न सक्नेहरू उक्त सडकमा दौडन्छन् । नसक्नेहरू लामो बाटो हिंड्नुपर्ने बाध्यतामा छन् । पानी पर्दा निरन्तर पहिरो खसिरहने समस्या रहेको वडाध्यक्ष थापाले बताए । ‘सक्ने युवा मात्रै पहिरो झरे/नझरेको माथि हेरेर दोड्ने हो,’ उनले भने, ‘अन्यथा लामो बाटो हिंड्नुको विकल्प छैन ।’


पहिरो झरिरहने भएकाले सडक मर्मत गरेर यातायात वा पैदल यात्रा सुचारु गराउने सम्भावना नरहेको उनले बताए । पहिरो नआउँदा पनि ढुंगा र माटो झरिरहने भएकाले पनि वर्षात नसकुन्जेल त्यस ठाउँमा बसेर काम गर्न सम्भव छैन । सिस्ने गाउँपालिकाले वर्षातपछि मात्रै सडक सुचारु गर्न सकिने बताएको छ । गाउँपालिका अध्यक्ष कुमारी बरालले वर्षातमा काम गर्न नसकिने र गराएको काम पनि तत्कालै पहिरोले बगाउने हुँदा पानी कम भएपछि मात्रै सडक सुचारु गरिने बताइन् ।


ठूलो र पुरानो पहिरो भएकाले सानो बजेटबाट रोकथामको सम्भावना नरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा प्रदेश ५ ले २५ लाख बजेट विनियोजन गरेर पहिरो रोकथामको प्रयास गरेको थियो ।

प्रकाशित : असार ३०, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?