हराएको शिशु स्याङ्जाको मिर्मिबाट भेटियो

माधव अर्याल

पाल्पा — लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार हराएको नवजात शिशु शनिबार भेटिएको छ । अस्पतालमा जन्मिएको चार घण्टामै गायव भएको शिशु स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएको हो । प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिबार बिहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको जनाएको छ । 

बच्चा सकुशल छ । अस्पतालबाट शिशु खोजी कार्यमा मिर्मिका स्थानीय र सञ्चारकर्मी जगदीश भटराई लगायतले प्रहरी प्रशासनलाई सघाएका हुन् । टोलीले स्थानीय र कालीगण्डकी ड्याम साइटका कर्मचारीहरुको सहयोग लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा सम्पर्क गरी बच्चा राखेको ठाउँमा बच्चा र बच्चा चोर्ने ४५ वर्षकी विमकला पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ ।

क्याम्पका सुरक्षाकर्मीहरुले रातभरी बच्चा रोएको र त्यहाँ कोही पनि सुत्केरी नभएको भन्ने आधारमा थप अनुसन्धान शुरु गरिएको थियो । महिला स्याङ्जा गल्याङ नगरपालिका-५, डुम्रीचौर स्थायी घर भएकी ४५ वर्षकी विमकला विगत एक दशक अघिदेखि कालीगण्डकी ए परियोजनाको ड्याम साईडको क्वाटरमा दैनिक ज्यालादारीमा सरसफाई गर्ने कर्मचारी हुन् ।

नवजात शिशु

सुत्केरी बेथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका-९, डाँडागाउँ तिलाहारकी २२ वर्षीया जमुना रानाले शुक्रबार बिहान ११ बजे लुम्बिनी मेडिकल कलेजमा जन्म दिएकी हुन् । सुत्केरी रानासँगै उनकी आमा र श्रीमान् समेत साथमा थिए । बच्चाको खोजीमा अस्पताल आएकी विमकला पाण्डेले उनीहरुको सीधापन र अस्पतालका कर्मचारीहरुको चरम लापरवाहीको फाइदा उठाउँदै बच्चा चोर्न सफल भएकी हुन् । विमकलाले बच्चा चोरेपछि अस्पतालको गेटबाटै भाग्दै गर्दा कसैले पत्ता पाएनन् ।

प्रकाशित : असार २८, २०७६ १२:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोमा पुरिएर परिवारका ३ बेपत्ता

एलिसा श्रेष्ठ

भोजपुर — रामप्रसाद राई गाउँपालिका ५ मा झरेको पहिरोले घर सहित बगाएर तीनजना बेपत्ता भएका छन् । स्थानीय कुमार राईको भान्सा घरसहित उनकी ३५ वर्षीया श्रीमती मनकुमारी, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

करिब सय मिटर माथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका हुन् । स्काभेटर प्रयोग गरी पहिलो पन्साउने काम भइरहेको छ । उनीहरुको खोजी भइरहेको भोजपुर प्रहरी प्रमुख नरबहादुर मगरले बताए ।

प्रकाशित : असार २८, २०७६ १२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT