सिद्धार्थ राजमार्गमा पहिरो खस्ने, हटाउने निरन्तर 

माधव अर्याल

पाल्पा — वर्षा सुरु भएसँगै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङदेखि चिडिया खोलासम्मको सडकमा पहिरो खस्ने क्रम सुरु भएको छ । सडक डिभिजन कार्यालयले आधा घण्टामा पहिरो पन्छाउने सवारी साधन व्यवस्था गरेकाले खस्ने र हटाउने निरन्तर रहेको छ । वर्षासँगै सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला खण्डमा पहिरो खस्ने क्रम सुरु हुन्छ । 

सिद्धार्थ राजमार्गमा पहिरो खस्ने, हटाउने निरन्तर 

शुक्रबार मात्रै बिहान २ बजेदेखि ५ बजेसम्म राजमार्ग अवरुद्ध भयो। राजमार्गको तिनाउ गाउँपालिका–५ गौडेपुल र चर्चरेको बीचमा पहिरो खसेको थियो । बिहानै थाहा पाउनासाथ सडक डिभिजनको बर्तुङमा रहेको डोजर प्रयोग गरेर एक घण्टामै राजमार्ग एकतर्फी सुचारु भयो । बिहीबार वर्षासँगै ढुंगा खस्दा सिद्दबाबा क्षेत्रमा राजमार्ग अवरुद्ध भयो । ६ बजेदेखि ८ बजेसम्म सडक अवरुद्ध हुँदा धेरै यात्रुले दुःख पाए । राजमार्गको केराबारी, पानीमिल, हिउँदेखोला, चर्चरे, गौडेपुल, झुम्सा, दोभान लगायतका क्षेत्रमा पनि साना ठुला पहिरो खसेको छ ।


सडक डिभिजन कार्यालयका अनुसार ४ स्थानमा डोजर तम्तयार अवस्थामा राखिएको छ । जहाँ पहिरो खसेपनि आधा घण्टामै पुग्न सकिने गरी मेसिनरी औजार व्यवस्थापन गरेको डिभिजन प्रमुख केदार नेपालले बताए । डोजर,स्काभेटरलाई तयारी अवस्थामा राखिएको उनले बताए ।


उनका अनुसार आर्यभन्ज्याङ–राम्दी र ताँहुसम्मका लागि आर्यभन्ज्याङमा मेसिन राखिएको छ । यस्तै ताहुँदेखि रामपुर र आर्यभन्ज्याङतर्फको केही भागका लागि ताँहुमै डोजर राखिएको छ । त्यस्तै सिद्धबाबा लगायतका वरपरका लागि दोभान प्रहरी चौकीमा मेसिन राखिएको छ ।

प्रकाशित : असार २७, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?