नसुन्ने विद्यार्थी मर्कामा

'धेरै बस हुइँकिन्छन् । रोक्दैनन्, चढाइहाले दुर्व्यवहार गर्छन् ।'
अमृता अनमोल

(बुटवल) — कक्षा ८ मा अध्ययनरत यहाँकी एलिना खातुन बोल्न र सुन्न सक्दिनन् । सांकेतिक भाषामा पढ्न नजिकमा विद्यालय छैन । भैरहवास्थित बहिरा बाल माविमा जानुपर्छ । २५ किलोमिटर टाढा आउजाउ गर्न कठिन छ ।

नसुन्ने विद्यार्थी मर्कामा

सरकारले यस्ता विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिनुपर्ने नियम बनाएको छ । यस्तो नियमका कारण सार्वजनिक बसमा उनीहरूलाई चढाउन मान्दैनन् । ‘धेरै बस हुइँकिन्छन् । रोक्दैनन्,’ उनले भनिन्, ‘चढाइहाले दुर्व्यवहार गर्छन् ।’


शंकरनगरकी मीना शर्मा कक्षा ९ की विद्यार्थी हुन् । दैनिक विद्यालय आउजाउ गर्छिन् । ‘भरसक बस रोक्दैनन् । सिटमा बस्न त कहिल्यै पाउँदैनौं,’ उनले भनिन्, ‘उभिन सबैभन्दा कुनोमा जानुपर्छ । त्यसो गर्दा सहचालक रिसाउँछन् ।’ सुस्त श्रवणशक्तिकालाई सार्वजनिक यातायातका साधन प्रयोगमा पूर्ण छुट छ । अनुगमन नगर्दा त्यो पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।


यसको मारमा श्रवण शक्ति कमजोर रहेका विद्यार्थी परेका छन् । मीना र खातुनजस्ता ८४ जना यस्ता विद्यार्थी पढ्नैका लागि दैनिक बुटवल–भैरहवा आउजाउ गर्छन् । उनीहरू सबैलाई सधैं सवारी साधनको समस्या पर्छ । तर्क गर्न सक्ने विद्यार्थीले सांकेतिक रूपमा तर्क गर्छन् । नसक्ने भाडा दिएरै आउजाउ गरेका हुन्छन् ।


बुटवलबाहिरका रुटमा भाडा समस्या अझ धेरै छ । भाडा छुट मागे सहचालकहरूले बीच बाटोमै झारी दिन्छन् । विपन्न परिवारका बालबालिकालाई दैनिक भाडा तिरेर आउजाउ गर्न पनि समस्या छ । यही समस्याका कारण घरबाट आउजाउ गर्न सक्ने धेरै श्रवण शक्ति कमजोर विद्यार्थी विद्यालयकै आवास गृहमा बस्न बाध्य छन् ।


भैरहवास्थित बहिरा बाल माविमा २६ जिल्लाका १ सय ८९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयकी प्रधानाध्यापक दिलमाया थापाले समस्या नै भए पनि सबै विद्यार्थीलाई आवास सुविधा दिन नसकिने बताउँछिन् । पश्चिम नेपाल बस व्यवसायी संघ (प्रालि) का उपाध्यक्ष जीवनकुमार बन्जाडे आफू मातहतका बसमा छुट दिन आग्रह गरेको बताए । तर, एकैपटक धेरै त्यस्ता विद्यार्थी चढ्दा समस्या हुने भएकाले बाँडिएर बस्न उनले आग्रह गरे ।


पछिल्लो पटक कम्पनीमार्फत धेरै बस सञ्चालन भएका छन् । उनीहरूले भने छुट नै दिँदैनन् । श्रवण शक्ति कमजोर विद्यार्थी कल्पना ढकालले छुट माग्दा सरकारसित माग भनेर हप्काउने गरेको बताइन् ।


प्रदेशले दियो स्कुल बस

श्रवण शक्ति कमजोर विद्यार्थीलाई विद्यालय आउजाउमै समस्या परेपछि विद्यालयले १० वर्ष अघिदेखि विभिन्न सरकारी र गैरसरकारी निकायसँग सवारी साधन माग गरेको थियो ।


विद्यालयको मागअनुसार अहिले प्रदेशको सामाजिक विकास मन्त्रालयले बस उपलब्ध गराएको छ । मंगलबार प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालय व्यवस्थापन समितिलाई स्कुल बस हस्तान्तरण गरे । अब बुटवल रुटका विद्यार्थी विद्यालयकै बसमा आउजाउ गर्ने छन् । अन्य क्षेत्रबाट आउनेका विद्यार्थीका लागि भने समस्या उस्तै हुनेछ । त्यसमा के गर्ने ? सामाजिक विकास मन्त्री बरालले बस व्यवसायीहरूसँग छुटको प्रावधानलाई लागू गर्न निर्देशन दिने बताए ।


प्रदेश ५ मा सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरू पढ्ने ५१ वटा विद्यालय छन् । अन्य विद्यालयमा पनि त्यस्ता विद्यार्थी आउजाउमा यातायातको समस्या छ । आगामी वर्ष माग र आवश्यकताका आधारमा ती विद्यालयमा पनि सहयोग गर्ने मन्त्री बरालले बताए । ‘६/७ जना विद्यार्थी राखेर पनि सुस्त श्रवणका विद्यालय सञ्चालन भएका छन्,’ उनले भने, ‘त्यस्ता विद्यालयलाई भने गाभेर नयाँ उत्कृष्ट विद्यालय निर्माण गर्ने योजना बनाएका छौं ।’


प्रकाशित : असार २६, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?