आपतकालीन केन्द्र स्थापना

कान्तिपुर संवाददाता

प्यूठान — विपद् व्यवस्थापनका लागि आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला तत्काल उद्धार, राहतलगायतका काम गर्न जिल्ला प्रशासन कार्यालय प्यूठानमा केन्द्र स्थापना गरिएको हो ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेको उद्धार सामग्री देखाउँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे । तस्बिर : गिरुप्रसाद भण्डारी/कान्तिपुर

केन्द्रले मंगलबारबाट कामको शुभारम्भ गरेको छ । केन्द्र स्थापनाले जिल्लामा आइपर्ने प्रकोप व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चौबीसै घण्टा सेवा संचालनका लागि प्रदेश सरकारद्वारा उपलब्ध कर्मचारी र नेपाल प्रहरी, सशस्त्र प्रहरीका जवान खटिएका छन् । प्राकृतिक प्रकोप र महामारीका घटनापछि रोकथाम, क्षति न्यूनीकरण, पुनःस्थापना, स्थानान्तरणलगायत कार्यलाई प्रभावकारी बनाउन केन्द्रले सहयोग पुर्‍याउने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

प्रदेश सरकारबाट प्रशासनलाई उद्धार सामग्री खरिद गर्न उपलब्ध गराएको ५ लाख रुपैयाँले उद्धारका सामान किनेर तयारी अवस्थामा राखिएको छ । केन्द्रमा पूर्वसूचना दिने संयन्त्रसमेत सञ्चालनमा ल्याइएको छ ।

केन्द्र स्थापनाले जिल्लामा आइपर्ने प्रकोप व्यवस्थापन, जनधनको क्षति न्यूनीकरण र मानवीय सहायता उपलब्ध गर्न योगदान मिल्ने अपेक्षा गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले बताए । केन्द्रले जिल्लाभरबाट एकीकृत रूपमा सूचना संकलन गरी जिल्लामा आपतकालीन अवस्थामा निर्वाह गर्नुपर्ने खोज, उद्धार, राहतसहितको कार्ययोजना निर्माणलगायत त्यससम्बन्धी आवश्यक कार्य गर्नसहयोग पुग्नेछ ।

केन्द्रमा ३० प्रकारका विभिन्न उद्धार सामग्री राखिएका छन् । पूर्वसूचना उपलब्ध गराउने, तत्काल उद्धारका लागि टोली परिचालनमा समन्वय गर्ने, रिपोर्टिङ गर्ने, रेकर्ड राख्नेलगायत कार्य सञ्चालन हुने प्रजिअ गैह्रेले बताए ।

प्रशासनकै अगुवाइमा जिल्लामा विपद् पूर्वतयारी प्रतिकार योजनासमेत बनाइएको छ । योजनाअनुसार जिल्लामा रहेका १२ प्रहरी चौकीबाट ५/५ जना, ६ वटा इलाका प्रहरी कार्यालयबाट ७/७ जना, जिल्ला प्रहरी कार्यालयबाट २५ जना विपद्मा खटिनेछन् ।

प्रकाशित : असार २६, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

बन्यो नौमती बाजा पार्क

कान्तिपुर संवाददाता

(पोखरा) — अग्रभागमा २ ठूला सनई छन् । पछाडि दाइनेतर्फ ट्याम्को, दमाहा र झ्याली । देब्रेतर्फ ढोलकी, दमाहा र झ्याली रहेका छन् । अन्तिममा २ वटा नरसिंगा राखिएको छ । सबै बाजालाई सहज रूपमा अवलोकनका लागि सिँढी बनाइएको छ । संरक्षणका लागि तारजालीले बेरिएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ डाँडापोखरीमा परम्परागत नौमती (पञ्चे) बाजा पार्कको दृश्य हो यो । सुरुमा कर्नाल मात्रै राख्ने योजना बनेकोमा संघीय सरकारले आवश्यक बजेट उपलब्ध गराएपछि गाउँपालिकाले नौमतीका सबै बाजा राखेर पार्क बनाएको हो । नेपाली परम्परागत बाजा र संस्कृति झल्काउने उद्देश्य यसको छ ।

‘ग्रामीण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको गाउँमा पर्यटन प्रवर्द्धनमा थप सहयोग पुर्‍याउन पार्क बनाएका हौं,’ वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले भने, ‘पार्कलाई विस्तार गरी ढिकीजाँतो, उखु, निबुवा पेल्ने कोल पनि राख्ने योजनामा छौं ।’

सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए । धितालमा दमाई समुदायको बसोबास छ । उनीहरूले नौमती बाजा पनि बजाउँछन् । यहाँका बाजा ‘राम्रो’ भनेर देशैभरि चर्चित छ । गाउँको पहिचान नौमती बाजा पनि भएकाले पार्क बनाउने निर्णय गरिएको ढुंगानाले बताए । पार्क निर्माण समितिका अध्यक्ष सुनील दाहालका अनुसार ३ सय किलोग्राम तामाको प्रयोगबाट ९ वटा बाजा बनाएर राखिएको छ ।

यसका लागि संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ‘मुस्ताङबाट कालीगढ ल्याएर बाजा बनाइएको हो,’ उनले भने, ‘पार्क आन्तरिक तथा बाह्य पर्यटकका लागि एउटा ‘प्रोडक्ट’ बनेको छ । यसले पर्यटकको बसाइ लम्बिने विश्वास लिएका छौं ।’ पार्क निर्माणका लागि गाउँपालिकाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

गाउँमा पार्क बन्दा खुसी लागेको र यसले परम्परागत बाजाप्रतिको सम्मान गरेको स्थानीय राजु परियारले बताए । बाजा र आफ्नो पेसाप्रति हीनताबोध गर्दै आएको बेला पार्क बनाएर बाजा राख्नाले बाजा र पेसाको महत्त्व बुझाउने काम भएको उनको भनाइ थियो ।

‘परम्परागत बाजा र पेसा लोप हुँदै गएका बेला नौमती बाजाको पार्कले समुदायमा मनोबल बढाउन प्रोत्साहन गरेको छ,’ उनले भने, ‘अब गाउँपालिकालगायत निकायले पुराना पुस्ताका वाद्यवादकलाई सम्मान गरे अझै हौसला बढ्ने थियो ।’ सीप र कला भएकामा हीनताबोध भएको र नयाँ पुस्ता आकर्षण नभएका बेला पार्कले संस्कृति संरक्षण गर्नुपर्छ भन्ने युवामा सूचना प्रवाह गरेको उनले बताए ।

उक्त स्थान ट्रेकिङ रुट पनि पर्छ । गाउँमा होमस्टे र होटलसमेत सञ्चालनमा छन् । आन्तरिक र बाह्य पर्यटकको पनि चहलपहल हुन्छ । ग्रामीण जनजीवन, संस्कृति, हिमशृंखलाको दृश्यावलोकन, शान्त र रमणीय गाउँमा पार्क बनेर थप पहिचान भएको स्थानीय सुन्दर गुरुङले बताए ।

‘नेपाली परम्परागत बाजा र संस्कृतिको विषयमा जान्ने मौका पनि यसले दिएको छ,’ उनले भने, ‘अब व्यापार व्यवसाय पनि फस्टाउने देखिन्छ ।’ पार्क बनेपछि हेर्नकै लागि पर्यटक आउन थालेको स्थानीयले बताए । करिब दुई रोपनी सार्वजनिक जग्गामध्ये ४ आनामा बाजा राखिएको छ । अरू जग्गामा सांस्कृतिक संग्रहालय बनाउने योजनामा स्थानीय छन् ।

प्रकाशित : असार २६, २०७६ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्