१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सडक किनारामा फूलैफूल

माधव अर्याल

पाल्पा — पर्यटकलाई आकर्षित गर्न तानसेन–रानीमहल सडक किनारमा फूलैफूल रोपिएको छ । तानसेन नगरपालिका, डिभिजन वन कार्यालय, नेपाली सेनाको सहकार्यमा तानसेन–रानीमहल सडक किनारमा फूलका बिरुवा लगाइएको हो । डिभिजन वनले सोमबारदेखि ‘गोल्ड मोहर’ का बिरुवा रोपेको जनाएको छ ।

सडक किनारमा वृक्षरोपण कार्यक्रमअन्तर्गत तानसेनदेखि पर्यटकीय क्षेत्र रानीमहल जाने सडकमा यस्ता बिरुवा रोपेको हो । वन अधिकृत मोहन पौडेलका अनुसार यस वर्ष ६ सय बिरुवा सडक किनारमा लगाइनेछ । नेपाली सेनाले खाल्डा खन्ने, संरक्षणका लागि बाँसको ट्री गार्ड बनाउनेलगायत काममा सघाएको उनले बताए । यस वर्ष सडक किनारमा वृक्षरोपणका लागि ३ लाख बजेट छ । ‘यस वर्ष कालोपत्रे सडक भएसम्मका लागि वृक्षरोपण गरिने भएको छ,’ उनले भने, ‘त्यसको व्यवस्थापन गरेर बचाउने अभियान पनि चालिएको छ ।’


यस खण्डमा बाँसका २ सय ५० बढी ट्री गार्ड बनिसकेका छन् । कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलका अनुसार उकाली पीपल सामुदायिक वन र तल्लो श्रीनगर सामुदायिक वन उपभोक्ता समूहले पनि यसमा सहकार्य गरेर काम गरेका छन्, जसले गर्दा रोपिएका वृक्षको संरक्षणमा सहयोग पुग्ने उनले बताए । अभियानको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले शुभारम्भ गरे । पर्यटकीय स्थल रानीमहल पुग्ने पर्यटकलाई बाटैभरि फुलेका फूलले थप मनोरन्जन दिलाउने उनले बताए । तस्बिर लिनका लागि हिमाल र सँगै गोल्ड मोहरको मनमोहकताले लोभ्याउने प्रमुख शाहीले बताए ।


गमला र लालीगुराँस

तानसेनलाई फूलको सहर बनाउन अभियान सुरु भएको छ । त्यसका लागि तानसेन नगरपालिका–३ स्थित सौन्दर्यकरण उपभोक्ता समितिले घरधनीलाई फूल राख्ने गमला वितरण गरेको हो । उपभोक्ता समितिमार्फत प्रत्येक घरधनीलाई गमला वितरण गरिएको वडाध्यक्ष महेशलाल शाक्यले बताए । प्रत्येक घरघर, गल्लीगल्ली, सडकको दायाँबायाँ गमलामा फूल राख्ने उनले बताए । वसन्तपुर, भगवती टोल र टक्सार टोल गरी १८ टोल विकास संस्थामार्फत घरघरमा गमला वितरण गरिनेछ ।


तानसेन नगरपालिकाका प्रमुख शाहीले टोल विकास संस्थाका प्रमुखहरूलाई गमला वितरण गरेर अभियान शुभारम्भ गरेका थिए । तानसेनलाई फूलैफूलको सहर बनाउन गमला वितरण अभियान सुरु गरिएको उनले बताए । नगरभित्र आउने पर्यटकलाई फूलैफूलले स्वागत गर्दै तानसेनमा बसाइँ लम्ब्याउने गरी काम गर्नुपर्ने वडावासीलाई उनले सुझाव दिए । सरसफाइमा पनि ध्यान दिँदै तानसेनलाई सफा सुन्दर बनाउन, गमलासँगै प्रत्येक घरघरमा फोहोर संकलन गर्ने बाल्टी वितरण गरिएको उनले बताए । सौन्दर्यकरण समितिले भगवती जात्रा रथ हिंड्ने बाटोको दायाँबायाँ सडकमा गमला अनिवार्य रूपमा राख्न वडावासीलाई अनुरोध गरेको छ ।


तानसेन–१०, गुफाचौरमा १५ प्रजातिका लालीगुँरास रोपिएको छ । तानसेन नगरपालिकाको अभियानअन्तर्गत लालीगुँरासका बिरुवा रोपेको हो । जिल्लास्थित नेपाली सेनाको गोरख दल गणका मेजर मनोज डंगोलले सकल दर्जाका सेना र स्थानीयको सहभागितामा बिरुवा रोपिएको बताए । धार्मिक एवं पर्यावरणीय हिसाबले मनोरम स्थलका रूपमा विकसित हुँदै गएकाले गुफाचौरमा पर्यटक आकर्षण बढाउन लालीगुराँसको वृक्षरोपण गरिएको हो ।


वडाध्यक्ष लोचनप्रसाद तिमिल्सेनाले नगरलाई थप हराभरा बनाई पर्यटकीय गन्तव्य बोकेको गुफाचौरमा थप पर्यटन विस्तार र प्रर्वद्धन गर्ने अभियान सुरु भएको बताए । तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर अर्यालले पर्यटकीय गन्तव्य बनाउने तानसेन नगरपालिकाको अभियानलाई नेपाली सेना र स्थानीयले साथ दिएको बताए । वृक्षरोपण कार्यक्रममा गुराँसडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर रानाले जिल्लाकै नमुना पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको बताए ।


गुफाचौरलाई पर्यटकीय केन्द्रका रूपमा स्थापित गराएर लालीगुराँसको संरक्षण र प्रवर्द्धनको माध्यमबाट यसको उपयोग गरी स्थानीयको आय आर्जनमा वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित : असार २५, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?