कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विपद् क्षति बर्सेनि बढ्दै

प्रदेश सरकारको वस्तुस्थिति विवरणअनुसार विपद्बाट नोक्सान भएका चौपाया र भौतिक क्षतिको विवरण डरलाग्दो छ
अमृता अनमोल

(बुटवल) — प्रदेश ५ मा विपद्बाट हुने क्षति बर्सेनि बढ्दै गएको छ । दीर्घकालीन विपद् व्यवस्थापन योजना नबनाउँदा यस्तो भएको हो । बाढी र पहिरोबाट धेरै मानिसको ज्यान जाने गरेको छ । हुरी, बतास र चटयाङ लागेर पनि मानिसको मृत्यु भइरहेको छ । 

विपद् क्षति बर्सेनि बढ्दै

प्रदेशका १२ जिल्लामा अघिल्लो ३ वर्षमा प्राकृतिक विपद्बाट २ सय ८० जनाले ज्यान गुमाएका छन् । २ सय ३४ जना घाइते भए । प्रदेश प्रहरी कार्यालय दाङले दिएको तथ्यांक तथा प्रदेश सरकारको वस्तुस्थिति विवरणअनुसार विपद्बाट नोक्सान भएका चौपाया र भौतिक क्षतिको विवरण उस्तै डरलाग्दो छ ।


यस अवधिमा ४ हजार ९ सय ५४ चौपाया मरेका छन् भने १ हजार ७ सय ३३ घाइते भएका छन् । विपद्कै कारण ३९ हजार ५ सय १७ वटा घर र १ हजार ७ सय ८१ वटा गोठमा नोक्सानी पुगेको छ । विपद्बाट बालीनाली, तरकारी, फलफूललगायतको क्षति कति भयो भन्ने तथ्यांक नराखिएको प्रहरीको भनाइ छ । यो प्रदेशमा प्राकृतिक विपद्बाट प्रतिवर्ष ८४ जनाको ज्यान जाने गरेको छ । हरेक वर्ष ७५ जना घाइते हुने गरेका छन् । प्रकोपको क्षति बढ्को अवस्थामा रहेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।


प्रदेशका १२ जिल्लामध्ये विपद्बाट सबैभन्दा धेरै मानवीय क्षति हुने जिल्ला दाङ हो ।


विपद्बाट विगत तीन वर्षमा यहाँका ६४ जनाको ज्यान गएको छ । दोस्रो धेरै मानवीय क्षति हुने जिल्ला कपिलवस्तु रहेको छ । धेरै चौपाया मरेको जिल्ला बर्दिया हो भने धेरै चौपाया घाइते हुने जिल्लामा प्यूठान रहेको छ ।


प्रदेश सरकारले विपद्बाट हुने क्षति रोक्न पूर्वतयारी व्यवस्थापनका कार्यक्रमसहित सुरक्षाकर्मी र स्थानीय तहसम्म जोडिने रणनीति बनाएको जनाएको छ । तर, देखिने गरी काम भएको छैन । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विपद् व्यवस्थापन पूर्वतयारी र उद्धार दुवैका लागि फरक फरक शीर्षकमा बजेट विनियोजन गरेको बताए । प्रहरीको मातहतमा रहने गरी प्रकोप उद्धार सामग्रीसमेत खरिद गरेको उनले जनाए । विपद्पछिको उद्धारलाई छिटोछरितो र प्रभावकारी बनाउन बुटवल, दाड र बाँकेमा प्रकोप व्यवस्थापन केन्द्र बनाउन लागेको उनले बताए ।


प्रदेश प्रहरीले सम्भावित प्रकोपजन्य घटनाको उद्धारका लागि प्रदेशमा १ सय २५ जना तालिम प्राप्त सुरक्षाकर्मी तयार गरेको छ । प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा रहेको उक्त विपद् व्यवस्थापन गुल्म प्रदेश प्रहरी कार्यालयमा तयारी अवस्थामा छ । वर्षाजन्य प्रकोप सुरु भएपछि त्यसलाई रूपन्देहीको बुटवलस्थित दंगा प्रहरी गण र बाँकेको खजुरा गणमा राखिनेछ । गणलाई प्रदेश सरकारले ५ लाख बराबरको विपद् उद्धार सामग्री उपलब्ध गराएको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले बताए । ‘टोली बाढी–पहिरो र डुबान क्षेत्र यकीन गरी तयारी अवस्थामा छ,’ उनले भने, ‘क्षति घटाउन उद्धारका उपकरण र सामग्री उपलब्ध गराइएको छ ।’ प्रदेश प्रहरीले हरेक जिल्ला तथा प्रहरी एकाइका लागि प्रकोप उद्धार प्रतिकार्य निर्देशिका पनि जारी गरेको छ । उक्त निर्देशिका असार पहिलो साता प्रदेशका १२ वटै जिल्लामा पठाइएको छ । विपद्को अनुपातमा प्रहरीसँग आवश्यक उपकरण र उद्धार सामग्री भने छैनन् । यसैले जिल्ला प्रहरी र अन्य प्रहरी युनिटलाई स्थानीय तह र समुदायको सहकार्यमा उपकरण र उद्धार सामग्री जुटाउन आग्रह गरेको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले बताए ।


प्रकोपबारेका जानकारहरू भने प्रकोप रोक्न पूर्वतयारी र दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँछन् । पूर्वतयारीमा प्रकोप व्यवस्थापनको १० प्रतिशत रकम मात्रै खर्च गर्ने हो भने त्यसले ५० प्रतिशत क्षति हुनबाट रोक्ने उनीहरूको दाबी छ । नेपाल रेडक्रस सोसाइटी रूपन्देहीका अध्यक्ष कृष्ण पंगेनीले बाढीपहिरो र डुबान रोक्ने दीर्घकालीन पूर्वाधार निर्माण र प्रकोप पूर्वतयारीका लागि समुदाय सचेतना कार्यक्रम चलाएमात्रै प्रकोपको क्षति कम हुने बताए । ‘नत्र प्रकोपपछिको लगानी बालुवामा पानीसरह हो,’ उनले भने ।

प्रकाशित : असार २२, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?