जिप खस्दा २ को मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको यात्रुबाहक जिप सुपाखोलामा दुर्घटना हुँदा २ जनाको निधन भएको छ । लु १ ज १३२९ नम्बरको जिप सुपाखोला उकालोमा ब्रेक फेल भएर सडकबाट ३ सय मिटर तल खस्दा जिप चालक अर्घाखाँची भूमिकास्थान नगरपालिका–३ धारापानीका सुमन्त भुसालको निधन भएको छ  । 

मृत्यु भएका अर्को एक जनाको नाम खुल्न नखुलेको घटनास्थलबाट प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । घाइते ५ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको लागि लगिएको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगेर उद्धार गरिरहको स्थानीय सचिन बोहोराले बताए ।

प्रकाशित : असार १९, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

चुरे दोहनले बाढी

बाढीपीडितका बहानामा बर्सेनि वन क्षेत्र अतिक्रमण
मोहन बुढाऐर

(धनगढी) — बाढी पीडितको बहानामा हरेक वर्ष कैलालीको वन क्षेत्र अतिक्रमण भइरहेको छ । एक तथ्यांकअनुसार जिल्लाको यस हेक्टर वन हरेक वर्ष अतिक्रमण हुने गरेको छ ।

कैलालीको हसुलिया पवेरा क्षेत्रमा बाढी पीडितले अतिक्रमण गरेको क्षेत्र ।तस्बिर : मोहन/कान्तिपुर

पछिल्ला वर्ष चुरेबाट बग्ने तराईका नदी छेउका बस्ती पनि बाढी प्रभावित हुने गरेका छन् । चुरे दोहनले बाढीको प्रभाव बढ्दै गएको हो । बाढी आएपछि खोला छेउमा बस्दै आएका परिवारहरू जंगलभित्र पस्ने प्रवृत्तिले जिल्लाको वनको क्षेत्रफल घट्दै गएको छ । ‘चुरेको संरक्षणविना बाढीबाट जोगिन मुस्किल छ,’ संरक्षणकर्मी गंगा चौधरीले भने, ‘बाढी पीडितको उचित व्यवस्थापन नगरे जंगल जोगाउन कठिन छ ।’

उनले चुरेमा भएको वन विनाश र ढुंगा गिट्टीको उत्खनन्ले कैलालीको दक्षिणी भेक बर्खामा डुबान पर्ने गरेको बताए । १५/२० वर्षअघि ५ मिटर चौडाइमा बग्ने खोलानाला अहिले ५० मिटर फराकिला भएका छन् । वरिपरिका बस्ती विस्थापित भएर जंगलतिर सर्छन् । त्यही बेला वन क्षेत्र मासिन्छ ।

चुरेबाट बग्ने मोहना, कान्द्रा, गौरीगंगा, बान्द्रालगायत नदीमा आउने बाढीले भजनी र कैलारी गाउँपालिका थुप्रै बस्ती हरेक वर्ष प्रभावित हुने गरेका छन् । चौधरीले भने, ‘बाढीबाट कम्तीमा सय घर परिवार विस्थापित भई जंगल छेउ टहरा बनाएर बस्ने गरेका छन् ।’

अर्का संरक्षणकर्मी विजयराज श्रेष्ठले पनि विगत १० वर्षदेखि वन क्षेत्र बाढी पीडितका नाममा निरन्तर अतिक्रमण भइरहेको बताए । ‘पहिलापहिला वन माफियाहरूले राजनीतिक दलको संरक्षणमा भूमिहीन र सुकुम्बासीद्वारा वन क्षेत्र आवादी हुन्थ्यो,’ उनले भने, ‘अहिले बाढी पीडितका नाममा अतिक्रमण हुने गरेको छ ।’ उनका अनुसार पछिल्ला वर्षमा सुकम्बासीका नाममा हुने अतिक्रमण लगभग बन्द छ ।
श्रेष्ठ वर्षामा बाढी पीडितलाई वन क्षेत्रभित्र पस्न रोक लगाउनुपर्ने धारणा राख्छन् । ‘मानवीय हिसाबले उनीहरूलाई जंगलछेउ टहरा बनाउन सुबिधा दिने गरिन्छ,’ उनले भने, ‘पछि त्यो स्थान नछाडेर जंगल पुरै आवादीमा परिणत हुने गरेको अवस्था छ ।’ उनी सरकारले जंगल ओगट्ने बाढी पीडितहरूलाई वन क्षेत्र नभएको खाली स्थान खोजेर बसाउनुपर्ने औल्याउँछन् ।

‘बाढीपीडित अलपत्र पार्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘वन क्षेत्र पनि बचाउनुपर्‍यो, उनीहरूको पनि वैकल्पिक तथा उचित व्यवस्थापन गर्नुपर्‍यो ।’ श्रेष्ठले वर्षामा हुने वन अतिक्रमण रोक्न सरोकारवाला निकायको समयमै ध्यान जान जरुरी रहेको औंल्याए । उनले भने, ‘बाढी पीडितलाई तत्काल उद्धार गरी कहाँ राख्ने भन्ने पूर्वयोजना कहिल्यै बन्दैन ।’ कैलालीको वसन्ता जैविक मार्गमा हरेक वर्ष अतिक्रमण हुने गरेको छ । वन डिभिजन कार्यालयको एक तथ्यांकअनुसार कैलालीमा ३० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ । डिभिजनका रेन्जर रामदास चौधरीका अनुसार २५ हजार हेक्टर पुरानै अतिक्रमण हो भने ५ हजार हेक्टर विगत १० वर्षयताको बर्खामा भएको अतिक्रमण हो । ‘नेपालकै सबैभन्दा राम्रो वनको रूपमा रहेको कैलालीको वन क्षेत्रलाई जोगाउन, अतिक्रमणको चुनौती हो,’ डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने, ‘पछिल्लो समयमा अतिक्रमण बढेको देखिन्छ ।’ उनी बाढी प्रभावितद्वारा हुने अतिक्रमण रोक्न कठिन भएको स्विर्काछन् । ‘तत्कालको परिस्थतिमा प्रभावितहरूलाई पाल दिएर बस्न दिइन्छ,’ उनले भने, ‘पछि उनीहरू नै जंगल फाँड्दै टहरा थाप्दै जान्छन् ।’

चोरी–तस्करी बर्खामै
बर्खामा काठ चोरीतस्करी बढ्ने गरेको स्थानीय सीताराम चौधरी बताउँछन् । बर्खाका बेला सुरक्षाकर्मी र समुदायिक वनका पहरेदारहरूको गस्ती घट्ने भएकाले चोरीतस्करी बढ्ने उनको बुझाइ छ । ‘ठूलो वर्षा भइरहेका बेला तस्करी गर्ने समूह रुख काटिरहेका हुन्छन्,’ उनले भने, ‘स्थानीय बासिन्दाको ध्यान बाढीबाट जोगिनेतर्फ भएका मौकामा तस्करी बढ्छ ।’

प्रकाशित : असार १९, २०७६ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्