पति विदेशमा, पत्नी स्वदेशमै आय आर्जनमा

नेपालगन्ज — पति वैदेशिक रोजगारमा गएपछि पत्नी र परिवार उनीहरूमै निर्भर हुने आमचलन हो । बाँकेको जानकी गाउँपालिका २, भैयापुरका महिलाले भने स्वदेशमै आय आर्जन गरेर त्यस्तो भनाइलाई चुनौती दिएका छन् । भैयापुरका धेरै युवा रोजगारका सिलसिलामा विदेशमा छन् । 

वैदेशिक रोजगारमा गएका व्यक्तिका पत्नी विदेशबाट पठाएको पैसामा मात्र रमाउने गरेको आरोपलाई यहाँका महिलाले गलत साबित गरेका हुन् । २४ वर्षीया वसन्ती खत्रीलाई अहिले भ्याइनभ्याइ छ । गाउँमै खोलेको किराना पसलमा बिहानैदेखि भीड लाग्छ । उनको पसलमा किराना सामानदेखि फेन्सी सामग्री पाइन्छन् । पसलका लागि डिलरमा पुग्नेदेखि घरको सबै काम आफैंले व्यवस्थापन गर्दै आएको उनले सुनाइन् । पसलबाट आम्दानी बढ्दै गएपछि उनले कुखुराको मासुसमेत बिक्री गर्न थालेको बताइन् । वैदेशिक रोजगारका लागि पति कतार पुगेपछि घरको आर्थिक जिम्मेवारी पनि उनको काँधमा थियो । भैयापुरकी समी बुढाथोकीले पनि गाउँमै ब्युटीपार्लर चलाएकी छन् । आफूले जानेको सीपको प्रयोग गर्दै खाली समयको सदुपयोगका लागि पार्लर चलाएको उनले बताइन् ।


उनका पति १ वर्षदेखि रोजगारीका लागि साउदी अरबमा छन् । दिनको ५ सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताइन् । रोजगारका लागि साउदी पुगेका गोपी थापाले घर फर्किएपछि श्रीमतीलाई व्यवसाय गर्न सहयोग गरे । श्रीमती नागिन श्रेष्ठले किरानादेखि कस्मेटिक पसल चलाएकी छन् । ८० हजारमा खोलेको पसलबाट अहिले दैनिक ३ हजार रुपैयाँ आम्दानी भइरहेको उनले सुनाइन् । उनको पसलमा पुग्नेलाई कुनै कस्मेटिक सामान किन्न अन्यत्र धाउनु पर्दैन ।


प्रकाशित : असार १८, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?