१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हातहातमा भत्ता र स्वास्थ्य जाँच

संघीय सरकारले वृद्ध भत्ता र छत्रदेव गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर राखेपछि दुई/चार वर्ष बढी बाँच्ने आशा जागेको स्थानीयले बताए ।
वीरेन्द्र केसी

अर्घाखाँची — छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ र वडाध्यक्ष कमल पौडेल चिकित्सकसहित वृद्धवृद्धाको जमघटमा पुगे । गोलबद्ध बसेका वृद्धवृद्धाले एउटै स्वरमा भने, ‘हामीलाई बचाउन छोराछोरी आए ।’

हातहातमा भत्ता र स्वास्थ्य जाँच

छत्रदेव गाउँपालिका–६, ठूलापोखराका ७३ वर्षीय गणेशप्रसाद बन्जाडेलाई मुटु दुख्ने, आँखा पोल्ने र हातगोडा गल्ने समस्या छ । औषधिको भर छ । सहर पुगेर उपचार गर्न आर्थिक अभाव छ । सरकारले दिएको वृद्धभत्ताले उनलाई राहत मिल्यो ।


अहिले उनलाई धेरै वर्ष बाँच्ने आशा पलाएको छ । चौमासिक रूपमा वडा कार्यालयमा भत्ता बुझ्न जान्छन् । त्यहीँ स्वास्थ्य जाँच गराउन पाउँदा खुसी छन् । ‘पहिला वृद्ध भत्ता मात्रै बुझिन्थ्यो,’ उनले भने, ‘डेढ वर्षदेखि भत्तासँगै डाक्टरबाट स्वास्थ्य जाँच गराउन पाइएको छ ।’ निरन्तर औषधि खाइरहनुपर्छ । गाउँमै डाक्टर आएपछि बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता हटेको उनले सुनाए ।


६७ वर्षीया तुलसा बन्जाडे मुटु रोगी हुन् । पित्त थैलीको अप्रेसन गरिसकेकी छन् । उच्च रक्तचाप र मधुमेह देखिएको छ । नियमित औषधि खानुपर्छ । ४ छोरीमध्ये ३ छोरीको विवाह भइसकेको छ । दुई छोरा विदेशमा छन् । जेठा छुट्टिएका छन् । कान्छा छोरा बाबुआमासँगै थिए । फागुनदेखि बुहारी छोरो पढाउन बुटवल झरेपछि झनै सकस परेको छ । ११ रोपनी जग्गामध्ये ५ रोपनीमा मात्रै जेनतेन खेती गर्छन् । ‘सँगै बसेको कान्छो छोराले त अहिले फोन पनि गर्दैन, पैसा नपठाइदिए पनि कहिलेकाहीं जेठा छोराले फोनचाहिँ गर्छ,’ उनले भनिन् ।


संघीय सरकारले वृद्ध भत्ता र छत्रदेव गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर राखेपछि दुई/चार वर्ष बढी बाँच्ने आशा जागेको स्थानीयले बताए । उमेरका कारण बुटवल, काठमाडौं गएर उपचार गर्न नसक्नेहरूले गाउँमै डाक्टर पाउँदा खुसी लागेको सुनाए ।


८६ वर्षीया चमकला भट्टराईले ७ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्छिन् । घाँटीमा पनि समस्या छ । ‘उमेरमा जस्तो अप्ठ्यारो काम पनि गरिन्थ्यो, बुढेसकालसँगै रोग पनि बेसाइयो,’ उनले भनिन्, ‘अहिले पूरै शरीर दुख्छ । हातखुट्टा झमझमाउने, छाती दुख्ने र टाउको दुखेर हैरान परेकी छु ।’


राम्ररी हिँडडुल गर्न नसक्ने अवस्थामा स्वास्थ्य चेक गराउन टाढा जान सकिँदैन । जता दुखे पनि सहेरै बस्नुबाहेक अरू उपाय थिएन । ‘वृद्ध भत्ता बुझिन्थ्यो, हातमा पैसा भए पनि नसकेपछि सहरका डाक्टरसँग जान सकिँदैनथ्यो,’ उनले भनिन् ।


रोगी भए पनि डेढ वर्षदेखि डाक्टरको निगरानीमा छन् । ‘पहिला हातमा भत्ता बुझ्छु, त्यसपछि डाक्टरसँग जान्छु,’ उनले भनिन्, ‘डाक्टर सा’बले छातीमा आला लगाएर जाँच्नुहुन्छ ।’ वृद्धभत्ताबापत बुझेको ८ हजार रुपैयाँ उनले पटुकीको थैलीमा राखिन् । ‘यो पैसा अब घरमा लगेर सिरानीमुनि राख्छु,’ उनले सुनाइन् ।


ठूलापोखराकी ७६ वर्षीया शान्ता पाण्डेलाई उच्च रक्तचापको समस्या छ । गाउँमै जँचाउन पाउँदा खुसी लागेको उनले बताइन् । ९० वर्षीया नरिकला पौडेललाई छाती, घुँडा दुख्ने समस्या छ । ‘पहिला म बिस्तरामै हुन्थें, गाउँमै डाक्टर पाएपछि बस्न, हिँडडुल गर्न सक्ने भएकी छु,’ उनले भनिन् ।


धेरै बूढाबूढी अहिले गाउँमा एक्लै छन् । छोराछोरी र बुहारी विभिन्न रोजगार र कामले बाहिर छन् । ‘हाम्रा लागि स्वास्थ्य ठूलो कुरा हो । शिविर नै राखेर उपचार सेवा दिएकामा हामीलाई हेर्ने बल्ल हाम्रो सरकार आएजस्तो भएको छ,’ ७५ वर्षीया हिमादेवी बन्जाडेले भनिन् ।


‘वृद्धवृद्धालाई भत्तासँगै स्वास्थ्य उपचार पनि आवश्यक देखियो,’ छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘आफ्नै बुबाआमा ठानेर स्वास्थ्यप्रति ख्याल गरेको छु ।’ घरमा टुक्रुक्क बूढाबूढी मात्रै छन्, हिंडडुल गर्न सक्दैनन्, उनीहरूलाई स्वास्थ्य सेवा दिनु ठूलो धर्म भएको उनले सुनाए ।


‘स्वास्थ्य समस्या ठूलो ठानेरै गाउँपालिकाबाट बजेट छुट्याएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो,’ उनले भने, ‘सहर जान नसकेर बिस्तरामा थला परेका वृद्धवृद्धा गाउँमै स्वास्थ्य जाँच गराउन पाएपछि अहिले लौरो टेकेर हिंडडुल र खाना पकाउन सक्ने भएका छन् ।’


छत्रदेवका ९ वटै वडाका स्वास्थ्य संस्थामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय २२ जना ज्येष्ठ नागरिकले सुविधा लिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । भत्ता नपाउने वृद्धवृद्धलाई पनि निःशुल्क स्वास्थ्य जाँच गराइएको छ ।


ज्येष्ठ नागरिकको रेखदेख गर्नु आफ्नो कर्तव्य भएको वडाध्यक्ष कमल पौडेलले बताए । उपचारमा खटिएका डा. प्रकाश बन्जाडेले धेरैजसो सुगर, उच्च रक्तचाप, थाइराइड, घुँडा, छाती दुख्ने र दमका बिरामी रहेको बताए ।

प्रकाशित : असार १७, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?