क्याम्पस हाताभित्र बम विष्फाेट 

माधब अर्याल

पाल्पा — पाल्पाको रामपुरस्थित सहिद क्याम्पस हाताभित्र साेमबार राति अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ ।

राति साढे १० बजे भएकाे विस्फोटबाट क्याम्पसको भर्खरै निर्माणगरिएकाे पर्खालमा क्षति पुगेको छ।

सिलिण्डर विस्फोट कस्ले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन। अज्ञात समूहले मोटरसाइकल र स्कुटरको टायर बालेर सिलिण्डर विस्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भुपाल रानाले बताए। रातिको समयमा ठूलो आवाजसहित भएको विस्फोटका कारण स्थानीयहरु त्रसित बनेका छन्। विगतमा बन्दका बेला सामान्य प्रभाव रहने रामपुरका बजार क्षेत्र, शैक्षिक संस्था तथा कार्यालय ठप्प बनेका छन्।

पाल्पाको तानसेन लगायत अन्य बजार पनि खुलेको छैन। छिटफुट दुई पाँग्रे सवारी चले पनि अन्य साधन चल्न सकेका छैनन्।

प्रकाशित : असार १०, २०७६ १०:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सक्रिय ज्येष्ठ नागरिक

जितेन्द्र साह

जहदा, मोरङ — ७५ वर्षीय मोहनलाल महतो बिहान स्थानीय शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेज भवनको ढलानका लागि श्रमिक तथा कर्मचारीलाई निर्देशन दिइरहेका भेटिए  । दुई घण्टापछि उनै ‘महतो बा’ खेतमा रोपाइँका लागि कृषि मजदुर एवं परिवारजनसँग मिलेर धानको बीउ उखेलिरहेका थिए  ।

पिताजी कृष्णप्रसाद कोइराला सेवा गुठी र सीटीईभीटीको साझेदारीमा सञ्चालित उक्त कलेज व्यवस्थापन समितिका उनी सदस्य एवं गुठीका कोषाध्यक्ष हुन् । महतोले स्थानीय खानेपानी, सिँचाइ, शिक्षण संस्था र विभिन्न योजनाको महत्त्वपूर्ण पद सम्हालिरहेका छन् । मोरङको जहदा गाउँपालिका–४, हटिया बस्तीका यी ज्येष्ठ नागरिकको सक्रियता सबैका लागि प्रेरणादायी बनिरहेको छ ।


करिब ४२ हजार जनसंख्या भएको यो गाउँपालिकामा २ हजार ७ सय ८३ ज्येष्ठ नागरिक रहेको जहदा गाउँपालिकाको कार्यालयले जनाएको छ । महतोझैं क्रियाशील जीवन बिताउनेको सूची भने लामै छ । यो गाउँपालिकाका ७२ वर्षीय जुगेश्वर सिंह त अग्रणी तरकारी किसान हुन् ।


दुई छोरा, दुई छोरी र १० नातिनातिनाका पाका अभिभावक उनी सातामा दुई दिन साइकलमा ३० किलो तरकारी बोकेर पूर्वोत्तर छिमेकी गाउँपालिका धनपालथानमा लाग्ने हटिया पुग्छन् । उनले आफ्नै ४ बिघा खेतमा वर्षभरि मौसम अनुसारको तरकारी करेला, भिन्डी, बोडी, घिरौंला, गोलभेडा र काउलीलगायत लगाउँछन् । ‘रोप्ने, औषधि छर्कने, टिप्ने र हाटबजारमा लग्नेसम्मको काम गर्छु,’ सिंहले भने, ‘पत्नी र परिवारजनले पनि सहयोगी भूमिका निर्वाह गरेका छन् ।’


सिंहले एउटा हाटमा ८ सयदेखि हजार रुपैयाँसम्मको तरकारी बेच्छन् । सिंहको घरबाट थोक तथा खुद्रा व्यवसायीले दैनिक तीन क्विन्टल तरकारी लान्छन् । उनी घरमा आउनेलाई ५/१० रुपैयाँ प्रतिकिलोमा तरकारी बेच्छन् । ‘घरबाट पनि दिनहुँ १ हजार ५ सय रुपैयाँ जतिको तरकारी बिक्री हुन्छ,’ सिंहले भने, ‘सहरमा आफैंले लगेर बेच्दा त धेरै नाफा हुन्छ तर समय अभावले सकिन्न ।’


पाका कृषक ७४ वर्षीय राधेश्याम साह हलुवाईले आफ्नै सात बिघा खेतमा धान, गहुँ र तरकारी बाली लगाउँछन् । ‘खान र आम्दानीका लागि पूरै कृषि उत्पादनमा भर परेका छौं,’ उनले भने । दुई छोरा, दुई छोरी र १७ नातिनातिना भएका हलुवाईका श्रीमती ६९ वर्षीया राजकुमारीसहित सारा परिवार कृषिमै संलग्न छन् । उनी सातामा चार पटक गोरुगाडामा तरकारी लोड गरेर जहदा गाउँपालिकाकै भातिगछ, बबनटोली र लक्ष्मीनिया बस्तीमा लाग्ने हाटहरू पुग्छन् । ‘थोरै तरकारी हुँदा एक्लैले बेच्न लान्छु, बढी हुँदा छोरानाति पनि सघाउन आइपुग्छन्,’ हलुवाईले भने ।


यही गाउँपालिकाका चार छोराछोरी र २४ नातिनातिनाका सबैभन्दा ज्येष्ठ अभिभावक ९० वर्षीय मेघुलाल मण्डल पनि तन्नेरीका लागि चुनौती बनिरहेका छन् । घरको चौपायादेखि अढाई बिघा खेतीबारीसम्मको काम आफैंले हेर्छन् भने बाँकी दुई बिघा छोराले गर्छन् । राति ९ बजे सुत्ने बिहान ३ बजे उठेर काममा लाग्ने उनको दैनिकी छ । ‘म दिउँसो कहिल्यै सुत्दिनँ, चौपाया र खेत हेरेर बस्छु,’ असह्य गर्मीमा पत्नी ७५ वर्षीया सुगियादेवीसँग रुखमुनि बसिरहेका उनले भने, ‘हामी दुई जना भर्खरै खेतबाट फर्केका छौं, एकछिन सुस्ताएपछि दिउँसोदेखि साँझसम्म रोपाइँमा लाग्छौं ।’


स्थानीय च्याउ कृषक ५१ वर्षीय जवाहर मण्डलले यो गाउँपालिकामा शारीरिक श्रममा युवावर्गलाई ज्येष्ठ नागरिकले जितिरहेको सहर्ष स्विकारे । ‘७० नाघेका बामात्र नभएर ६०/७० नाघेका आमा पनि छोरी, बुहारी र नातिनाभन्दा बढी खटिरहेका हुन्छन्,’ उनले भने ।


‘ऊ बेला मलखादरहित खानपिन खाद्यान र तरकारी पाइन्थ्यो, आधुनिक प्रविधि नभएकाले शारीरिक श्रम बढी गर्नुपर्थ्यो, त्यही भएर यहाँका बाआमाहरू शरीर र मनले नै सबल हुनुहुन्छ,’ उनले भने, ‘अचेल हावादेखि खानेकुरासम्म प्रदूषित छ, नयाँनयाँ यन्त्रले गर्दा शारीरिक गतिविधि कम भएको छ, अनि शरीर लोसे हुनु स्वाभाविककै हो ।’


अझै पनि सहरको तुलनामा गाउँका युवायुवतीले बढी श्रम गर्ने हुनाले शारीरिक एवं मानसिक रूपले सबल हुने गरेको प्राविधिक कृषि विषयका युवा शिक्षक स्थानीय सौरभ सिंह राजपुतले औंल्याए ।

प्रकाशित : असार १०, २०७६ १०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT