कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ हजारको कामलाई ४८ हजार

सन्जु पौडेल

रूपन्देही — बुटवल–१० की वसन्ता ढकाल प्रत्येक दिन बिहान ५ देखि साढे ७ बजेसम्म बुटवल–बेलहिया ६ लेन सडकछेउको फूलबारीमा कुटोले झार उखेलिरहेकी भेटिन्छिन् । साँझ पनि त्यही कामलाई निरन्तरता दिन्छिन् । दिनको ५ घन्टा काम गर्छिन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ हजारको कामलाई ४८ हजार

त्यसबापत दैनिक ५ सय २५ रुपैयाँका दरले ज्याला पाउने भएपछि खुसीले काम गरिरहेकी छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको सूचना पाएर फारम भरेपछि उनी छनोट भएकी हुन् ।


स्थानीय जमुना खडका शिक्षा शास्त्रमा स्नातक हुन् । उनी घरमै बसिरहेकी थिइन् । बुटवल उपमहानगरले रोजगार कार्यक्रम सञ्चालन गरेको थाहा पाएपछि उनले फारम भरिन् । छनोटमा परिन् । ‘पढेर पनि केही गर्न नसकेको अवस्थामा यो अवसर राम्रो लाग्यो,’ उनले भनिन्, ‘पहिला यही काम सित्तैँमा गरिन्थ्यो, अहिले पैसा पाइन्छ ।’


उक्त व्यापारिक मार्गको दायाँ–बायाँ निर्माण गरिएका फूलबारीको स्थानीय टोल विकास संस्थाले स्याहार गर्दै आएका थिए । अहिले स्थानीयलाई समेटेर रोजगार कार्यक्रमले ज्याला दिएको हो ।


अहिले यहाँका २१ जना दिदीबहिनीको दिनचर्या फूलबारीको हेरचाहमा बितिरहेको छ । बुटवल–१० मा रोजगार कार्यक्रमअन्तर्गत ४ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट स्थानीयले स्वरोजगार बनेको बताए । कार्यक्रमले छोटो अवधिका लागि भए पनि आय आर्जन भएकामा खुसीयाली एकातिर छ । अर्कोतिर स्थानीय टोल संस्थाको सक्रियतामा भइरहेको उक्त गोडमेल र सरसफाइ रोजगार कार्यक्रमको अवधि सकिएपछि कसले गर्छ भन्ने अन्योल थपिएको छ ।


वडा १० मा ६ वटा टोल विकास संस्था छन् । स्थानीयले ७ हजार रुपैयाँमा टुंगिने गोडमेल र सफाइका काममा उपमहानगरले ४८ हजार रुपैयाँ खर्च गरेको बताएका छन् ।


स्थानीय तुलबहादुर गर्बुजाले ५ हजार ८ सय ४२ स्क्वायर फुट गोडमेलका लागि ७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको बताए । रोजगार कार्यक्रम लागू भएपछि ठेक्का रोकेर ४ दिनमा उक्त क्षेत्रफलमा गोडमेल र सरसफाइ सकिएको छ । ‘दैनिक ५ सय २५ रुपैयाँका दरले ४ दिनमा काम सकिँदा ४८ हजार ३ सय रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘रोजगारका नाममा देशको बजेट सकाउने काम उपयुक्त हुँदैन ।’ यसरी थोरै रकममा हुने कामलाई समय लम्बाएर बजेट खर्च गर्दा राज्यलाई घाटा हुने उनले बताए ।


बुटवल–१० का वडाध्यक्ष पदमबहादुर थापाले नागरिकले अवसरलाई सदुपयोग नगर्दा काममा ढिलाइ भएको र बढी बजेट खर्च भएको स्वीकारे । ‘सुपरभाइजरको निगरानीमा काम भइरहेको छ,’ उनले भने, ‘कामको बेलामा हात बढी चलाउनुपर्छ । दिदीबहिनी भेट भएपछि गफ चल्छ ।’


३० दिनको अवधि सकिएपछि समेत फूलबारी सफा र हरियाली रहिरहने उनले दाबी गरे । आर्थिक वर्ष ०७५/७६ मा ५० हजार रुपैयाँ छुटयाएर फूलबारी क्षेत्रको स्याहार र हेरचाह गर्ने टोल संस्थालाई पुरस्कार प्रदान गरेको उनले बताए । यस वर्ष पनि पुरस्कार कायमै रहने भएकाले प्रधानमन्त्री रोजगार कार्यक्रम समाप्त भएपछि पनि गोडमेलको कामले निरन्तरता पाउने उनले बताए ।


टोल विकास संस्थाले पहिला स्वतन्त्रतापूर्वक काम गरिरहेको अवस्थामा बजेट दिएर फूलबारी हराभरा गराउने अभियानमा लगाउँदा स्थानीय खुसी देखिएको वडा सदस्य बलु पुनले बताए । ‘यो अवधि सकिए पनि फूलबारी सिँगार्ने काम रोकिन्न,’ उनले भने, ‘हरेक टोल संस्थाका अगुवाको सक्रियतामा एक घर एक नागरिक फूलबारी सरसफाइ अभियानमा जुट्नैपर्ने प्रावधान छ ।’ यदि कोही सहभागी नभएमा टोल संस्थाको कोषमा जरिवानास्वरूप रकम जम्मा गरिने उनले बताए ।

प्रकाशित : असार १०, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?