३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

योजना आयोगको उपाध्यक्षमा गौतम

रूपन्देही — प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. ईश्वर गौतम नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्रका विज्ञ एवं लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका पूर्वक्याम्पस प्रमुख गौतमलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक योजनामन्त्री बैजनाथ चौधरीले बताए ।

सरकारले ०७४ चैत ६ गते नेपाल बैंकका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको थियो । उनले प्रदेश सरकारको स्थापनासँगै योजना निर्माण, अध्ययन र अनुसन्धानदेखि बजेट निर्माणसम्मका काममा सरकारलाई सहयोग गरेका थिए ।


डा. श्रेष्ठसहितको योजना आयोगको टिमले प्रदेशको वस्तुस्थितिपत्र, अवधारणापत्र, आवधिक योजनालगायत महत्त्वपूर्ण काम गरेको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि डा. श्रेष्ठले असार पहिलो साता राजीनामा दिएर राष्ट्र बैंकमै फर्किएपछि रिक्त पदमा डा. गौतमलाई नियुक्त गरिएको हो ।


गौतमको नियुक्तिले सरकारका योजनाको व्यवस्थापन र कार्यान्वयनमा थप सहयोग पुग्ने विश्वास सरकारले लिएको प्रवक्ता चौधरीले बताए । ‘सरकारका लागि आवधिक योजना तयार भइसकेको छ,’ उनले भने, ‘अब त्यसको कार्यान्वयन, योजनाको अनुगमन र व्यवस्थापनमा सहयोग पुग्नेछ ।’ योजना आयोगमा डा. विष्णुप्रसाद गौतम र पुष्पा भुसाल कार्यरत छन् ।


मन्त्रिपरिषद् बैठकले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै दाङको घोराही उपमहानगरपालिकाले चीनको सिचुआन प्रान्तस्थित यान नगरपालिकासँग र बर्दियाको ठाकुरबाबा नगरपालिकाले यानसँगै गुईझाउ प्रान्तस्थित लिउ पानसुयी नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावका लागि नेपाल सरकारसँग सिफारिस पठाउने निर्णय गरेको छ ।


सामाजिक विकास मन्त्रालयले पेस गरेको दाङको लमही नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्न र ज्येष्ठ नागरिक ग्राम तथा अपांगता नागरिक ग्राम निर्माण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

प्रकाशित : असार १०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?