कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बुटवलमा मेगा सिटीको अवधारणा

बुटवल — मेगा सिटीको अवधारणा बनाउने योजनासहित बुटवल उपमहानगरपालिकाले सोमबार आगामी वर्ष ०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत गरेको छ । त्यसमा बुटवल उप–महानगरपालिका र आसपासका नगर तथा गाउँपालिकाहरूसँग समन्वय र सहकार्य गर्दै बुटवललाई मेगा सिटीका रूपमा विकास गरिने उल्लेख छ ।

आउँदो आर्थिक वर्ष सुरु भएलगत्तै मेगा सिटीको आधार तयार पार्ने काम थाल्ने नगरप्रमुख शिवराज सुवेदीले बताए ।


मेगा सिटी निर्माणका लागि सार्वजनिक जग्गाको पहिचान तथा लगत तयार गरी संरक्षण गर्न वडा समिति र समुदायलाई जिम्मेवार र सक्रिय बनाउने बुटवलले नीति लिने उनले जनाए । ‘अव्यवस्थित बसोवासको लगत संकलन गरी जग्गा नापजाँच गरी अभिलेखीकरण गरिनेछ,’ उनले भने, ‘असुरक्षित ठाउँ र अवस्थाको बसोवासलाई स्थानान्तरण गरी आवश्यक व्यवस्था मिलाइनेछ ।’


उपमहानगरले सहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत प्राथमिकतामा राखेको छ । त्यसमा विगतमा सुरु भएका बहुवर्षीय योजना र एकीकृत सहरी विकास गुरुयोजनाका थप काम आगामी वर्ष अगाडि बढाउने उल्लेख छ । शिक्षा, स्वास्थ्य तथा यातायात र संचारको हबका रूपमा बुटवललाई स्थापित गर्ने सहायक योजना छ । यसबाट ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’को दीर्घकालीन उद्देश्य पूरा गर्ने नगरप्रमुख सुवेदीले बताए ।


वनलाई थप संरक्षण र सम्बर्द्धन गर्दै नागरिकको जीविकोपार्जनसँग जोड्ने उपमहानगरको योजना छ । बुटवलमा २० वटा सामुदायिक वन रहेका छन् । बुटवलले पानीका मूल जोगाउन र जमिनमुनिको पानी रिचार्ज गर्न यी वनमा पोखरी निर्माण गरिरहेको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रम आगामी वर्ष पनि निरन्तर रहनेछ ।


बुटवलले एक घर–दुई विरुवा तथा एक वडा एक हरियाली पार्क कार्यक्रमलाई निरन्तरता दिनेछ । हाम्रो बुटवल सुरक्षित बुटवललाई साकार पार्न तिनाउ नदीमा तटबन्धसहितको तिनाउ करिडोर निर्माण गर्न संघीय सरकारसँग सहकार्य गर्ने नगरप्रमुख सुवेदीले बताए । यसबाहेक बुटवललाई तीन वर्षभित्र बेरोजगारी–शून्य नगर बनाउने, लगानीको गन्तव्य क्षेत्र बनाउने, लगानी सम्मेलन गर्ने, सुरक्षित बुटवल बनाउनेलगायत महत्त्वाकांक्षी कार्यक्रम उपमहानगरले ल्याएको छ ।

प्रकाशित : असार १०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?