झगडा मिलाउन खाेज्दा आफैं मरणासन्न

वीरेन्द्र केसी

अर्घाखाँची — जेठ ३२ गते शनिवार गाउँकै साथीभाई मिलेर क्रिकेट खेलका थिए । भूमिकास्थान नगरपालिका धारापानीस्थित ठूलाखर्क युथ क्लबले खाकाबेंसीमा क्रिकेटको आयोजना गरेका थियो । धारापानी र ढाकावाङ गाउँका खेलाडीबीच विवाद साम्य नहुँदा दुई दिनपछि मेलामा भएको झडप छुट्टयाउन पुगेका धारापानीका २६ वर्षीय शम्भु शाही मरणासन्न हुने गरी कुटिए ।

उनको काठमाडौ मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ। डाक्टरका अनुसार उनको स्वास्थ्य खतरामुक्त छ।

असार २ गते गाउँकै भूमिकास्थान मन्दिरमा जेठे पूर्णिमाको ठूलो मेला लागेको थियो। मेला हेर्न दुवै गाउँका क्रिकेट खेलाडी पनि आएका थिए। क्रिकेट खेलेका ढाकावाङकासहितका ६ जना युवाले धारापानीका खेलाडी धारापनीका अनिल आचार्यलाई मेलास्थलमै कुटपिट गरे। घरबाट सँगै मेला हेर्न गएका साथी अनिललाई कुटेको देखेपछि शाहीले बचाएर ल्याई केही परको होटलमा खाजा खान लगे। प्रहरीले झडपलाई छुट्टाएको थियो।

खाजा खाँदै गर्दा ६ जनाको टोलीले प्रहरीको आँखा छल्दै शाहीलाई पछाडिबाट वियरको बाेतलले ढाडमा हिर्काए। जबरजस्ती पेट काटेर बाेतलका सिसा पेटभित्र छिराइदिएर उनीहरु भागे।

बेहोस भएका शाही स्थानीय र प्रहरीले सन्धिखर्क अस्पतालमा ल्याइए। सामान्य उपचारपछि काठमाडौ ल्याइयो। ‘डाक्टरले आन्द्रामा पुगेको सिसा निकालिदिएपछि पनि उनी राम्ररी बोल्न सकेका छैनन्,’ उपचारमा संलग्न उनका दाई पवनले भने। झगडा गर्नु हुँदैन भनेर छुट्टाउन जाँदा भाइको यस्तो हालत भयो, हामी अन्यायमा परेको उनले बताए। काठमाडौंमा कोरियन भाषा पढ्दै गरेका शम्भु दुई दिन अघि मात्रै घर गएका थिए।

'ढाकावाङको टीमले नाम दर्ता भएका खेलाडी बाहेक बाहिरको मान्छे राखेपछि मैले किन बाहिरको राखेको भनेर सोधेको थिएँ, त्यसपछि झगडा भयो, पछि साम्य भएर खेल्यौं, खेलमा हामी पहिलो दिनमै दुई समुह पराजित भयौं, आचार्यले भने।

‘मेलामा क्रिकेट खेलेका ढाकावाङका साथीले बोलाए। चिनेजानेकै गाउँकै साथीले बोलाएपछि म गएँ, एक्कासी अपरिचित व्यक्तिले क्रिकेट खेल्दा बढी बोल्ने भनेर टाउको र मुखमा हिर्काए, शम्भु र प्रहरीले झडपबाट बचाएर ल्याए, पछि होटलमा खाजा खाँदा शम्भुलाई नराम्ररी कुटेका हुन्’ उनले बताए।

शम्भुले क्रिकेट खेलेका थिएनन्। गाउँमा क्रिकेटको कुनै खेल प्रतियोगिता थिएन। गाउँका साथीभाई मिलेर टीम बनाएर खेल भएको थियो। गाउँका कोही पनि क्रिकेट खेलाडी थिएनन्। साथीभाई मिलेरै रमाइलाको लागि खेलिएको खेल थियो, अनिलले भने।

धारापानीका स्थानीय अगुवा झविलाल थापाले क्रिकेट खेलमा नमिलेका कुरालाई ठुला विवाद बनाएर झगडाको रुपमा इगो राख्नु दुःखद र गलत प्रवृति भएको बताए। 'कुनै खेल प्रतियोगता नै थिएन, आपसमा मिलेर खेल्दा यति ठूलो घटना घट्नु राम्रो होइन,' उनले भने।

कुटपिट गर्ने र कुटिएका दुवैको पक्ष र विपक्षमा राजनीतिक दलका नेताले बोकेका छन्। केही नेता घाइतेको पक्ष केही प्रहरी नियन्त्रणमा रहेकालाई छुटाउन लागि परेको स्रोतले जनायो।

कुटपिट गर्ने ६ जना प्रहरी नियन्त्रणमा
शाहीलाई मरणासन्न हुने गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी कारवाही अघि बढाएको छ। घटना भएकै दिन ढाकावाङका नुमबहादुर गमाल र लिलबहादुर गमाललाई नियन्त्रणमा लिएको थियो।

घटनापछि भाग्न सफल भएका बाबुराम गमाल, हिमबहादुर थापा गमाल, सुरजबहादुर थापा र छपबहादुर घर्तीलाई विहीबार गाउँबाटै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रकाशित : असार ७, २०७६ २१:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हुम्ला जिप दुर्घटना : बेपत्ता भेटिएनन्, गोताखोर फर्किए

छपाल लामा

हुम्ला — कर्णाली नदीमा जिपसँगै बेपत्ता भएका व्यक्ति नभेटिएपछि गोताखोर टोली फर्किएको छ । गत मंगलबार खार्पुनाथ गाउँपालिका–५ को बेडुबिसौना र कैल्यवालुको बीचमा जिप सडकदेखि २० मिटर तल नदी खसेको थियो ।

घटनाको भोलिपल्ट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको गोताखोर टोली जिप र बेपत्ताको खोजीको लागि हुम्ला आएको थियो। तीन दिनसम्म लगातार खोज्दा पनि नभेटिएपछि टोली फर्किएको प्रमुख जिल्ला अधिकार धोलकराज ढकालले बताए। नदीमा पानीको बहाव बढ्नु, पानी धमिलो हुनु, चिसो बढ्नु जस्ता कारणले गोताखोरको लागि खोजीकार्य जटिल बनेको उनले जानकारी दिए।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एकमात्र जिल्ला हुम्लामा खार्पुनाथ यातायात प्रालिले हेलिकोप्टरबाट चारवटा जिप लगेर सेवा दिएको थियो। लु१ज ७१६६ नम्बरको उक्त जिप खसेपछि अब खार्पुनाथसँग तीनवटा जिप बाँकी छन्। प्रालिका अध्यक्ष सरोज रावतले दुर्घटनास्थल खासै अप्ठेरो नभए पनि कसरी खस्यो भन्दै आश्चर्य व्यक्त गरे।

जिप दुर्घटनामा परि बेपत्ता भएका व्यक्तिको बिहीबार कुशको शव बनाएर कर्णाली नदीमा अन्त्यष्टि गरिँदै। तस्बिर : छपाल लामा। कान्तिपुर


जिप दुर्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहसहित ११ जना बेपत्ता भएका थिए। गाउँपालिकाको खापुबाट पालिका केन्द्र याङचु जाने क्रममा जिप कर्णाली नदीमा खसेको थियो।

गोताखोर टोली उपलव्धीबिनै फर्किएपछि गाउँपालिका अध्यक्ष कर्ण रावलले निराशा व्यक्त गरे। उनले गोताखोर आएपछि बेपत्ताको केही न केही भेटिने आश भए पनि असंभव भएको बताए। गाउँपालिका उपाध्यसहित व्यक्ति गुमाएपछि खार्पुनाथमा शोक छाएको छ। गाउँपालिकाका जनप्रतिनिधि र कार्यालयका कर्मचारीसमेत स्तव्ध छन्।

यही शोकमा गाउँपालिकाले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ। बेपत्ता सबैका परिवारलाई जनही १० हजार रुपैयाँ किरियाखर्च बापत दिइने अध्यक्ष रावलले जनाए। उनका अनुसार तेह्रौं दिनको दिन असार १६ गते गाउँपालिकामा श्रद्धाञ्जलीसभा गर्नुका साथै सम्पूर्ण सरकारी कार्यालय र विद्यालय बन्द गरिनेछन्।

स्थानीय शोभा शाहीले उपाध्यक्ष सिन्धुको मत्युले गाउँपालिका र जिल्लाले ठूलो क्षति व्यहोरेको बताइन्। ‘उहाँजस्तो मिलनसार र कुशल नेतृको अभाव सधैं खडकरहने छ,’ उनले भनिन्, ‘ हामीलाई राजनीतिक र सामाजिक काममा प्रेरणा दिइरहने स्वभाव यहाँका महिलाले सम्झिरहने छन्।’

पुत्ला बनाएर दाहसंस्कार
यसैबीच, दुर्घटनामा बेपत्ता भएका व्यक्तिको शव नभेटिएपछि बिहीबार आफन्तले कुशको पुत्ला बनाई दाहसंस्कार गरेका छन्। अन्तिम संस्कारसँगै उनीहरूको विधिवत रूपमा मृत्यु भएको विश्वास गरिएको छ।

उपाध्यक्ष सिन्धु हमाल शाहीसँगै ७ जनाको कर्णाली नदीको खापुदोभानमा दाहसंस्कार गरियो। प्यूस निवासी कौरा दमाई र उनका दुई वर्षीय छोराको भने कर्णालीकै गोग्चेगौंडामा दाहसंस्कार गरिएको छ। परालको पुत्ला बनाएर दाहसंस्कार गरिँदा स्थानीय शोकमग्न अवस्थामा दाहसंस्कारस्थलमा पुगेका थिए।

उनीहरूले बेपत्ता व्यक्तिहरूप्रति अन्तिम श्रद्धाञ्जलीसमेत गरे। ‘तीन दिनसम्म खोज्दा पनि लाश भेटिने आश मरेपछि हिन्दु परम्पराअनुसार परालको पुत्ला बनाएर दाहसंस्कार गरेका हौं,’ गाउँपालिका अध्यक्ष रावलले भने, ‘उहाँहरू सबैको स्वर्गमा बास होस्।'

प्रकाशित : असार ७, २०७६ २०:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT