कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एउटै पालिकामा १२ हजार बेरोजगार

ठाकुरसिंह थारू

बर्दिया — प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बढैयाताल गाउँपालिकामा १२ हजार बढी युवाले बेरोजगार फारम भरेका छन् । उनीहरूले कामका लागि फारम भरेका हुन् । 

एउटै पालिकामा १२ हजार बेरोजगार

पहिलो चरणमा एउटा वडाबाट १ सय जनालाई कामका लागि छनोट गरिएको छ । गाउँपालिकाले अहिलेसम्म २ सय जनालाई काममा लगाइसकेको छ ।


गाउँपालिकाको रोजगार कार्यक्रमका संयोजक विमल पौडेलले पहिलो चरणमा अति विपन्न बेरोजगारलाई छनोट गरिएको बताए । उनीहरूलाई खानेपानी, सिंचाइ मर्मतलगायत काममा लगाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई ४५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । वडा ४ बाट सबैभन्दा बढी करिब तीन हजार बेरोजगारले काम मागेका छन् । उक्त वडामा मुक्त कमैयाको बढी बसोबास छ । पहिलो चरणमा वडा १, ४, ५, ६, ७ र ९ का दुई सय युवाले काम पाएका हुन् । उनीहरूका लागि दैनिक ५ सय १७ रुपैयाँ ज्याला तोकिएको छ ।


कामका लागि आवेदन दिने युवालाई प्राथमिकताअनुसार रोजगारी दिने लक्ष्य छ । ‘हामीले रोजगार कार्यक्रमबाट कुनै उपकरण किनेका छैनौं । किनभने बढीभन्दा बढी युवालाई काम उपलब्ध गराउनु छ,’ कार्यक्रम संयोजक पौडेलले भने, ‘धेरै बेरोजगार नागरिकको आवेदन परेकाले सबैलाई प्राथमिकता दिनुपर्नेछ ।’


कतिपय युवाले सिकर्मी, डकर्मी, कार्पेन्टर, मोबाइल मर्मत, हार्डवेयर, वेल्डिङ सीप तालिम दिन माग गरेका छन् । उनीहरूले सीप सिक्न पाए स्थानीय रूपमा स्वरोजगार हुने दाबी गरे । ‘कुलो खन्ने, सिंचाइको काम पहिले पनि गरिएकै हो । केही दिन काम गर्‍यो, त्यसपछि फेरि काम खोज्नुपर्छ,’ प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिएका धनिराम चौधरीले भने, ‘हामीलाई सीपको आवश्यकता छ । सीप भयो भने जीवनभरिलाई काम लाग्थ्यो ।’

प्रकाशित : असार २, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?