हत्याको आरोपी पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिका–१३ घर भई भीरकोट नगरपालिका–१ बयरघारीमा मजदुरी गर्दै आएका ५५ वर्षीय राजेश अधिकारीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान बयरघारीस्थित मुल्की चौपारीमा मृत अवस्थामा भेटिएका अधिकारीको पोष्टमार्टम र घटना अनुसन्धान गर्दा प्रहरीले हत्या भएको खुल्न आएको बताएको छ ।

हत्याको आरोपी पक्राउ

हत्याको आरोपमा रुपन्देही जिल्ला देवदह नगरपालिका–१० घर भई हाल स्याङ्जाको भीरकोट नगरपालिका–१ डायमण्डचोक बस्दै आएका ३९ वर्षीय लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।


‘२६ गते अर्थात आइतबार राति मृतक अधिकारीले मादक पदार्थ सेवन गरी सूर्यवंशीको डेराको घरमा गई काम गरेको पारिश्रमिक (पैसा) मागेको रहेछन्,’ डीएसपी भण्डारीले भने, ‘सूर्यवंशीले एक/दुई दिनमा दिउँला भनेको रहेछन् । सोही समयमा अधिकारीले गालीगलौज गरी फर्किएछन् । पैसा दिन्छु भनिरहँदा आत्मसम्मानमा चोट पुग्ने गाली गलौज गरी गएक कारणले हथौडा तथा काठको चिरपटले प्रहार गरी घाइते बनाइ छाडी गएछन् । उनी गएपछि अधिकारीको घटनास्थलमा नै मृत्यु भएको रहेछ ।’ आरोपीत सूर्यवंशीलाई जिल्ला अदालतमा प्रस्तुत गरी म्याद थप अनुमति लिई अन्य अनुसन्धान गर्ने कार्य भइरहेको डीएसपी भण्डारीले बताए ।


जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालको कमाण्डमा प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारी र वडा प्रहरी कार्यालय वालिङ्‌का प्रमुख प्रहरी निरीक्षक शंकर आचार्यलगायतको टीमले घटनाको अनुसन्धान गरेको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको कुकुर शाखाबाट कुकुरसहितको अनुसन्धान टोली खटिएको प्रहरीले बताएको छ ।


‘घटनास्थलको जाँच तथा अनुसन्धान र तालिम प्राप्त ककुरले देखाएको मार्ग एवं संकेतअनुसार अनुसन्धान गर्दा घटनाको सत्यतथ्य छिटै बाहिर ल्याउन सहज पुग्यो,’ डीएसपी भण्डारीले थपे । प्रहरीका अनुसार सूर्यवंशी ठेकेदार हुन् । उनले केहीसमयअघिदेखि स्याङ्जामा ठेक्कापट्टाको काम गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?