२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

निर्माण पूरा नहुँदै चर्कियो इनार

गिरुप्रसाद भण्डारी

प्यूठान — सरुमारानी गाउँपालिका–३, हंसपुरको खानेपानी इनार निर्माणकै चरणमा चर्केको छ । पानी तान्न बनाइएको मुख्य इनारको बाहिरी भाग फुटेर चिरा परेको छ । ३ सय २ घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्यका साथ माडी नदी किनारमा निर्माण थालिएको बृहत् हंसपुर लिफ्ट खानेपानी आयोजनाको मुख्य इनार फुटेको हो । 

वर्षौंदेखि खानेपानीको दुःख भोगेका स्थानीय इनार फुटेपछि निराश बनेका छन् । कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरिएकाले इनार फुटेको स्थानीयवासीको दाबी छ । आयोजना सम्पन्न नहुँदै इनार फुटेकाले छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरूले माग गरेका छन् ।


खानेपानी योजनाका लागि सरुमारानी गाउँपालिकाले गत वर्ष ६० लाख रुपैयाँ विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम सुरु गरेको थियो । खानेपानी योजनाको जिम्मा लिएका उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार विकले इनारको बाहिरी भाग मात्र चर्केको बताए । ‘मुख्य इनार आरसीसी ढलान गरिएको छ,’ उनले भने, ‘त्यो भत्कने/चर्कने कुरै आउँदैन ।


बाहिरी भाग मात्र चर्केको हो ।’ योजनामा गत वर्ष ९ लाख रुपैयाँ बेरुजु निस्केको थियो । क्रमागत योजनाअन्तर्गत बाँकी काम गर्न गाउँपालिकाले ९० र प्रदेश सरकारले ९० लाख रुपैयाँ यस आर्थिक वर्षमा विनियोजन गरी टेन्डर गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले बताए । ‘इनार चर्केको भन्ने सुनेको छु,’ उनले भने, ‘हेर्न भ्याएको छैन ।’


माडी नदी किनारमा जरुवा खनेर लिफ्ट प्रविधिमार्फत पानी तान्न लागिएको छ । योजनाको लागत ३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । चारवटा छुट्टाछुट्टै स्थानमा पम्प हाउस निर्माण गर्ने भनिएको छ । पानी संकलन गर्न १ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना छ । पछिल्ला ठेकेदारले काम अझै सुरु गरेका छैनन् । यसले गर्दा करोडौंको योजना अलपत्र अवस्थामा छ ।


आगामी दुई वर्षभित्र योजना सक्ने लक्ष्य राखिएको वलीले बताए । योजनाबाट साबिक हंसपुर गाविसका ४ हजार बढी स्थानीय लाभान्वित हुनेछन् । दुई वर्षभित्र पालिकाभर नै खानेपानीको पहुँच पुर्‍याउने नीति तथा कार्यक्रमअनुसार योजना अगाडि बढाइएको प्रशासकीय अधिकृत वलीले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?