१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पुल नबन्दा बस्ती डुबानको चिन्ता

सन्जु पौडेल

(रूपन्देही) — बुटवल उपमहानगरपालिकाअन्तर्गत तीनकुने–देवीनगर जोडने पुल निर्माणमा ढिलाइले स्थानीय सास्ती खेप्न बाध्य छन्  । नगरको मध्य भागमा लामो समयसम्म पुल निर्माण नहुँदा मर्का परेको हो  ।

पुल नबन्दा बस्ती डुबानको चिन्ता

असार मसान्तभित्र पूरा गर्नेर् गरी गत फागुनमा शिलान्यास गरिएको थियो । अहिलेसम्म जग निर्माणको काम सकिएको छैन ।

घना बस्ती जोडने पुल अधुरै रहे वर्षायाममा ओहोरदोहोर नहुने र बस्ती डुबानमा पर्ने चिन्ता बढेको छ । वर्षामा तीनकुने, देवीनगर डुबानमा पर्ने खतरा रहेको स्थानीय तिलक पौडेलले बताए । ‘काम पूरा नगर्ने ठेकेदारले किन जिम्मा लिनू,’ उनले भने, ‘पुल नबन्दा वृद्धवृद्धा र विद्यार्थीले दुःख पाएका छन् ।’

यहाँबाट रानीगन्ज, अमुवा, मनोहरा, कालीकानगर, मझुवालगायत बस्तीका बासिन्दा ओहोर–दोहोर गर्छन् । लामो समयदेखि उनीहरू घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय सरोजकुमार श्रेष्ठले बताए । ‘टाढाबाट आउने विद्यार्थी, यात्रु र गाडीलाई सास्ती भएको छ,’ उनले भने, ‘पुल निर्माण नहुँदा भित्री सडकमा गाडीको चाप बढेको छ ।’

बाबुल दिव्य जेभी कन्स्ट्रक्सनले १ करोड ४० लाख रुपैयाँमा उपमहानगरसित ठेक्का सम्झौता गरेको हो । निर्माण अवधि पूरा हुन एक महिना बाँकी रहेका बेला पुलको ५ प्रतिशत पनि काम भएको छैन । निर्माणमा तीव्रता दिन सम्बन्धित निकायले पनि चासो दिएका छैनन् । जसले गर्दा कामको प्रगति शूल्य रहेको छ । यसअघि जीर्ण रहेको पुल भत्काएर नयाँ निर्माण गर्न लागिएको हो ।

‘नयाँ पुल बन्ने भयो भनेर खुसी थियौं,’ समावेशी टोल विकास संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले भने, ‘अहिले थुनिएका छौं । वर्षामा बस्ती, व्यापारिक प्रतिष्ठान र शिक्षण संस्था डुबानमा पर्ने चिन्ता छ ।’ शिलान्यास गर्दा असार मसान्तमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म जग निर्माण नहुनु विडम्बना भएको उनले बताए ।

यसको निगरानी गर्ने निकाय छिटो कामका लागि दबाब दिनुको साटो कानमा तेल हालेर बसेको उनले आरोप लगाए । उक्त पुल भएर प्रत्येक दिन हजारौं मानिस ओहोरदोहोर गर्थे । व्यस्त सडकको पुल स्तरोन्नतिको काम तोकिएको अवधिमा पूरा नहुँदा समस्या बढेको छ । निर्माण कम्पनीका प्रतिनिधि सन्दीप थापाले सम्झौताअनुसार असार मसन्तमा पुल निर्माण सम्पन्न गर्न नसकिने बताए । उनले कमजोरी भएको स्वीस्कार गरे ।

‘पहिला बिजुलीको पोल नसार्दा काम गर्न दुःख भयो,’ उनले भने, ‘अहिले कुलापानीको कामले ढिला भएको हो ।’ निर्माण कम्पनीको लापरबाहीले समयमै काम सम्पन्न हुन नसकेको बुटवल उपमहानगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठले बताए ।

‘जिम्मा दिने बेला गरिएको सम्झौता अवधि तोड्न नमिलेर पर्खिएका छौं,’ उनले भने, ‘३ महिना २५ दिनको अवधि सकिएपछि मात्रै कारबाही गर्ने विकल्प छ ।’ उक्त अवधि नपर्खेर कारबाही गर्दा निर्माण कम्पनी अदालत जाने र झन् समस्या बल्झिने भएकाले कुर्नुको विकल्प नरहेको उनले जनाए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?