कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१ सय २० जनालाई रोजगारी

प्यूठान — यहाँको सरुमारानी गाउँपालिकाले सोमबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । स्थानीय १ सय २० बेरोजगार नागरिकलार्ई रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले संचालन गरिएको यस कार्यक्रममा प्रत्येक वडाबाट २० जनाका दरले छनोट गरी काममा लगाइएको छ । सबै कामदारले एक महिनासम्म काम गर्न पाउने विश्वकर्माले बताए ।


दक्ष ज्यामीको ८ सय र अदक्ष ज्यामीको ६ सय रुपैयाँ दैनिक ज्याला तोकिएको छ । १८ वर्षदेखि ५० वर्षसम्मका बेरोजगार नागरिकले पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिंचाइ, खानेपानीलगायत क्षेत्रमा काम गर्नेछन् । उनीहरूलाई बडडाँडा जस्पुर सडकमा नाला निर्माण, हंसपुरको प्रभु सिंचाइमा कुलो निर्माणको काममा लगाइएको छ ।


पालिकाभरमा १ हजार ५ सय २० जनाले बेरोजगार सूचीमा नाम दर्ता गराएको गाउँपालिकाले जनाएको छ । बेरोजगार नागरिकका लागि आवेदन परेका सबैलाई छनोट गरी पालैपालो काममा लगाइनेछ । पहिलो चरणमा सरुमारानी गाउँपालिका ५ र ३ वडाका बेरोजगार नागरिकले रोजगारी पाएका हुन् ।


जिल्लाका अन्य स्थानीय तहमा भने काम गर्ने नागरिकको छनोट प्रक्रिया अझै टुंगिएको छैन । प्रत्येक वडाबाट काम गर्न इच्छुक नागरिकको आवेदन संकलन गर्ने काम भइरहेको स्थानीय तहहरूले जनाएका छन् ।


आगामी असारको पहिलो सातादेखि नै ती स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन हुने गरी तयारी थालिएको छ । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामा १५ हजार बढी नागरिकले कामका लागि आवेदन दिएका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?