कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नहर पुरेर सडक, सिंचाइ ठप्प

कमल पन्थी

बर्दिया — विकासका नाममा नहर पुरेर सडक निर्माण गर्दा यहाँका सयौं घरधुरी किसान सिंचाइ सुविधाबाट वञ्चित भएका छन् । राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजनाको प्रशाखा नहर सडक स्तरोन्नतिका नाममा पुरिएको छ । बारबर्दिया नगरपालिका–१० को झन्डै दुई सय बिघा खेत नहर पुरिएसँगै सिंचाइ सुविधाबाट वञ्चित भएको हो । 

करिब ७ किमि सडक खण्डमा पर्ने प्रशाखा नहर पुरिएपछि दक्षिणतर्फका खेतमा सिंचाइ सुविधा ठप्प भएको स्थानीयले बताए । नहर पुरिएपछि किसानले धानको बीउ राख्न पाएका छैनन् । बारबर्दिया नगरपालिका–१० स्थित बैदी सगुन मार्ग सडक स्तरोन्नतिका नाममा आयोजनाले प्रशाखा नहर पुरेपछि सिंचाइ सुविधा ठप्प भएको हो ।


उक्त नगरपालिकाको करिब २ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सडक फराकिलो गर्ने क्रममा परम्परागत नहर पुरेर दुवैतर्फ खाडल खनिँदा दुई दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । नगरपालिका र ठेकेदार कम्पनीले जबर्जस्ती नहर पुरेको आरोप स्थानीयको छ । १५ मिटर फराकिलो सडक निर्माण गर्दा नहर पुर्दै स्तरोन्नति गरिएको छ ।


सडकका दुवैतर्फ खाडल खनेर माटोले सडक पुरिएको स्थानीय डमरु खत्रीले बताइन् । ‘खाडल खनेका कारण घर नै जोखिममा परेको छ,’ उनले भनिन्, ‘विकासका नाममा नहर पुर्ने र घरै जोखिममा पार्ने काम गरिएको छ ।’ स्थानीय डम्बरबहादुर खडकाका अनुसार पुरानो सडक संरचनामा १० मिटरभित्र नहर बनेको थियो । ‘अहिले त प्रशाखा नहरको नामोनिसान नै छैन,’ उनले भने, ‘ठेकेदार कम्पनीले जथाभाबी खन्दा घर ढल्ने अवस्थामा पुगेको हो ।’


प्रशाखा नहर पुरिएपछि यहाँका बासिन्दाको सिंचाइ सुविधा र घर जोखिममा परेका हुन् । बारबर्दिया–१० का कृष्ण खडकाले सडक फराकिलो गर्ने क्रममा माटो सडकमा पुरिएको बताए । पानी पर्दा खाडल बनाइएका ठाउँको माटो खसेर धेरै घर ढल्ने जोखिममा रहेको उनले बताए । सडकको दायाँबायाँ पक्की नाला बनाउने कुनै योजना छैन ।


राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजनाले भित्री नहर निर्माणका नाममा डोजर लगाई सडक पुर्ने काम गर्न थालेको स्थानीयको आरोप छ । बारबर्दिया नगरपालिकाअन्तर्गत रम्मापुर, औरी, जब्बरपुरलगायत ठाउँमा सडक निर्माण गर्दा नहर पुरिएको बबई सिंचाइ आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख कुन्जनभक्त श्रेष्ठले सडक निर्माणका नाममा परम्परागत कुलो मासिँदा सिंचाइ सुविधा पुर्‍याउन समस्या भएको बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?