१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गाउँले जति पाटनतिर, घरमा चोरी

हरि गौतम

(रुकुम पूर्व) — पुथाउत्तरगंगा गाउँपालिकाका– १, २, ३ र ४ वडा अहिले खाली छन् । स्थानीय बासिन्दा यार्चा संकलनका लागि पाटन उक्लेका छन् । गाउँमा कोही नभएको मौका छोपेर सरकारी कार्यालय, अस्पतालदेखि व्यक्तिगत घरमा चोरी बढेको छ । 

गाउँले जति पाटनतिर, घरमा चोरी

चार दिनअघि पुथाउत्तरगंगा गाउँपालिका–१ को वडा कार्यालय, दूरहिमचुली पोलिक्लिनिक, स्थानीय टेकबहादुर गुरुङको पसल र मरीचमान पुनको घरमा चोरी भएको हो । त्यसयता रातिको समय चोरीका घटना भइरहेका छन् । दिन बिराएर चोरी हुन थालेपछि स्थानीय चिन्तित छन् । ‘यसरी चोरी कहिल्यै भएको थिएन,’ स्थानीय लक्ष्मीप्रसाद पुन मगरले भने, ‘सबै जना पाटन उक्लेको मौका छोपेर गाउँमा योजनाबद्ध ढंगले चोरी भइरहेको छ ।’


वडा कार्यालय, प्रसूतिगृह तथा अस्पतालमा तोडफोड गर्नुको उद्देश्य नबुझेको उनले बताए । प्रहरी कार्यालयनजिकै चोरी भएका छन् । गत बिहीबार राति इलाका प्रहरी कार्यालयभन्दा ५ सय मिटर दूरीमा रहेको घरमा चोरी भएको थियो । गत २५ गते राति प्रहरी कार्यालयदेखि २० देखि ३० मिटरनजिकको घरमा चोरी भएको स्थानीयले बताए । वडा कार्यालय, प्रसूतिगृह, अस्पताल तथा व्यक्तिगत घरबाट के कति सामग्री चोरी भएको हो, यकिन हुन सकेको छैन । चोरी भएका घरका सबै मान्छे पाटनतिर भएकाले चोरी भएको सामग्री र नगदको हिसाब हुन नसकेको हो । दूरहिमचुरी अस्पतालबाट १ हजार २ सय नगद चोरिएको बाहेक अरू कुरा पत्ता लाग्न सकेको छैन ।


इलाका प्रहरी कार्यालय मैकोटका इन्चार्ज प्रहरी नायब निरीक्षक तिलक शाहले गाउँमा चोरी भएको तर केही पत्ता लाग्न नसकेको बताए । अनुसन्धान भइरहेको भन्दै उनले खास कुरा पत्ता लाग्न बाँकी रहेको सुनाए । इप्रकाका जनशक्ति कम भएकाले पनि समस्या भइरहेको उनको भनाइ छ । पाटनको सुरक्षार्थ केही प्रहरी त्यता गएकाले पनि समस्या भएको उनले बताए । चोरी भएका घरका मान्छे नआएसम्म के कति धनमाल चोरी भएको भन्ने थाहा हुन नसक्ने प्रहरीले जनाएको छ । यार्चा संकलनका लागि भन्दै स्थानीय पाटन उक्लिएपछि गाउँमा बूढाबूढी, बालबालिका तथा अपांग र अशक्तहरू मात्रै छन् ।

प्रकाशित : जेष्ठ २७, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?