कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आधुनिक खेतीमा विद्यार्थी आकर्षित

कमल पन्थी

बर्दिया — निःशुल्क शिक्षा र मासिक एक हजार खाजा खर्चसमेत पाउने भएपछि जयकालिका माध्यमिक विद्यालयका विद्यार्थी आधुनिक कृषि खेतीमा आकर्षित भएका छन् । 

आधुनिक खेतीमा विद्यार्थी आकर्षित

विद्यालयले प्राविधिक तथा व्यावसायिक धारतर्फ बाली विज्ञान अध्यापन गराउँदै आएको छ । त्यसमा बढैयाताल–९, मुनाल बस्तीका विद्यार्थी आकर्षित भएका हुन् । उनीहरूले बिहानै कुटो, कोदालो बोकेर कक्षाको र प्रयोगात्मक शिक्षा लिंदै बारीमा काम गर्ने गरेका छन् । कृषि शिक्षाअन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनसँगै प्रयोगात्मक विधिबाट सिकाइन्छ ।


एसईई दिएर बसेका बढैयाताल गाउँपालिका–८ की पूनम श्रेष्ठ बिहान ७ बजे नै विद्यालय पुगेर तरकारी खेती गर्ने विधि सिक्ने गर्छिन् । विद्यालयकी मनीषा राई, आयुश रोकाय, सुशान्त रोकायलगायत ४७ जना विद्यार्थी हातमा कुटो–कोदालो बोकेर बिहानै विद्यालयले लिएको जग्गामा तरकारी खेतीमा काम गर्छन् । विद्यार्थीसँगै कृषि पढाउने प्रशिक्षक पनि हुन्छन् । बाली विज्ञान चारवर्षे कोर्स हो ।


डाक्टर, इन्जिनियर उत्पादन धेरै भए पनि कृषि प्राविधिक न्यून भएकाले यो पढाइ राम्रो लागेकाले यसतर्फ आकर्षण बढेको विद्यार्थी आयुष रोकायाले बताए । शिक्षा विभागबाट अनुदान पाएपछि ०७४ सालबाट यहाँ बाली विज्ञान विषयको पढाइ सुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य श्रेष्ठले बढैयाताल गाउँपालिकामा कृषि बाली विज्ञान विषयको अध्यापन गराउने पहिलो विद्यालय भएको बताए ।


गाउँपालिकामा कृषि प्राविधिक न्यून भएकाले जनशक्ति उत्पादन गरी आधुनिक कृषि खेतीमा लगाउने विद्यालयको उद्देश्य छ । विद्यालयमा माटो परीक्षण गराउने उपकरण, कम्पाउन्ड माइक्रोसप, अटो क्लेभलगायत करिब ८ लाख मूल्यको ल्याब राखिएको छ । प्रशिक्षक मनीषा गौतमले खेत र बालीमा कुनै किसिमको रोग लागे विद्यार्थीले यहीं परीक्षण गरी समस्याको समाधान गर्ने गरेको बताइन् । कृषि कार्यका लागि पुरानो प्रविधि गोरु, राँगा, हलीबाट नभई नयाँ आधुनिक प्रविधिबाट शिक्षण गरिनेछ ।


किताबी ज्ञान पाएका उनीहरू प्रयोगात्मक शिक्षाबाट धेरै कुरा सिक्न पाएको विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर पौडेलले बताए । शिक्षकले विद्यालय समय बिहान ७ बजेदेखि १० बजेसम्म उनीहरूलाई खेत र बाँकी समय कक्षा र ल्याब कोठामा सिकाइ तरिका विधि र प्रयोगात्मक शिक्षा दिने गर्छन् । कृषिविज्ञको रायअनुसार उन्नत खेती र बीउविजनतिर जाने अर्गानिक उत्पादनमा जोड दिने बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?