२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

गहुँतले ल्यायो खुसी

वीरेन्द्र केसी

अर्घाखाँची — कतारमा पुगेर उनले कठिन काम गरे । सोचेजस्तो भएन । तीन वर्षपछि फर्कंदा गाईभैंसीको पिसाब (गहुँत) को बेग्लै महत्त्व रहेको गाउँघरमा बुझ्न पाए । उनले भकारो सुधार गरे ।

गहुँतले ल्यायो खुसी

पिसाब ड्रममा संकलन गरी अन्नबाली, बोटबिरुवा, फलफूल र तरकारी बारीमा राख्न थाले । यसले उत्पादन तेब्बर भएपछि फेरि कतार जाने सोच बदलेका छन् भगवतीका विकास पाण्डेले । त्यही बारी हो, वर्षदिन दुःख गरेर ६ महिनालाई खान नपुग्दा उनी रोजगारी खोज्दै कतार पुगेका थिए । तरकारी र दूधले अहिले उनलाई यहीं स्वरोजगार बनाएको छ । ‘पाखोबारीमा गहुँतले जीवन नै परिवर्तन गरिदियो,’ उनले भने ।


भगवतीकै धर्मराज पाण्डेले गाईभैंसीको पिसाब खेर जान दिंदैनन् । भकारो सुधार गरी पिसाब बगेर भाँडोमा जम्मा हुन्छ । ड्रममा राख्छन् । १५ दिनमा एक भाग पिसाब चार भाग पानीमा घोलेर बोट–बिरुवामा राख्छन् । बोट–बिरुवा हलक्कै हुर्किन्छन् । उत्पादन तेब्बर दिन्छ । गहुँ, मकै पनि राम्रै फल्छ । त्यसभन्दा फाइदा तरकारीबाट हुन्छ । गहुँत राख्दा काँक्रो, लौका, घिरौंला, सीमी लटरम्मै फलेका छन् । गहुँत र गाईंभैंसीको मलले अहिले बारी सुध्रिएपछि उत्पादन तेब्बर भएको उनले सुनाए । एकै वर्षमा १० लाख रुपैयाँका काँक्रा उनले गुल्मी सदरमुकाम तम्घास पठाए ।


यहाँका बाबुराम पाण्डेले गाईभैंसीको पिसाब कृषकका लागि अमृत भएको बताए । बोट छिटो हुर्किने, फल लाग्ने र उत्पादन तेब्बर भएपछि उनी हौसिएका हुन् । पाखोबारीमा अन्न धेरै फल्न थालेपछि परिवार पाल्न सजिलो भएको उनले बताए । तीन वर्षदेखि उनले गाईभैंसीको पिसाब संकलन गरिरहेका छन् ।


साना घुँघा हाल्ने मकैका बोटले गहुँत राखिदिएपछि दुई/तीनवटासम्म घुँघा हाल्ने र दाना पनि पोटिला भएको पाण्डेले सुनाए । ‘खानलाई पनि स्वादिलो हुन्छ,’ उनले भने, ‘गहुँ र धानका बाला पनि राम्रा लागे ।’ गहुँतले उत्पादन तेब्बर भएपछि कृषकहरू पशु थप्ने र पिसाब जम्मा गरेर खेतीपातीमा प्रयोग गर्न थालेका छन् । अर्गानिक खाद्यान उत्पादन गर्ने यो सजिलो तरिका भएको घोचेखोलाकी जानका बन्जाडेले बताइन् । ‘उत्पादन पनि तेब्बर भएको छ,’ उनले भनिन्, ‘एक मुरी धान र मकै फल्ने खेतमा तीन मुरीसम्म फलेको छ ।’


गाईभैंसीबाट धेरै पिसाब झार्न अहिले यहाँका किसानले बस्तुभाउलाई पानी धेरै खुवाउन थालेका छन् । ‘खेतमा सिंचाइ गर्दा कुलोको पानीमै गहुँत बगाइदिने गर्छौं,’ धनचौरकी धनिश्वर घर्तीले भनिन्, ‘थोरै गहुँतले काम नगरेपछि अहिले बस्तुभाउलाई टन्न पानी ख्वाउन धेरै पिसाब झार्न थालेका छौं ।’ गहुँत हालेर उत्पादन भएको खाद्यान्न मिठो र स्वादिष्ट हुने उनले बताइन् ।


नयाँ संरचनाअघि जिल्ला कृषि विकास कार्यालयले केही कृषकका घरमा भकारो सुधार गरेको थियो । स्थानीय तह बनेपछि जनप्रतिनिधिले पनि यसलाई निरन्तरता दिएका छन् । अहिले तरकारी जोन कार्यालयले सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिका–५, बाँगीमा भकारो सुधार कार्यक्रम गरेर पिसाब संकलन गरी अन्नबालीमा राख्न सिकाएको छ ।


जोन प्रमुख बुद्धिराम भट्टराईका अनुसार पिसाबमा तीन प्रतिशत नाइट्रोजन हुन्छ । पिसाब राखेका बोट–बिरुवालाई रोग र किराले कम आक्रमण गर्छन् । अहिले यहाँका ७० कृषकको घरमा भाकारो सुधार कार्यक्रम सम्पन्न भएको छ । १२ हजार जोनको अनुदान र ३ हजार रुपैयाँ कृषकको लगानीमा भकारो निर्माण गरिएको उनले बताए ।


पिसाब संकलन गर्न भकारो सुधार कार्यक्रम बनाएर जनप्रतिनिधि अघि बढे कृषिबाट समृद्ध पालिका बन्न धेरै समय नलाग्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामबहादुर रायमाझीले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?