इच्छा एउटा, पढाइ अर्कै

मधु शाही

बाँके — सरासर पढदा ६ वर्षमा ‘एमबीबीएस’ अध्ययन सकिन्छ । कैलालीका एक युवक साढे नौ वर्षदेखि डाक्टरी पढिरहेका छन् । पढ्दै फेल हुनु उनको जीवनशैली बनेको छ । डाक्टर बन्नु उनको रोजाइ पनि होइन । धनाढ्य परिवारका उनलाई जसरी पनि चिकित्सक बन्न दबाब छ । यस्तो दबाब थेग्न नसकेर उनी लागूऔषध दुर्व्यसनी बनेका हुन् । 

कोहलपुर मेडिकल कलेजमा अध्ययनरत उनलाई लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले खोजिरहेको छ । उनलाई प्रहरी प्रशासनले ‘मुन्नाभाइ एमबीबीएस’ उपनाम दिएको छ ।


हिन्दी चलचित्र ‘मुन्नाभाइ एमबीबीएस’ मा नायक सञ्जय दत्तले मेडिकल कलेजमा पढ्दै फेल हुँदै बस्ने पात्रको अभिनय गरेका छन् । त्यही स्वरूप यहाँका मेडिकल कलेजका देखा परेको छ । यहाँका ‘मुन्नाभाइ’ ले मानवीय काम गरिरहेका छ्रैनन् । उनीहरू लागूऔषधको चंगुलमा फसेको प्रहरीले जनाएको छ ।


पछिल्लो महिना लागूऔषध मुद्दामा चिकित्सा अध्ययन गरिरहेका चार विद्यार्थी मुछिएका छन् । प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ । एक फरार छन् । लागूऔषधमा चिकित्साशास्त्र अध्ययन गर्ने धेरै विद्यार्थी फसेको आशंका प्रहरीले गरेको छ । पछिल्ला चार मुद्दाले सचेत बनाएको एसपी अरुण पौडेलले बताए ।


मेडिकल कलेजमा थप अनुसन्धान र जनचेतनामूलक कार्यक्रम गर्ने योजना उनले सुनाए । पक्राउ परेका विद्यार्थीले बयानमा ‘फ्रस्टेसन’ का कारण लागूऔषध सेवन गरेको खुलाएका छन् । परिवारले जबर्जस्ती डाक्टर बनाउन खोज्दा दबाबमा परेको उनीहरूले बताए । तनावले गर्दा मन भुलाउन उनीहरूले कुलतको बाटो रोजेको डीएसपी प्रकाश सापकोटाले बताए ।


फ्रस्टेसनको कारण ?

इच्छा इन्जिनियर बन्ने थियो । अभिभावकले डाक्टर बनाउने सपना देखे । स्कुल पढ्दादेखि डाक्टर बनाउने भन्दै दबाब दिन्थे । कैलाली घर भएका ती युवकको इच्छा कसैले सुनेनन् । अभिभावककै जोर–जबर्जस्तीमा उनी मेडिकल कलेजमा भर्ना भए ।

चौथो वर्ष अध्ययरत उनले किताबका अक्षर त घोके तर कहिल्यै रमाएर पढेनन् ।


इच्छा एउटा, पढाइ अर्कै भयो । यसले उनमा विचलनभाव आयो । साथी–संगतमा लागेर मन भुलाउन लागूऔषधको बाटो रोजे । केही महिनाअघि उनी र मेडिकल कलेजमा अध्ययनरत भारतीय युवक लागूऔषधसहित पक्राउ परे ।


सीमापारिबाट ल्याउने क्रममा नेपालगन्ज नाकास्थित जमुनामा उनीहरू समातिएका थिए । प्रहरीको बयानमा ती युवकले इच्छाविपरीत पढाइमा दबाब आएकाले मन बहलाउन लागूऔषध सेवन गर्न थालेको बताएका छन् । भारतीय युवक फरार छन् । काठमाडौं घर भएका एक युवक पाँच वर्षदेखि कोहलपुर मेडिकल कलेजमा अध्ययनरत छन् । डाक्टर बन्ने रुचि थिएन ।


पूर्वसुरक्षाकर्मीका छोरा हुन् । पढाइमा मन पटक्कै लागेन । फेल हुँदै बस्दै गर्न थाले । तर, परिवारले भने पैसा पेलेर भए पनि पढाइ पूरा गर्न दबाब दिइरहेका हुन्थे । लागूऔषधकै मुद्दामा उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।


डीएसपी सापकोटाले अधिकांश युवा आफ्नो रोजाइ अनुकूल अध्ययन गर्न नपाउँदा फ्रस्टेसनमा आएर लागूऔषधका अम्मली बनेको बताएका छन् । अनुसन्धानका क्रममा उनले अभियुक्तको बयानमा यस्तै भेटिएको सुनाए । ‘परिवार र समाजले युवाको चाहना बुझ्ने कोसिस गरेको छैन,’ उनले भने, ‘जसको असर लागूऔषध दुर्व्यसनमा देखा पर्न थालेको छ ।’ इच्छा एउटा, पढाइ अर्कै हुँदाको नतिजा के हुन्छ ? विद्यार्थीको मनमा विचलन आउँछ । यसले समाजमा अनेक विकृति निम्त्याउँछ ।


यसको उदाहरणका रूपमा यतिबेला लागूऔषधका मुद्दामा परेका मेडिकल कलेजका विद्यार्थी देखा परेका छन् । जिल्ला प्रहरीले लागूऔषध नियन्त्रणका लागि हरेक दिन एउटा लागूऔधषविरुद्धको जनचेतनामूलक कार्यक्रम गर्दै आएको दाबी गरेको छ । यद्यपि, नियन्त्रण भने हुन सकेको छैन । प्रहरी प्रशासनकै तथ्यांक हेर्दा गत वर्षको तुलनामा यस वर्ष ३२ प्रतिशतले लागूऔषधको मुद्दा बढेको तथ्यांक छ ।


लागूऔषध नियन्त्रणका लागि परिवारदेखि सचेत हुन जरुरी छ । आफ्ना छोराछोरीको भावना सम्बोधन गर्नु, कस्तो संगतमा लागेको छ, निगरानी गर्नु र अभिभावकले छोराछोरीमा मित्रताको भाव बढाउन सके युवा कुबाटोदेखि जोखिममुक्त हुने एसपी पौडेलले सुनाए । लागूऔषध नियन्त्रण नहुनुको अर्को ठूलो कारण खुला सिमाना हुनु हो ।


सीमापारि सस्तो र सजिलै लागूऔषध पाइने हुँदा युवाले झुक्याएर ओसारपसार गर्ने प्रवृत्ति बढ्दै छ । बाँके जिल्लामा लागूऔषधका मुद्दा बढ्दो क्रममा छन् । ०७३ मा ९७ वटा मुद्दा परेकामा ०७४ मा बढेर १ सय ३७ पुगेको थियो ।


त्यस्तै, ०७५ मा १ सय ४५ मुद्दा दर्ता भए भने ०७६ वैशाख मसान्तसम्म यो संख्या बढेर १ सय ९२ पुगेको छ । प्रदेश ५ प्रहरी कार्यालय दाङका अनुसार जेठ महिनामा मात्रै बाँकेमा लागूऔषधसहित ५४ जना अभियुक्त पक्राउ परेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?