सीमापारि बिहेले पार्‌याे बिचल्ली

भारतमा बिहे भएर हिंसा खप्न नसकी माइती आएकाहरु न्यायिक उपचारमा जाँदैनन् । ‘पीडक विदेशी नागरिक हुन्छ । हामीले यहाँबाट उसलाई केही गर्नै मिल्दैन ।’ 
मधु शाही

बाँके — नेपालगन्जको फुटहामा बस्ने फुलमती कौशलले १६ वर्षीया छोरी गुडियाको भारतीयसँग बिहे गरिदिइन । दाइजो नल्याएको भन्दै गुडियाका सासू, ससुरा र श्रीमान्ले कुटपिट गर्न थाले । दुई सन्तान लिएर उनी रुँदै माइत आइन् । ज्यान बचाउन माइत बस्दै आएको उनले बताइन् ।

माइतमा बसेको एक वर्ष पुग्न लाग्दा पनि पति लिन आएका छैनन् । माइतीमै बसेर छोराछोरी हुर्काइरहेकी उनी भन्छिन् ‘यताको समस्या न सीप छ, न त नागरिकता । उताको कुटाइ खानुभन्दा यतै बस्छु ।’

फुलटेक्राकी विन्दिया बर्माले बुबाआमाकै सल्लाहमा सीमापारि बिहे गरिन् । पाँच वर्ष अघिसम्म सम्बन्ध राम्रै थियो । दुई छोरी जन्मेपछि ‘छोरा किन पाइनस्’ भन्दै पतिले कुटपिट गर्न थाले । खप्न नसकेर माइत आइन् । यहाँ बस्दा छिमेकीले कुरा काटछन् । २५ वर्षीया बिन्दियाले कुटपिट सम्झँंदै श्रीमानका घर कहिल्यै नजाने निधो गरेको बताइन ।

सीमा क्षेत्रमा वारिपारि बिहे गर्ने चलनले नेपाल–भारत सम्बन्ध ‘रोटी–बेटीको’ भनिएको छ । उता छोरी दिने र यता बुहारी भित्र्याउने चलन नौलो होइन । ‘रोटी बेटीको’ सम्बन्धमा कतिको घरजममा समस्या छ । सीमापारि बिहे गरेर श्रीमानले दुःख दिएपछि माइतीमा अलपत्र कतिपय नेपाली चेली बाँकोका विभिन्न बस्तीमा भेटिन्छन् ।

नेपाल–भारत सीमा क्षेत्र जमुनाह माइत भएकी रुक्सा राइको कथा पनि उस्तै छ । १७ वर्षको उमेरमा बहराइच (भारत)का युवकसित बिहे भयो । चार वर्षसम्म गर्भ अडिएन । यही बहानामा उनीमाथि कुटपिट सुरु भयो । ‘माइत जाउँ आमाबुबा र समाजले हेप्छ,’ उनले भनिन्, ‘घरमै बसौं ज्यान जोगाउन गाह्रो छ ।’ उनी हिंसा सहेरै बसेकी थिइन् । पतिले घरमा सौता भित्र्याएपछि भने उनी एक्ली भइन् । ‘न्यायका लागि इण्डियामा के गर्ने भन्ने थाहा छैन, पढाइलेखाइ पनि छैन,’ उनी भन्छिन्, ‘सौता आएपछि माइत फर्किन बाध्य भएँ ।’

नेपालगन्ज–६ मा बस्ने कुन्ती यादवलाई दाइजो नल्याएको भन्दै बिहेको दुई वर्षपछि कुटपिट गर्न थालियो । भारतको बाराबंकीमा विवाह भएकी उनी जिउमा नीलडामसहित माइतीमा शरण माग्न आइन् । बिहे गरेको घरमै बस्नुपर्छ भन्दै आमाले जबर्जस्ती पठाइन् । त्यसपछि पुनः ६ महिना यातना खेप्नु पर्‍यो । यस बीचमा गर्भ रह्यो । सासु र पतिले अनेक बहानामा कुटपिट गरेपछि गर्भ खेर गएको उनले बताइन । ‘बच्चा खेर गयो । रगत बगेर बेहोस हुँदासम्म उपचार पाइँन,’ उनले भनिन्, ‘ज्यान जोगाउन भागेर नेपाल फर्किएँ ।’ २३ वर्षीया कुन्ती अहिले सडकमा मकै बेचेर गुजारा गर्छिन् । पतिले गरेको अत्याचारले उनको मन पोलिरहन्छ ।

सीमापारि बिहे गरेका महिला घरेलु हिंसा खप्न नसकेर माइतै बसेका छन् । कानुनी उपचारको उनीहरुलाई जानकारी छैन । कोही पीडित प्रहरी प्रशासन पुगिहालेमा भारतमा बिहे भएकाले पीडित पक्राउ गर्न सम्भव नहुने महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख श्यामकुमारी मगरले बताइन् ।

भारतमा बिहे गरेका नेपाली महिला घरेलुहिंसा भएको भन्दै प्रहरी महिला तथा बालबालिका सेवा केन्द्र आउँछन् । गैरनागरिकलाई यहाँबाट कानुनी प्रक्रिया अपनाउन नमिल्ने सेवा केन्द्रकी प्रमुख मगरले बताइन् । ‘थुप्रै मुद्दा यहाँ आउँदैनन्,’ उनले भनिन्, ‘पीडक विदेशी नागरिक हुन्छ । हामीले यहाँबाट उसलाई केही गर्नै मिल्दैन ।’

नेपाल प्रहरी र सेवा केन्द्रमा गुहार लगाउन आएपनि विदेशी भएकाले केही गर्न नमिल्ने जवाफ पाउँदा निराश भएर फर्कन्छन् । सीमा पारीबाट फर्किएका अधिकांश महिला मौन रहेर माइतै बसेका छन् । त्यस्तालाई भारतमै कानुनी प्रक्रिया अपनाउन सल्लाह दिए पनि धेरैजना अशिक्षा र असुरक्षाका कारण झन्झटमा पर्न नचाहने सेवा केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलका अनुसार भारतमा घटना भएको र पीडित पनि भारतीय नै भएका मुद्दामा आरोपीलाई नेपालका कानुनी प्रक्रियामा ल्याउन नमिल्ने बताउँछन् । महिलाले उजुरी दिएको खण्डमा नेपाल आएका बेला पक्राउ गर्न सकिने उनले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?