कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सीमापारि बिहे गर्दा बिचल्ली

मधु शाही

बाँके — नेपाल–भारत सीमा क्षेत्रमा बसोवास गर्नेबीच रोटी–बेटीको सम्बन्ध रहेको मानिन्छ । उताकाले यता र यताकाले उता बिहे गर्ने परम्परा छ । तर, सीमापारि बिहे गरेर अलपत्र परेका थुप्रै नेपाली चेली रहेका छन् ।

सीमापारि बिहे गरेका महिला घरेलु हिंसा खप्न नसकेर माइतै बसेका छन् । कानुनी उपचारको उनीहरूलाई पत्तो छैन । कोही पीडित प्रहरी प्रशासन पुगिहालेमा भारतमा बिहे भएकाले पीडित पक्राउ गर्न सम्भव नहुने महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख श्यामकुमारी मगरले बताइन् ।


नेपालगन्ज उपमहानगरपालिका, फुटहामा बस्ने फुलमती कौशलले १६ वर्षीया छोरी गुडियाको भारतीय नागरिकसँग बिहे गराइन् । दाइजो नल्याएको भन्दै गुडियाका सासू, ससुरा र श्रीमान्ले कुटपिट गर्न थाले । दुई सन्तान लिएर उनी रुँदै माइत आइन् । ज्यान बचाउन माइत बस्दै आएको उनले बताइन् । माइतमा बसेको एक वर्ष पुग्न लाग्दा पनि पति लिन आएनन् । माइतै बसेर छोराछोरी हुर्काउनुपर्ने उनको बाध्यता छ । ‘न सीप छ, न त नागरिकता,’ उनले भनिन्, ‘कुटाइ खानुभन्दा यतै बस्छु ।’


फुलटेक्राकी बिन्दिया बर्माले बुबाआमाकै सल्लाहमा सीमापारि बिहे गरिन् । पाँच वर्षअघिसम्म सम्बन्ध राम्रै थियो । दुई छोरी जन्मेपछि छोरा किन पाइनस् भन्दै पतिले कुटपिट गर्न थाले । घरेलु हिंसा सहन नसकेर माइत आइन् । माइत बस्दा छिमेकीले कुरा काटछन् । २५ वर्षे बिन्दियाले कुटपिट सम्झिंदै भारत कहिल्यै नजाने निधो गरेकी छन् ।


नेपाल–भारत सीमा क्षेत्र जमुनाह माइत भएकी रुक्सा राईको कथा पनि उस्तै छ । १७ वर्षको उमेरमा बहराइच (भारत)का युवकसित बिहे गरिन् । चार वर्षसम्म गर्भ रहेन । यही बहानामा उनीमाथि कुटपिट भयो । ‘माइत जाऊँ आमाबुबा र समाजले हेप्छ,’ उनले भनिन्, ‘घरमै बसौं ज्यान जोगाउन गाह्रो छ ।’


उनी हिंसा सहेरै बसेकी थिइन् । एक दिन पतिले दोस्रो बिहे गरेर सौता घरमा ल्याएपछि उनी एक्ली भइन् । भारतमा कानुनी उपचार अपनाउने उनीसँग कुनै ज्ञान छैन । पढाइलेखाइ छैन । घरमै सौता आएपछि भने उनी माइत फर्किन बाध्य भइन् । नेपालगन्ज–६ मा बस्ने कुन्ती यादवलाई दाइजो नल्याएको भन्दै बिहे गरेको दुई वर्षपछि कुटपिट गर्न थालियो ।


भारतको बाराबंकीमा बिहे गरेकी उनी शरीरभरि नीलडामसहित माइतीमा शरण माग्न आइन् । बिहे गरेको घरमै बस्नुपर्छ भन्दै आमाले जबरजस्ती भारत पठाइन् । त्यसपछि पुनः ६ महिना यातना खेप्नु पर्‍यो । यसबीचमा गर्भ रह्यो । सासु र पतिले अनेक बहानामा कुटपिट गरेपछि गर्भ खेर गएको उनले सुनाइन् । ‘बच्चा खेर गयो । रगत बगेर बेहोस हुँदासम्म उपचार पाइनँ,’ उनले भनिन्, ‘ज्यान जोगाउन भागेर नेपाल फर्किएँ ।’ २३ वर्षीया कुन्ती अहिले सडकमा मकै बेचेर आय आर्जन गर्छिन् । पतिले गरेको अत्याचारले उनको मन पोलिरहन्छ ।


सीमापारि बिहे गरेका नेपाली युवती घरेलु हिंसा भएको भन्दै प्रहरी महिला तथा बालबालिका सेवा केन्द्र आउँछन् । यस्तो बेलामा गैरनागरिकलाई यहाँबाट कानुनी प्रक्रिया अपनाउन नमिल्ने सेवा केन्द्रकी प्रमुख मगरले बताइन् । ‘थुप्रै मुद्दा यहाँ आउँदैनन्,’ उनले भनिन्, ‘पीडक विदेशी नागरिक हुन्छ । हामीले यहाँबाट उसलाई केही गर्नै मिल्दैन ।’


पीडित महिला भने भारत घर भएका पतिले हिंसा गर्‍यो भन्दै न्यायको गुहार माग्दै आउँछन् । अधिकांश भने मौन रहेर माइतै बसेका छन् । उनीहरूले भारतमै कानुनी प्रक्रिया अपनाउन सल्लाह दिए पनि धेरै महिला अशिक्षा र असुरक्षाका कारण झन्झटमा पर्न नचाहने सेवा केन्द्रले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलका अनुसार भारतमा घटना भएको र पीडित पनि भारतीय नै रहेकाले उसलाई नेपालको कानुनी प्रक्रियामा ल्याउन नमिल्ने बताए । तर, महिलाले उजुरी दिएको खण्डमा नेपाल आएका बेला पक्राउ गर्न सकिने उनले सुनाए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?