क्षति रोक्न नियन्त्रित आगलागी

नियन्त्रित आगलागीमा उपभोक्ता, सुरक्षाकर्मी, दमकल साथमा भएपछि आगलागीको अग्निरेखा बनाउने र आगो लगाइदिने गरिन्छ
माधव अर्याल

पाल्पा — वन डढेलोबाट हुने क्षति रोक्न डिभिजन वनले नियन्त्रित आगलागी गरेको छ । साताव्यापी अभियान अन्तर्गत उसले बस्ती नजिक यस्तो अभियान चलाएको हो । जथाभावी आगलागीका घटना रोक्न नियन्त्रित आगलागी सफल भएको डिभिजन वन कार्यालयका प्रमुख मोहन पौडेलले बताए । ‘यसले जथाभावी आगलागी हुने र क्षति कम गर्न मद्दत गर्छ,’ उनले भने, ‘त्यसैले यसमा सबैको सहयोग खोजेर अभियान चलाएका हौं ।’

पाल्पाको सदरमुकाम तानसेन–१, भुसालडाँडामा सेना, प्रहरी, कर्मचारी, स्थानीय उपभोक्ताको सहभागितामा नियन्त्रित डढेलो लगाइँदै । तस्विर : माधव/कान्तिपुर

डिभिजन वन कार्यालयले तानसेन बजार नजिकका सामुदायिक वनमा यस्तो अभियान चलाएको हो । जसले गर्दा डढेलोको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ । साताव्यापी अभियानमा बस्ती नजिकका सल्ला प्रजातिका जंगलमा यस्तो क्रियाकलापमा जोड दिएको थियो । तानसेन नगरपालिका क्षेत्रमा बस्ती नजिकका सल्लाका वनमा नियन्त्रित आगलागी गरिएको छ ।

वन डढेलोको क्षति न्यूनीकरण गर्ने अभियानले यस वर्ष सार्थकता पाएको डिभिजन प्रमुख पौडेलले बताए । नेपाली सेनाको गोरखदल गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, तानसेन नगरपालिका र नगरक्षेत्रका सामुदायिक वन उपभोक्ता समूहहरूले यो अभियानमा सघाएका छन् । अभियानका लागि सबैको साथ, सहयोग र सहकार्य रहेको वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए ।

‘बस्तीको नजिकमा पुग्ने र सम्बन्धित सामुदायिक वनका पदाधिकारी, सदस्यलाई समेत सहभागी गराएर अयिभान चलेको हो,’ पोखरेलले भने, ‘अधिकांश उपभोक्ताले यसलाई राम्रो काम भनेर साथ दिए ।’ तानसेनको कैलाशनगर, वसन्तपुर, भगवतीटोल, भुसालडाँडालगायतका क्षेत्रमा नियन्त्रित आगलागी गरिएको थियो ।

जसले गर्दा रातीको समय वा अन्य व्यस्त समयमा आगो निभाउन जान परेन । यसपटक गरिएको यो अभियान अर्को वर्ष पात झरेकै समयमा गर्ने योजना बनिसकेको उनले बताए । जंगलमा गाईबस्तु चराउन जाने, घुम्न जाने, अन्य नियतबाट जानेहरूले चुरोटका ठूठा फालिदिने र जुनसुकै बेलामा आगलागी हुने गरेको थियो ।

नियन्त्रित आगलागीमा उपभोक्ता, सुरक्षाकर्मी, दमकल साथमा भएपछि आगलागीको अग्निरेखा बनाउने र आगो लगाइदिने गरिन्छ । जसले गर्दा बस्ती नजिक आगामी दिनमा पनि आगो आउन नसकोस् भन्ने नै रहेको पोखरेलले बताए । वनदेवी, कैलाशनगर, श्रीनगरलगायतका स्थानमा बस्ती नजिकमै सल्लाका रुख छन् । तानसेन नगरपालिका–१, भुसालडाँडाका भैरव पुनले नियन्त्रणमा लिन सकिने गरी आगलागी गरिने भएकाले यसबाट पुनः क्षति हुन नसक्ने बताए । ‘आगलागीलाई नियन्त्रण लिन सहज होस् भनेर नै यस्तो नियन्त्रण गरेर आगलागी गरिएको होला,’ उनले भने, ‘बस्तीमा यसले गर्दा क्षति नपुगोस् भन्ने नै हो ।’

तानसेनका जंगल क्षेत्रमा चुरोट खाने, गाईबस्तु चराउन लैजाने बढी हुन्छ । बस्ती नजिकको जंगल भएपछि सबैको पहुँच पनि हुने नै भयो । तानसेन नगरपालिका–५ की धनकुमारी गैरेका अनुसार युवकयुवती जंगलमा जाने, चुरोट, गाँजा खानेहरूले गर्दा पनि पटक–पटक आगलागीका घटना हुने गरेका हुन् । यसका लागि प्रहरी, प्रशासनले पनि ध्यान दिन सक्यो भने आगलागी पनि कमी हुने उनले बताइन् । ‘त्यस्ता युवकयुवतीलाई नियन्त्रणमा लिने र उनीहरूलाई सचेत गराउने गर्नुपर्छ,’ उनले सुझाव दिइन्, ‘जंगलमा उनीहरू
गए भनेपछि हामी सबै डराउँछौ ।’

जताततै आगलागी
तानसेन नगरपालिका–११, बन्दीपोखराको जंगलमा मंगलबार दिउँसोबाट बुधबार बिहानसम्म लगातार आगलागी भएको छ । सदरमुकामबाट प्रस्ट देखिएको आगलागी सबै जंगल डढेपछि मात्र आफैं नियन्त्रणमा आयो । तानसेनका बासिन्दाले समेत रातभर बलेको आगो हेर्दा नोक्सानी पुग्यो भन्दै चिन्ता व्यक्त गरे ।

तर, नियन्त्रणका लागि कोही गएन । वरपर घर नजिक नभएकाले प्रहरी, सेना पनि परिचालन गर्नु परेन । यो एउटा उदाहरण मात्र हो । आर्यभन्ज्याङ, रामपुर, चिदीपानी, चिर्तुङधारा, मस्याम, कोलडाँडालगायतका क्षेत्रमा दैनिकजसो आगलागी भइरहेको छ । डिभिजन वन कार्यालय, स्थानीय तहबाट सरकारी रकम खर्चेर हुने डढेलो व्यवस्थापन सचेतना कार्यक्रम प्रभावकारी हुन सकेको छैन । तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेर आफैं नियन्त्रणमा आएको छ ।

माथागढी, निस्दीका विभिन्न चुरे क्षेत्रमा पनि अवस्था उस्तै छ । रैनादेवी छहराका चुरे र तराईसँग जोडिएका जंगलमा पनि डढेलो लागिरहेको छ । डढेलो व्यवस्थापन, समुदायमा आधारित डढेलो व्यवस्थापन, डढेलो नियन्त्रण सप्ताह, सन्जाल निर्माण र परिचालनजस्ता कार्यक्रमका रकम खर्च गरे पनि हरेक वर्ष यस्ता डढेलो लागिरहेको छ । ‘प्रत्येक वर्ष डढेलो सप्ताह, सभा, गोष्ठीजस्ता सचेतनामूलक कार्यक्रम गरिहेका छौं,’ तिनाउ वन समन्वय समितिका अध्यक्ष अमर प्रधानले भने, ‘तर, झुक्याएर आगो लगाइदिने गर्छन् ।’

समितिकै उपाध्यक्ष दलबहादुर गुरुङका अनुसार तराईतर्फबाट जंगलमा बढी आगो लगाइदिने गर्छन् । जनचेतना कार्यक्रमका लागि वन कार्यालयमार्फत पाँच लाख बढी रकम खर्च हुन्छ । सबै सब–डिभिजन कार्यालयमार्फत यस्ता सचेतनामूलक कार्यक्रम हुने गर्छन् । डढेलो सप्ताह मनाउने, सन्जाल गठन गर्नेलगायतका कार्य गर्न केही रकम खर्च हुन्छ ।

संचार माध्यममा समेत बर्सेनि लाखभन्दा बढी रकम खर्च हुन्छ । ‘सिमानाबाट आउने डढेलो नियन्त्रण गर्ने गरी रुपन्देही र पाल्पातर्फका सामुदायिक वनका पदाधिकारीसँग छलफल गरेका हौं,’ तिनाउ वन समन्वय समितिका अध्यक्ष प्रधानले भने ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

पुल निर्माण ढिलाइले मर्का

कान्तिपुर संवाददाता

रुकुम पूर्व — सिस्ने गाउँपालिका–३ का अर्जुन लामिछाने गाउँपालिका केन्द्र रुकुमकोट जाँदा वडा ७ को सिस्नेरी हुँदै जान्छन् । त्यहाँ पुग्न सानीभेरी तर्नुपर्छ । जोखिमपूर्ण तरिकाले बोजेरीस्थित झोलुंगे पुलमा मोटरसाइकल तार्नुपर्छ ।

मोटरसाइकलमार्फत गाउँपालिका केन्द्रसम्म आउजाउ गर्नुपर्ने वडा ३ र ४ का बासिन्दाको एउटै पीडा हो । सानीभेरीमा पुल निर्माण नहुँदाजोखिम मोल्ल बाध्य छन् ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका हुँदै डोल्पासम्म जोडने उद्देश्यले सडक निर्माण थालिएको छ । यस खण्ड अन्तर्गत सानीभेरी पुल निर्माणमा ढिलाइ भएको छ । निर्माणका लागि सम्झौता गरेको ठेकेदार कम्पनीले समयमा काम नगर्दा सर्वसाधारणले दुःख पाइरहेका छन् । सम्झौता अनुसार काम गरेको भए एक वर्षअघि पुल निर्माण सकिन्थ्यो । गत वर्ष असार महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । अहिले पुल निर्माण अलपत्र छ ।

सिस्ने गाउँपालिका–६ र ४ वडा जोडने पुल निर्माण दुई वर्षमा गरिसक्ने सम्झौता ठेकेदार कम्पनीले जिल्ला प्राविधिक कार्यालय रुकुम पश्चिममा गरेको थियो । जिल्ला प्राविधिक कार्यालय र ठेकेदार कम्पनी मृत सन्जीवनी निर्माण सेवा हेटौडाबीच ०७३ असार ३१ गते दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । ०७५ को असार ३१ गते पुल निर्माण गरिसक्ने सम्झौता हो । ठेकेदार कम्पनीले ९ करोड २० लाख रुपैयाँमा निर्माण गर्ने जिम्मा लिएको थियो ।

सम्झौता गरेको लामो समयसम्म निर्माणले गति लिएन । ‘यो पुल कहिले सकिने हो,’ सिस्ने गाउँपालिका–६ का भुवनेश्वर उपाध्यायले भने, ‘जिम्मा लिनेले काम नगर्ने हो भने निगरानी गर्ने निकाय को हो, जनताले दुःख पाइरहेका छौं ।’ पुल नबन्दा सर्वसाधारणले दुःख पाउनुका साथै मालसामान ढुवानी महँगो भएको उनले बताए । सम्झौता अनुसारको समयभन्दा एक वर्ष बढी भइसक्दा समेत पुल निर्माण नहुनु ठूलोलापरबाही भएको उनले बताए ।

ठेकेदार कम्पनीको लापरबाही र अन्य केही कारणले पुल निर्माणमा ढिलाइ भएको जनाइएको छ । ठेकेदार कम्पनीले योजना निर्माण गरिसक्ने समयमा मात्रै निर्माणको काम थालेको थियो । विभिन्न बहानामा ठेकेदार कम्पनीले समयमै काम सुरु नगर्दा त्यसको मारसर्वसाधारण्मा परेको स्थानीयले बताए ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिरहेको बताइन् । ‘सडक पुगिसकेका ठाउँका जनतालाई असजिलो भएको छ ।

ठेक्का लागेका पुल पनि समयमै निर्माण नहुँदाको पीडा जनताले भोग्नु परेको छ,’ अध्यक्ष बरालले भनिन्, जतिसक्दो छिटो निर्माण कार्य सक्न हामी अनुरोध गरिरहेका छौं ।’ यद्यपि, पुल बने/नबनेको भनेर अनुगमन र नियमनको जिम्मा भने प्रदेश सरकारलाई भएको उनले बताइन् । ठेकेदार कम्पनीले भने नदीको एकापट्टि सडक नपुगेकाले पनि पुल निर्माणको काम ढिला सुरु गर्नु परेको जनाएको छ । सम्झौता अनुसार काम नभए पनि अब छिट्टै निर्माणहुने कम्पनीको दाबी छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्