१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विद्यार्थी तान्न स्कुल बस

वीरेन्द्र केसी

गुल्मी — स्कुल बस सञ्चालन गरेर प्रतिस्पर्धी सामुदायिक विद्यालयले विद्यार्थी तान्ने होडबाजी सुरु गरेका छन् । सदरमुकामका दुई र गाउँको एक सरकारी स्कुलले विद्यार्थीको घरमै बस पुर्‍याएर सेवा दिन सुरु गरेका हुन् । 

अंग्रेजी माध्यम र कम्प्युटर कक्षा सञ्चालन गरेर अभिभावकको मन जित्न खाजेका तम्घासको महेन्द्र मावि, सिद्धबाबा मावि र छत्रकोट गाउँपालिका–४, दिगामको आदर्श माविले यसै शैक्षिक सत्रबाट बस सञ्चालन गरेपछि विद्यार्थीलाई दुई/तीन घन्टा पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ ।


शिक्षा विकास तथा समन्वय एकाइका अनुसार कक्षा १२ सम्म पढाइ हुने तीन स्कुलसहित रेसुंगा मावि जिल्लाकै राम्रो पढाइ हुने स्कुलमा गनिन्छन् । रेसुंगाले गाडी सञ्चालन गरेको छैन । बस सेवा दिएपछि महेन्द्रमा दुई सय, सिद्धबाबामा ४० र आदर्शमा एक सय विद्यार्थी थपिएको स्कुलले जनाए । बसले बिहान विद्यार्थीको घरबाट स्कुलसम्म ल्याउने र बेलुका छोडन जाने गरेपछि आदर्श माविमा नयाँ विद्यार्थी थपिए ।


स्कुलदेखि दुई सय मिटर टाढाको लोटस बोर्डिङ स्कुलका विद्यार्थी आदर्शले तानेपछि यसै शैक्षिक सत्रबाट बोर्डिङ बन्द भयो । बोर्डिङमा अन्तिम परीक्षा दिएका ६८ जना विद्यार्थीमध्ये ३५ जना आदर्शमै भर्ना भए । अर्को रिभरसाइट बोर्डिङ स्कुलका विद्यार्थी सरकारीमा गएपछि बन्द हुने अवस्थामा पुगेको छ । पढाइ राम्रो भएपछि अभिभावको मन सरकारीमै तानियो । बुटवलको दीप बोर्डिङ स्कुलबाट आशिष पन्त कक्षा ८ मा भर्ना हुन आदर्शमा फर्केर आए ।


उनीसहित बुटवलको कालिकाबाट सचिन न्यौपाने कक्षा ९, प्रज्वल पाण्डे र उज्ज्वल पाण्डे कक्षा ५ मा र सपना अधिकारी आदर्शमै भर्ना हुन आए । राम्रो स्कुलमा छोराछोरी पढाउन केही वर्षअघि अभिभावकले बुटवल लगेका थिए । बोर्डिङमा भन्दा राम्रो सरकारीमै भएपछि पुनः गाउँ फर्काएको उनीहरूले बताए ।


छत्रकोट गाउँपालिकाले पढाइ राम्रो हुनेमा आदर्शलाई पालिकाकै उत्कृष्ट विद्यालय भनेको छ । प्रधानाध्यापक गुणाकर ज्ञवालीले बस किन्न २९ लाख रुपैयाँ खर्च भएको बताए । गाउँपालिकाले ११ लाख, वडा ४ ले ४ लाख, अमेरिकामा बस्ने प्रवासी नेपालीबाट १ लाख ६७ हजार, बुटवलमा बस्ने पूर्वविद्यार्थीबाट ५१ हजारसहित पूर्वविद्यार्थी, अभिभावकबाट ५ लाख रुपैयाँ चन्दा संकलन र बाँकी ऋण काढेको उनले बताए । विद्यार्थी ओसार्न स्कुलबाट तीन रुट बनाइएको छ ।


एउटा रुट अगाँहा, मनवाह, सातमुरे–स्कुल, अर्को बोहर बिसौनी रुट र हर्दिनेटा पुगेर बसले विद्यार्थी ल्याउने/लाने गर्छ । कक्षा ९ मा पढ्ने किशोर श्रेष्ठलाई अगाँहबाट स्कुल आइपुग्न दुई घन्टा पैदल हिँड्नुपर्थ्यो । बस चलेपछि आधा घन्टामै आइन्छ । ‘बचेको समय पढाइमा खर्चेको छु । बस चल्न थालेपछि धेरै सजिलो भएको छ,’ उनले भने । मनहवाबाट स्कुल आउन कक्षा १० की निशा भण्डारीलाई दुई घन्टा पैदल हिँड्नुपर्थ्यो । आउँदा/जाँदा दैनिक चार घन्टाको हिंडाइले थकाइ लागेर पढ्न सकिंदैनथ्यो, अहिले धेरै सहज भएको उनले बताइन् ।


‘ऋण तिर्न र अर्को बस थप्न प्रदेश सांसदसँग बजेट माग गरेका छौं, दिन्छौं भनेर आश्वासन पाइएको छ,’ प्रअ ज्ञवालीले भने । बस सेवा दिएबापत प्रतिविद्यार्थीबाट मासिक १ हजार २ सय शुल्क उठाउने निर्णय भएको उनले बताए । शुल्क चालकलाई तलब, तेल, मर्मतमा खर्च गरिने उनले बताए । अभिभावकसँग निरन्तर अन्तरक्रिया र शिक्षकसँग पढाउने तरिकाबारे छलफल हुने उनले बताए ।


बोर्डिङ छाडेर भर्ना हुन आएपछि हौसला र थप जिम्मेवारी थपिएको उनले बताए । तम्घासको सिद्धबाबा माविले ३६ सिटवाला एउटा बस सञ्चालन गरेको छ । स्कुल आउजाउ गर्न विद्यार्थीलाई घन्टौं पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?