१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तिलोत्तमामा पुन: नापी

सन्जु पौडेल

रूपन्देही — तिलोत्तमा नगरपालिकाले नगरभित्रका जग्गाको पुन: नापी अभियान सुरु गरेको छ । तिलोत्तमा-१५ मा नापी प्वाइन्ट पत्ता लगाएर धमाधम काम भइरहेको हो । ०२७ सालयता यस क्षेत्रमा जग्गा नापी ठप्प थियो । 

तिलोत्तमामा पुन: नापी

मन्त्रालयको स्वीकृति र विभागको समन्वयमा नापी सुरु गरेको तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले बताए । ‘भोट माग्दा गरेका वाचा पूरा गर्न यो प्रक्रिया सुरु गरेका हौं,’ उनले भने, ‘यसमा नागरिकको सक्रियता आवश्यक छ ।’ बजेट धेरै खर्च हुने भए पनि

नापी पूरा गरिने उनले बताए ।


‘संघीय सरकारकै नीतिमा पुन: नापी गर्ने समावेश थियो,’ उनले भने, ‘आन्तरिक तयारी र कर्मचारी सरुवाले गर्दा काम ढिलो सुरु भयो, अब निरन्तर चल्नेछ ।’ नापीका लागि वडादेखि टोलस्तरीय समिति गठन गरेर काम गरिने उनले बताए ।


नगरको न्यायिक समितिमा अन्यभन्दा जग्गा खिचलोका मुद्दा धेरै आउने गरेका छन् । पुन: नापीले यस्ता मुद्दा निराकरण हुने नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । ‘नापी भएपछि थोरै जग्गा पनि तलमाथि नभई सम्बन्धित व्यक्तिले पाउनेछन्,’ उनले भनिन्, ‘अहिलेसम्म जोतभोग भइरहेका जग्गा सार्वजनिक भएमा सरकारको अधिनमा ल्याउन रोकावट हुनेछैन ।’


नगरपालिकाले पुन: नापीका लागि ५० लाख रुपैयाँ छुटयाएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । ‘नापीमा खटिने कर्मचारीलाई विभागले तीनमहिने जीआईएस संचालन तालिम दिइरहेको छ,’ उनले भने, ‘नापी भएर सबैले लालपुर्जा पाएपछि विवाद समाधान हुन्छ ।’


सार्वजनिक जग्गामा जोतभोग गर्ने प्रचलन हट्नुका साथै उक्त जग्गाको सरकारले उचित प्रयोग गर्ने उनले जनाए । जग्गा प्रशासनमा रहेका झन्झटिला प्रक्रिया मेटाउन यसले सहयोग गर्ने समेत उनले बताए । यस कामका लागि आवश्यक सामग्री र कर्मचारीले गरेको अतिरिक्त कामका आधारमा सरकारकै नीतिअनुरूप भत्ता दिन नगरपालिका

तयार रहेको उनले बताए ।


बिहान ६ बजेदेखि फिल्डमा

कर्मचारी खटिने भएकाले स्थानीयको सहयोग जरुरी रहने जिल्ला नापी कार्यालय प्रमुख अजित कुँवरले जानकारी दिए । ‘डिजिटल म्यापिङ प्रविधिबाट नापी गरिनेछ,’ उनले भने, ‘शतप्रतिशत सही नापेर जग्गा अनुसारको लालपुर्जा वितरण गर्नेछौं ।’


एउटा क्षेत्रको प्वाइन्ट निर्धारण गरी सुरु गरिएको काम नयाँ आर्थिक वर्षमा थप कर्मचारी परिचालन गरी हरेक प्वाइन्टबाट पूरा

गरिने उनले जानकारी दिए ।


जनताको माग सम्बोधनका लागि नगरपालिकाले चालेको कदम सराहनीय भएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले बताए । ‘जग्गाको खिचलोले बोलीचाली बाराबार हुन्छ,’ उनले भने, ‘सार्वजनिक कुला, बाटा मिचेर जोतभोग गरेकाले आफ्नो जग्गा कति हो भन्ने थाहा पाउन जरुरी छ ।’


सामान्य कुरामा विवाद सिर्जना गर्ने र अरूको कुरा नसुन्ने प्रवृत्ति पुन: नापी प्रक्रियाले हटाउने तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले बताए । ‘नगरको राम्रो काम हो,’ उनले भने, ‘सरकारको जग्गा भोगचलन गरेका व्यक्तिले अब हस्तान्तरणमा सहयोग गर्नुपर्छ ।’


प्रकाशित : जेष्ठ ८, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?