कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खरमुक्त घर अभियान

रूपा गहतराज

नेपालगन्ज — संघीय सरकारले बाँकेका गरिब तथा विपन्न वर्गका लागि ‘खरमुक्त घर’ अभियान सुरु गर्ने भएको छ । त्यसका लागि १३ करोड ५० रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सुरक्षित नागरिक आवास समन्वय समिति गठन गरिएको छ । 

‘जिल्लामा २ हजार ७ सय सुरक्षित नागरिक आवासका लागि बजेट छुट्याइएको छ,’ सघीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर होमनाथ भुसालले भने, ‘उक्त बजेट अनुसार सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा रहेको समितिले काम सुरु गरेको हो ।’


उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा १ हजार ४ सय घरलाई प्रतिघर ५० हजार रुपैयाँका दरले सहयोग गर्न लागिएको छ । डुडुवा गाउँपालिकामा ७ सय, जानकी गाउँपालिकामा ३ सय र नरैनापुर गाउँपालिकामा ३ सय घरका लागि सरकारले बजेट छुट्याएको छ ।


‘खरका छाना भएका घरलाई सुरक्षित बनाउन टिन उपलब्ध गराउने अभियान हो,’ उनले भने, ‘आगलागीको जोखिमबाट सिंगो बस्ती जोखिममा पर्दै गएपछि सरकारले यस खालको योजना अघि सारेको हो ।’


खरमुक्त घरका लागि छनोट प्रक्रियासमेत सुरु भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागले बाँकेसँगै बर्दियाका ३ सय ५० घरलाई खरमुक्त बनाउनेछ । जिल्लाको बढैयातालमा १ सय र गुलरिया नगरपालिकामा २ सय खरका घरमा टिनका लागि अनुदान दिइने इन्जिनियर भुसालले बताए ।


‘वडामा आवेदन परेपछि आर्थिक रूपमा कमजोरलाई प्राथमिकतामा राखेर अनुदान दिइनेछ,’ उनले भने । छनोट भएका स्थानीय तहका वडामा २५ देखि १ सय ४० वटा घरसम्म योजनामा समेटिने उनले बताए ।


‘वडाले स्थानीय तह र स्थानीय तहले समितिमा पठाएपछि अनुदान दिने क्रम सुरु हुनेछ,’ उनले भने । सरकारले प्रतिघर टिन लगाउनका लागि ५० हजार रुपैयाँ नगद सहयोग गर्नेछ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?