जिल्लाभर एउटा दमकल

कान्तिपुर संवाददाता

नेपालगन्ज — हावाहुरी र सुक्खा मौसम सुरु भएपछि जिल्लामा आगलागीका घटना बढेका छन् । गत वर्ष बाँकेमा ६२ वटा आगलागीका घटना भए । ती सबै ठाउँमा आगो निभाउन यहाँ रहेको एउटा दमकल (वारुणयन्त्र) खटिएको थियो । 

एकैपटक दुई वा त्यसभन्दा बढी क्षेत्रमा आगो लागेमा यहाँका स्थानीय तहलाई जिल्ला बाहिरबाट दमकल बोलाउनुपर्ने वाध्यता छ । नेपालगन्ज उपमहानगरपालिकाको वारुणयन्त्र शाखाका निमित्त इन्चार्ज नरेन्द्र सिंहले वर्षको सुरुआतदेखि आगलागीका घटना बढेको बताए ।

‘वैशाखमा मात्र २१ आगालागीका घटना भए,’ उनले भने, ‘गत वर्षको तुलनामा आगलागीका घटना बढै गएका छन् ।’ गत वर्ष वैशाखमा ६ वटा आगलागीका घटना भएका थिए । कर्मचारीका अनुसार एउटै दमकलले ठूलो आगो नियन्त्रणमा लिन सक्दैन । कतिपय स्थानमा दमकल पानी भर्न जाँदा नियन्त्रणमा आइसकेको आगो पुन: दन्किने गरेको छ ।

उपमहानगरपालिकामा घना बस्ती र व्यावसायिक क्षेत्र छन् । यहँँ प्रत्येक वर्ष आगलागीका घटना बढै गएको पाइन्छ । त्यसलाई नियन्त्रण गर्नका लागि एउटा मात्र दमकल रहेको छ ।

उपमहानगरपालिकामा रहेको दमकल नेपालगन्ज मात्र नभई बाँकेका कुनै पनि ठाउँ र कहिलेकाहीं अन्य जिल्ला र माग भए सीमावर्ती भारतीय क्षेत्रमा समेत पुग्ने गरेको छ । दमकललाई २४ घन्टा तयारी अवस्थामा राख्ने गरिएको छ ।

चालक आया सिंहले उपमहानगरमा दमकलमा पानी भर्न टयांकीको व्यवस्था रहेको बताए । तर, आगलागी भएको ठाउँमा पानीको स्रोत नभेटिंदा समस्या हुने गरेको उनले सुनाए । ‘यहाँ त पानीका लागि समस्या छैन, तत्काल आएर पानी भर्न सकिन्छ,’ उनले भने, ‘पानीका स्रोत नभएका ठाउँमा भने समस्या हुन्छ ।’ दुई दशकअघि नेपालगन्ज उपमहानगरपालिकाले सहरमा आगलागीका घटना भएमा पानीको उपलब्धका लागि विभिन्न ठाउँमा फायर हाइटे«न्च राखेको थियो ।

अहिले कतिपय फायर हाइटे«न्च हराइसकेका छन् । कतिपय सडक विस्तारका क्रममा उखेलेर फालिएका छन् । सुर्खेत रोड विस्तारका क्रममा सडक छेउ रहेका फायर हाइट्रेन्च उखेलिए पनि तिनलाई पुन:स्थापित गरिएको छैन ।

जसले गर्दा आगलागीका घटना हुँदा पानीको व्यवस्था गर्न समस्या हुने गरेको छ । उपमहानगरपालिकाले वारुण यन्त्रका लागि नगर भवनसमेत हेरचाहको जिम्मेवारी सम्हाल्ने गरी आठ जना कर्मचारी व्यवस्था गरेको छ ।

–रूपा गहतराज

प्रकाशित : जेष्ठ ७, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

विपद् व्यवस्थापनमा समन्वय अभाव

दीपक परियार

लेखनाथ — बाढी र पहिरोबाट नेपालमा जति मानवीय क्षति हुन्छ, त्यति नै क्षति भूकम्पबाट हुन्छ । भूकम्प प्रविधि राष्ट्रिय समाजका अनुसार वार्षिक २ सय ७ जनाको भूकम्पका कारण मृत्यु हुन्छ ।

नेपाल भूकम्पको उच्च जोखिममा रहेको क्षेत्र भएकोले आगामी दिन अझै बढी धनजनको क्षति हुन सक्ने अनुमान गरिएको छ । आपसी समन्वय नहुँदा क्षतिमा बढोत्तरी भएको सरोकारवालले बताएका छन् ।

विपद प्रतिकार्य अभ्यास तथा अनुभव आदानप्रदानसम्बन्धी अन्तर्राष्ट्रिय तालिममा समन्वय अभावमा क्षति बढ्ने चिन्ता व्यक्त गरिएको छ । नेपाल सेना र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमान्डको संयुक्त आयोजनामा आइतबारदेखि पोखरामा तालिम सुरु भएको हो ।

तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पर्याप्त जनचेतना र तयारीको अभावमा विपद् व्यवस्थान चुनौतीका रूपमा उभिएको बताए । विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐन, राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचाअनुसारको संरचना, प्रक्रिया र संयन्त्र बनाउने तयारी प्रदेश सरकारको रहेको उल्लेख गरे ।

‘संयुक्त अभ्यासले विपद् प्रतिकार्य तथा व्यवस्थापनमा प्रदेशको संरचना, प्रक्रिया र क्षमताको मूल्यांकन गर्न सहयोग पुग्नेछ,’ उनले भने, ‘विपद् र विपद्सम्बन्धी ज्ञान अभिवृद्धि गर्छ । सरोकारवालाबीचको बुझाइमा एकरूपता ल्याउँछ ।’

गण्डकीमा मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशस्तरीय विपद् व्यवस्थापन समिति र त्यसलाई सहयोग पु¥याउने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन कार्यकारी समिति छ ।

जिल्ला र स्थानीय तह सम्भावित विपद्सँग जुध्न तयारी अवस्थामा रहेको उनको दाबी छ । प्रदेश सरकारले विपद् कोषमा हरेक वर्ष १ करोड रुपैयाँ छुट्याएको जानकारी उनले दिए । विपद् प्रतिकार्य र व्यवस्थापनमा प्रदेशको आत्मविश्वास बढाउन तालिमले सहयोग पुर्‌याउने उनको आशा छ ।

नेपाल सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले विपद् परेका बेला मानवीय सेवा गर्नका लागि आवश्यक छलफल गर्न अभ्यास तालिमको आयोजना गरिएको बताए । तालिमले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, स्रोत तथा साधन परिचालन कार्यक्रमलाई प्रभावकारी बनाउन सहज बनाउने उनले जनाए ।

नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जितबहादुर गुरुङले मुख्य समस्या सरोकारवालबीचको समन्वय नै भएको बताए । ‘विपद् व्यवस्थापनमा हामी धेरै सरोकारवाला छौं,’ उनले भने, ‘तर समन्वयकारी भूमिका हुन सकेको छैन । त्यसका लागि संयुक्त अभ्यास जरुरी छ ।’ तालिमले संघ, प्रदेश र स्थानीय तहको क्षमता विकासमा सहयोग पु¥याउने उनी बताउँछन् । यसअघिका संयुक्त तालिमका सिकाइले २०७२ को भूकम्पमा सहज भएको अनुभव उनले सुनाए ।

अमेरिकी दूतावासअन्तर्गत सुरक्षा सहयोग कार्यालय प्रमुख जोनाथन सोयरले विपद् व्यवस्थापनमा प्रदेशको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएकोले यसपल्ट काठमाडौं बाहिर अभ्यास गरेको बताए । विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय अभ्यासको अनुभव आदानप्रदानले एकअर्काबाट सिक्न मद्दत पुग्ने उनले जनाए ।

तालिममा नेपालसहित १३ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत प्रतिनिधिको सहभागिता छ । यो तालिम प्रदेशस्तरमा भएको पहिलोपल्ट हो । ८ दिनसम्म चल्ने तालिममा नेपाल, अमेरिका, थाइल्यान्ड, भारत, चीन, मंगोलिया, श्रीलंका, बंगलादेश, क्यानडालगायत देशका सेनाको सहभागिता छ । कार्यक्रममा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिसहित २ सय २० सहभागी छन् ।

तालिमको पहिलो र दोस्रो दिन विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । तेस्रो र चौथो दिन सहभागीलाई १० समूहमा विभाजन गरी सामूहिक छलफलमा सहभागी गराइन्छ । पाँचौं दिन पोखराका पर्यटकीय स्थलको अवलोकन, विदेशी र नेपाली सेनाबीच फेवातालमा डुंगा दौड प्रतियोगितालगायत गतिविधि छन् । छैटौं र सातौं दिन विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास हुनेछ ।

तालिममा पोखरा नजिकै भूकम्प आएर १९ हजारको मृत्यु भएको र १ लाख ६४ हजार घरमा क्षति पुगेको काल्पनिक घटना सिर्जना गरी खोज, उद्धार र राहत कार्यक्रमबारे व्यावहारिक अभ्यास हुने जनाइएको छ । बाढीले बगाएको हेलिकप्टर र जमिनबाट उद्धार, सडक र हवाई दुर्घटनामा परेकाको उद्धार, गाडी र हेलिकप्टरबाट राहत सामग्री वितरण, सेती खोँचमा डोरीबाट उद्धार, आगलागीबाट उद्धारलगायत अभ्यास तालिमका क्रममा हुनेछन् ।

पोखराका विभिन्न स्थानमा हुने यो अभ्यासमा विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धार कार्यमा संलग्न संस्था सहभागी हुनेछन् । तालिमको यो पाँचौं संस्करण हो । यसअघि सन् २०११, २०१३, २०१५ र २०१८ मा पनि तालिम भइसकेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्