हेलिकोप्टरमै जन्मियो मृत शिशु (अपडेट)

हरि गौतम

रुकुम पूर्व — तीन दिनदेखि व्यथाले सुत्केरी हुन नसकेर हेलिकोप्टरबाट उद्धार गरिएकी महिलाले हेलिकोप्टरमै मृत शिशु जन्माएकी छिन् ।  

पुथाउत्तगंगा गाउँपालिका-८, चारगाउँकी १६ वर्षीया मिलना मल्ललाई व्यथा लागेको लामो समयसम्म बच्चा नजन्मेपछि हेलिकोप्टर मार्फत उद्दार गरिएको थियो । हेलिकोप्टरमै मरेको बच्चा जन्मेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् ।


हेलिकोप्टर दाङ घोराहीको आसपास पुगेको बेला मरेको बच्चा जन्मेको उपाध्यक्ष मल्लले बताइन् । सुत्केरी र उनका आफन्तलाई हेलिकोप्टरले नेपालगञ्ज विमान स्थलमा छाडेको थियो । सुत्केरीको अवस्था सामान्य नै रहेको र आवश्यक उपचारको लागि अस्पताल लैजाने तयारी गरिरहेको उपाध्यक्ष मल्लले बताइन् ।


सुत्केरी व्यथा लागेको लामो समयसम्म बच्चा नजन्मेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार गरिएको थियो ।



......................................

तीन दिनदेखि व्यथा लागेर पनि सुत्केरी हुन नसकेकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका-८ चारगाउँकी १६ वर्षीया मलिना मल्ललाई सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।


व्यथा लागेको तीनदिनसम्म पनि बच्चा नजन्मेपछि आफन्तले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए ।

व्यथाको लागेको तीनदिन भएको खबर आएपछि हेलिकोप्टर मगाउने पहल गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए । 'बिहीबार दिउँसो १२ बजे मात्रै हामीलाई खबर आयो, लगत्तै गृह र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कोर्डिनेट गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार गरियो' निमित्त प्रजिअ साहले भने । उनलाई सासु, श्रीमानसहित हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्‍याइएको उनले बताए ।

तीनदिनअघि सुत्केरी व्यथा सुरु भएपछि उनीहरु स्थानीय स्वास्थ्य चौकीमा गएका थिए । बच्चा नजन्मेपछि स्वास्थकर्मीले पनि अन्यत्रै लैजान सुझाव दिएका थिए । एकसाता अघि मलिनाले गाउँमै आयोजना गरिएको स्वास्थ्य शिविमा गर्भ जाँच गराएकी थिइन् ।

गर्भ जाँचको क्रममा डाक्टरले पेटको बच्चा उल्टो भएकाले सुविधा सम्पन्न ठाउँमा लैजान सुझाव दिएका थिए । आर्थिक अभाव वा अन्य कुनै कारणले उनीहरु घरमै बस्दा समस्या आइपरेको निमित्त प्रजिअ साहले बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?