कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

इन्टरनेटबाटै महिला ‘बेचबिखन’

फेसबुक, इमो, भाइबार, ह्वाट्स अप, म्यासेन्जर जस्ता सामाजिक सञ्जालमार्फत परिचय भएका मानिसकै विश्वासमा जोखिम मोल्दै महिला
मधु शाही

बाँके — दुबईमा कार्यरत आफन्तले सामाजिक सन्जाल इमोमा फोन गरे । वैदेशिक रोजगारमा आउने भए राम्रो अवसर रहेको भन्दै प्रलोभन देखाए । भारतमा चिनेको मान्छे रहेको र उसैले दुबई आउन मद्दत गर्ने जानकारी दिए ।

इन्टरनेटबाटै महिला ‘बेचबिखन’

कुराकानीका लागि इमो नम्बर उलब्ध गराए । त्यसपछि यहाँका दुई जना महिलाले इमोको माध्यमबाट कुराकानी सुरु गरे । दुबई उडने योजना बनाएर भारत जान तयार भए । यहाँस्थित रुपैडिया नाका हुँदै जाने क्रममा उनीहरूलाई माइती नेपालले उद्धार गरेको छ ।

माइती नेपालसमक्ष रुपैडियामा किनमेल गर्न जान लागेको बहाना गरेका थिए । माइती नेपालका कर्मचारी र प्रहरीले विश्वास गरेनन् । बढी नै केरकार गरेपछि जोखिमयुक्त यात्रा गर्न लागेको खुल्यो र सिमानाबाटै फिर्ता भए ।

गत वर्ष मंसिरमा विभिन्न जिल्लाका ४० जना महिलालाई मानव तस्करको कब्जाबाट उद्धार गरिएको थियो । उनीहरूले इमोमार्फत तस्करको सम्पर्कमा आएको बताएका थिए । एकअर्कालाई चिन्दै नचिने पनि इन्टरनेटमार्फत सम्पर्क बढाएका थिए ।

पछिल्लो समय मानव तस्करीमा इन्टरनेटले मुख्य भूमिका खेलिरहेको छ । फेसबुक, इमो, भाइवर, ह्वाट्स अप, म्यासेन्जर मानव बेचबिखनका गतिलो माध्यम बनिरहेका छन् । भोजपुर घर भएकी एक युवतीले फेसबुकमार्फत एक जना केटासँग सम्पर्क गरिन् । कुरा गर्दा गर्दै उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो । भिडियो कल हुन थाल्यो ।

भारतमा बस्ने ती युवकले युवतीलाई ‘तिमीले धेरै दुःख पायौ, मसँग आऊ’ भन्दै बोलाए । विश्वास गरेर युवती भारततर्फ लागिन् । जोखिमपूर्ण यात्राको आशंकामा नेपालगन्ज सीमामा प्रहरीले उनलाई रोक्यो ।

प्रविधिको प्रयोग गरेर अहिले सजिलै तस्करहरूले मानव बेचबिखनको प्रयास गरिरहेको पाइन्छ । डोल्पा घर भएकी एक युवतीको मोबाइलमा मिस कल आयो । पहिलोपटक उनले ‘मैले चिनिनँ’ भन्दै राखिन् । अर्कोपटक फेरि त्यही नम्बरबाट फोन आयो । नचिने पनि बोलौं र चिनजान गरौं न भन्दै केटाले वार्ता अघि बढाउन खोज्यो ।

बिस्तारै उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो । परिवारलाई जानकारी नदिई भारततर्फ जाने क्रममा उनीहरू समातिए । त्यस्तै, जागिर खोज्ने क्रममा इन्टरनेटमाथि विश्वास गर्दा काठमाडौंकी एक युवतीले धोका पाइन् । स्नातक तह अध्ययनरत उनी रोजगारको खोजीमा भौंतारिएकी थिइन् ।

इन्टरनेटमा वेबसाइड सर्च गर्दा उनले भारतीय वेबसाइडमा जागिरको भ्याकेन्सी खुलेको पत्ता लगाइन् । त्यही वेबसाइडको लोकेसनमा उनी भारत पुगिन् । तर, त्यहाँ केही थिएन । फेक वेबसाइड थियो । भारतमा अलपत्र परेकी उनलाई पछि उद्धार गरेर काठमाडौं फिर्ता गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए ।


पछिल्लो समय मानव तस्करका अनेक रूप देखा पर्न थालेका छन् । खुला सिमाना भएकाले तरकारी किन्ने, अस्पताल जाने र पढ्न जाने बहानामा सजिलै मानव तस्करी हुने सम्भावना बढो छ । वैदेशिक रोजगारको आडमा मानव तस्करसँगै यहाँ खुला सिमानामा भारततर्फ उपचार गर्न जान्छु भन्दै बोर्डर पार गर्ने खतरा पछिल्लो अवस्थामा देखापरेको संयोजक कोइरालाले बताए । ‘पेट दुख्यो उपचार गर्न जान्छु भन्दै सीमा पार गर्नेहरू पनि छन्,’ उनले भने, ‘यस्तो बेला हामी धर्मसंकटमा पर्छौं । वयान र हुलिया हेर्दा शंका लागे रोकिहाल्छौं ।’


उनका अनुसार मानव तस्करले इन्टरनेटलाई धारिलो हतियार बनाएका छन् । त्यसबाट पढेलेखेका समेत झुक्किएर बोर्डर पार गर्न आएका छन् । पहिला प्रत्यक्ष भेटेर नाटकीय बिहे गरेर मानव तस्कर गर्ने दलाल थिए भने अहिले सामाजिक सन्जालजस्ता भर्चुअल संसारमा सम्बन्ध गाँसेर युवतीको मन जित्ने मानव तस्कर बढेका छन् । सन् २०१८ मा नेपालगन्ज नाका हुँदै भारत जाने क्रममा ९ सय २० जनालाई जोखिमपूर्ण यात्राको शंकामा माइती नेपालले फिर्ता गरेको छ ।


त्यस्तै, ८२ जना भारत, साउदी र कुवेतमा मानव बेचबिखनको चंगुलमा फसेकालाई उद्धार गरेको तथ्यांक छ । बढो प्रविधिले मानव तस्करलाई थप सहज बनाउँदै गएको र यसमा व्यक्ति आफैं सचेत हुनुपर्ने अवस्था आएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?