कालीगण्डकी करिडोरमा कलोपत्रे

माधव अर्याल

रामपुर, पाल्पा — कालीगण्डकी करिडोर अन्तर्गत पीपलडाँडा–गैडाकोट १ सय ३० किलोमिटर खण्डमा धमाधम कालोपत्रे भइरहेको छ  । अहिले बेस तयार हुँदैछ  ।

नाली निर्माण, सडक चौडा, रिटेनिङ वाललगायतका काम भइरहेका छन् । यस खण्डको ठेकेदार भारतको ईकेके इन्फ्रास्टक्चर लिमिटेडले कामलाई तीव्रता दिएको जनाएको छ ।


उक्त कम्पनीले साढे चार अर्ब रुपैयाँमा पीपलडाँडादेखि गैडाकोटसम्म कालोपत्रेको ठेक्का लिएको हो । कम्पनीका आयोजना व्यवस्थापक धर्मध्वज कुँवरले पीपलडाँडा–रामपुर, रामपुर–डेढगाउँ, डेढगाउँ–बुलिङटार र बुलिङटार–गैडाकोट गरी चार भागमा काम भइरहेको बताए ।

उनका अनुसार ३ नोभेम्बर २०१८ मा काम गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार २०२१ डिसेम्बरसम्म काम सक्नुपर्छ । कम्पनीमार्फतका विभिन्न पेटी ठेकेदारले बीचबीचमा नाली निर्माण, रिटेनिङ वाल लगाउने काम लिएका छन् । ‘नाली निर्माण, रिटेनिङ वाल, सडक चौडा गर्ने काम भइरहेको छ,’ उनले भने, ‘रामपुर, भलायटार, बुलिङटार र गैडाकोटमा साइट अफिस राखेर हेरचाह भइरहेको छ ।’


चौडा गर्ने क्रममा घर, विद्युत् पोल र रुखका समस्या बढी छन् । कालीगण्डकी करिडोर (गैडाकोट राम्दी मालढुंगा सडक योजना) योजना कार्यालय बर्तुङमार्फत यसको अनुगमन भइरहेको छ । कालीगण्डकी करिडोरका योजना प्रमुख नरेन्द्र सुवेदीले कामले तीव्रता पाएको जनाए ।

‘सानातिना समस्याबाहेक अवरोध छैन,’ उनले भने, ‘धमाधम काम भइरहेको छ ।’ यसको १५ जना प्राविधिकले रेखदेख गरिरहेका छन् । अहिलेसम्म चार प्रतिशत काम भएको छ । पीपलडाँडादेखि गैडाकोटसम्म कालीगण्डकी करिडोर अन्तर्गत २२ वटा पुल निर्माण भइरहेका छन् ।

‘३ दशमलव ५ प्रतिशत काम गर्नुपर्ने उल्लेख भए पनि उसले चार प्रतिशत काम सकेको छ,’ योजना प्रमुख सुवेदीले भने, ‘सन्तोषजनक काम भइरहेको छ । अहिलेसम्म निर्माण व्यवसायीलाई दोष लगाउने ठाउँ देखिएको छैन ।’ उनले तोकिएको प्रतिशतभन्दा केही बढी नै काम गरेको बताए । यस क्षेत्रमा निर्माण भएका पुल समयमा नसकिएको स्थानीयले गुनासो गरेका छन् ।


राम्दी–रिडी ट्र्याक खुलेन
कालीगण्डकी करिडोर अन्तर्गतको राम्दी–रिडी सडक खण्डमा भने अझै ट्र्याक खुलेको छैन । सात वर्षअघि नै बहुवर्षीय योजना अनुसार ट्र्याक खोल्न रकम विनियोजन भएकाले तीन वर्षभित्र सबै काम पूरा हुनुपर्नेमा सात वर्षसम्म काम सकिएको छैन । राम्दीदेखि अर्गलीसम्म ट्र्याक खुलेको क्षेत्रमा समेत सवारी साधन चल्न मुस्किल हुने अवस्थामा सडक पुगेको छ । सडक निर्माणको काममा भएको ढिलाइले पहिला खनेका सडकसमेत अहिले पुनः खन्नुपर्ने अवस्थामा पुगेका छन् ।


सुरुमा ट्र्याक खोल्दा जनसहभागितामा आधारित सडक निर्माण कार्यक्रममा उत्साही भएर श्रमदानमा स्थानीय सहभागी भएकाले छिटो निर्माण भएको थियो । तीन/चार वर्षसम्म बजेट विनियोजन नहुँदा स्थानीय बासिन्दा निरास भएका थिए । उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर) अन्तर्गत अर्गली–रामपुर–गैडाकोट १ सय ३२, रिडी–गुल्मी–बाग्लुङ ८८ किलोमिटर, बाग्लुङ–बेनी–जोमसोम ८७, जोमसोम–कोरला १ सय ५ किलोमिटर पर्छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?