कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२५ वर्षदेखि साङ्लोमा

गिरुप्रसाद भण्डारी

चुजा, प्यूठान — मानसिक बिरामी प्यूठान मल्लरानी गाउँपालिका–१, चुजा लुक्काका ४१ वर्षीय मेघबहादुर केसीलाई २५ वर्षदेखि परिवारले साङलाले बाँधेर राखेका छन् । स्थानीय विद्यालयमा ९ कक्षामा अध्ययन गर्दागर्दै ०५१ सालमा बिरामी भएपछि पढाइ छुटाएर घरमै बाँधेर राख्नुपरेको बुबा डोरबहादुर केसीले बताए । 

२५ वर्षदेखि साङ्लोमा

‘बिरामी भएको सुरुका केही वर्ष उपचारका लागि विभिन्न ठाउँमा डुलाएँ । निको भएन,’ केसीले भने, ‘घरमै धामीझाँक्री पनि धेरैपटक बसालें । केही नलागेपछि बाँधेर राख्नुपरेको हो ।’ छोरो बिरामी भएपछि भारतमा नोकरी गरेर कमाएको रकम खर्च गरेर भारतको गोरखपुर, अमृतसरसम्म पुर्‍याएर उपचार गराए पनि निको नभएको उनले बताए । ‘बिरामी नहुँदै शिक्षकले छोरो पढाइमा धेरै राम्रो छ भन्थे,’ केसीले भने, ‘हामीले पनि छोराले पढेर बुढेसकालमा पाल्ला भन्ने आशा गरेका थियौं । अहिले बाँधेर राख्नु परेको छ ।’


छोरालाई वर्षौंसम्म पशुझैं बाँधेर पाल्नुपर्दा मनमा धेरै पीडा हुने उनले बताए । ‘छोरो निको होला भन्ने आशा गर्दा गर्दै उमेरले नेटो काटिसक्यो,’ ७० वर्षीय केसीले भने, ‘२५ वर्ष बित्यो । छोरो निकै भएन ।’ साङलो फुकाएपछि घरबाट भाग्ने र देखेका मान्छेलाई ढुंगाले हान्ने, होहल्ला गर्नेजस्ता क्रियाकलाप गर्ने भएकाले दुवै खुट्टालाई साङलाले बाँधेर राख्नुपरेको उनले बताए ।


गत वर्ष स्थानीय सामाजिक अगुवाको पहलमा काठमाडौंका डाक्टरसँग फोनमा सल्लाह भए अनुसार औषधि मगाएर छोरालाई खुवाएको आमा दीपाले बताइन् । ‘हामी त डाक्टरले लेखेर दिए अनुसारको औषधि खुवाउन पनि सक्दैनौं,’ उनले भनिन्, ‘त्यसका लागि पनि छिमेकी गुहार्नु पर्छ ।’ दुवै खुट्टा बाँधिएकाले मेघबहादुरले दिसा–पिसाब कोठामै गर्ने आमा दीपाले बताइन् । ‘४१ वर्षको उमेर हुँदासम्म छोराको दिसा–पिसाब सोहर्नुपरेको छ,’ उनले भनिन्, ‘सन्तानको मायाले सताउँछ । हामी मरेपछि उसलाई कसले स्याहार्ला भन्ने चिन्ता लागिरहन्छ ।’


छोरालाई खाना दिंदा धेरैपटक घचेटेर लडाएको आमाले बताइन् । केसी दम्पतीका तीन भाइ छोरामध्ये मेघबहादुर माहिलो हुन् । ‘अरू दुई भाइले आ–आफ्नो व्यवस्था गरेका छन्,’ दीपाले भनिन, ‘हामीले यसैलाई कुरेर बसेका छौं ।’ छोराको उपचारका लागि धेरैलाई गुहारेको उनले बताइन् । ‘कसैको दया लागेर छोराको उपचार गर्न सहयोग गरे हुन्थ्यो भन्ने सोचिरहन्छु,’ ६५ वर्षीय आमा दीपाले भनिन्, ‘यो दुर्गमा आएर हामी दुःखीलाई कसले पो सहयोग गर्ला र !’

प्रकाशित : वैशाख ३१, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?