१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

क्षतिग्रस्त जलविद्युत्‌काे पुनर्निर्माण भएन

ऊर्जा प्रवर्द्धन केन्द्रको २ करोड १३ लाख र स्थानीयको श्रमदान गरी झन्डै ४ करोडमा आयोजना बनेको हो ।
हरि गौतम

रुकुम पूर्व — करिब सात महिनाअघि पहिरोले क्षति पुर्‍याएको सिस्ने गाउँपालिका–८ स्थित लघु जलविद्युत्को अहिलेसम्म मर्मत गरिएको छैन । जामाखोलामा रहेको उक्त जलविद्युत्को मुख्य नहर र विद्युत् उत्पादन गृहमा क्षति पुगेको थियो ।

क्षतिग्रस्त जलविद्युत्‌काे पुनर्निर्माण भएन

पहिरोले विद्युत् गृहमा लगिएको पाइप असरल्ल बनाएको र विद्यृत् गृहभित्र मुख्य मेसिनमा हानि पुगेको थियो । ट्रान्सफर्मर र पोलमा समेत क्षति पुगेको र विद्युत् गृह आधा पुरिएको अवस्थामा रहेको छ ।

गत असोज ३० गते बिहान त्यस ठाउँमा पहिरो आएको थियो । पहिरोले क्षति पुर्‍याएको करिब सात महिनाभन्दा बढी भइसक्दा पनि उक्त आयोजनाको पुनर्निर्माण थालिएको छैन । ९० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाबाट ९ सय २६ घरमा विद्युत् सेवा पुगेको थियो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २ करोड १३ लाख र स्थानीयको श्रमदान गरी झन्डै ४ करोड रुपैयाँको लगानीमा उक्त आयोजना निर्माण भएको थियो ।

पहिरोले क्षति पुर्‍याएको लामो समय बितिसक्दा समेत पुनर्निर्माणको काम अघि नबढाइँदा उपझोक्ता आत्रोशित भएका छन् । ठूलो लगानीमा बनेको आयोजनामा क्षति भएको लामो समय भइसक्दा समेत लघु जलविद्युत् आयोजनाको समिति, वडा कार्यालय, गाउँपालिका तथा अन्य कुनै पनि निकाय पुनर्निर्माणमा नलागेको स्थानीय थलवीर पुनले बताए ।

‘हामी प्रत्येक उपभोक्ताले ९०/९० दिनसम्म श्रमदान गरेका छौं । सरकारको ठूलो लगानी भएको छ,’ उनले भने, ‘केही रकम लगानी गर्दा आयोजना बन्ने भए पनि सबै उदासीन छन् ।’ समयमै क्षतिग्रस्त सामग्रीको व्यवस्थापन हुन नसके थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने भए पनि सरोकारवाला निकायको बेवास्तामा आयोजना परेको उनको भनाइ छ ।

वडाध्यक्ष खर्कसिंह थापाले बजेटको व्यवस्था नहुँदा समस्या भइरहेको बताए । विद्युत् गृह अर्को ठाउँमा सार्ने तयारी गरिए पनि बजेटकै अभावले समयमै पुनर्निर्माणको कार्य अघि नबढेको उनको भनाइ छ । विद्युत् आयोजनामा क्षति पुगेपछि वैकल्पिक विद्युत् आपूर्तिमा लाग्दा पनि केही समय त्यसले ढिला भएको वडाध्यक्ष थापाले बताए ।

हाल नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । तर, बिजुली नियमित नहुँदा समस्या भइरहेको गुनासो उपभोक्ताको छ । अब भने उक्त आयोजनाको पुनर्निर्माण थालिने गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको बैठकले आयोजना पुनर्निर्माणका लागि भन्दै ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

असार महिनाभित्रै निर्माण सक्ने गरी उक्त बजेटबाट काम गर्नुपर्ने पुनर्निर्माणका लागि बनेको समितिका अध्यक्ष बिर्खबहादुर बुढामगरले बताए । ४० लाखले मात्रै उक्त आयोजना पुनर्निर्माण गर्न सम्भव नभएको उनले बताए । त्यसभन्दा थप बजेटको व्यवस्थाका लागि पहल गर्न वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको उनले बताए ।

विद्युत् गृह निर्माण, मुख्य मेसिन मर्मत, नहर तथा पाइप लाइन मर्मतको काम गर्नुपर्नेछ । केही पाइप पूर्ण क्षति नभएकाले केही पुरानै पाइप प्रयोग गर्दा पनि ४० लाख बजेट अपुग हुने जनाइएको छ । उक्त आयोजनाबाट सिस्ने गाउँपालिकाका ७ र ८ वडामा विद्युतीकरण भएको थियो ।

साबिकको स्यालापाखा गाविस ०७२ माघ २६ गते देशकै दोस्रो अँध्यारो मुक्त गाविस घोषणा भएको थियो । जामाखोला लघु जलविद्युत् आयोजनासहित अन्य दुई साना आयोजनाको सहयोगमा अँध्यारोमुक्त गाविस घोषणा भएको थियो । अँध्यारोमुक्त यो क्षेत्र ६ महिनायता भने बेलाबेला मात्रै उज्यालिने गरेको छ ।

प्रकाशित : वैशाख १३, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?