नसर्ने रोगका बिरामी बढ्दै

नियमित योग गर्ने, खानपिनलाई व्यवस्थित गर्ने, तनावमुक्त रहने र कुलतबाट टाढा रहे नसर्ने रोगको जोखिम कम
अमृता अनमोल

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेश ५ का १२ जिल्लासहित स्याङजाका समेत गरी करिब हजार बिरामी दैनिक उपचारका लागि आउँछन् । त्यसमध्ये झन्डै ७० प्रतिशत नसर्ने रोगका बिरामी छन् । सघन उफचार कक्षमा ६ बेड छन् । त्यसमा धेरैजसो नसर्ने रोगकै बिरामी छन् ।

व्यक्तिको जीवनशैलीसँग सम्बन्धित तर एकबाट अर्को व्यत्तिमा नसर्ने रोगका बिरामी बढदै गएको उपचारमा संलग्न चिकित्सकले बताए । चिकित्सकका अनुसार नसर्ने रोग अत्यधिक धूमपान, मध्यपान, शारीरिक व्यायाम नगर्ने, प्रदूषण, गलत खानपानले बढाउने लुम्बिनी प्रादेशिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. बद्रीप्रसाद नेपालले बताए । उनका अनुसार पछिल्लो समय सरुवा रोगको जोखिम घट्दै गएको छ । तर, नसर्ने रोगका बिरामी बढदै छन् ।


सरकारले सरुवा रोगलाई प्राथमिकतामा राखे पनि नसर्ने रोगलाई प्राथमिकतामा नराख्दा रोगी बढदै गएको उनले बताए । ‘नियमित योग गर्ने, खानपिनलाई व्यवस्थित गर्ने, तनावमुक्त रहने र कुलतबाट टाढा रहे नसर्ने रोगको जोखिम कम हुन्छ,’ उनले भने, ‘तर, यो सन्देश नागरिकको घरदैलोसम्म पुग्न सकेको छैन ।’


प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले गरेको अध्ययनअनुसार धेरै नागरिक नसर्ने रोगबाट पीडित छन् । बढी देखिएका १२ रोगमध्ये ९ वटा नसर्ने खालका छन् । प्रतिवेदनअनुसार यो प्रदेशमा धेरै मुटुरोगी छन् । दोस्रोमा दम र तेस्रोमा हृदयघात प्रभावित छन् ।

निमोनियाँ, नवजात शिशुमा देखिने रोग र कलेजो, सुगर, किडनीका रोगी पनि धेरै छन् । नवजात शिशुमा हुने समस्याबाहेक अरू सबै रोग बढदो क्रममा छन् । सर्ने रोगमा झाडापखाला चौथोमा र क्षयरोग ११औं स्थानमा छ । यी दुवै रोग घटदो छन् । सातौं स्थानमा रहेको सडक दुर्घटनाका घाइते तथा बिरामी भने बढो छन् ।


सन् २००७ देखि सन् २०१७ सम्म स्वास्थ्य संस्था तथा अस्पतालमा उपचार गर्न आएका बिरामीको संख्या र अवस्था हेरी अध्ययन प्रतिवेदन तयार गरिएको हो । नसर्ने रोगका कारण मृत्यु हुनेमा ६० वर्षभन्दा कम उमेरका मानिस बढी छन् । त्यसमा धेरै निम्न र मध्यम आयस्रोत भएका मानिस छन् । सरकारी स्वास्थ्य संस्थाको बढी ध्यान सर्ने रोगतर्फ हुनु तर नसर्ने रोगप्रति वास्ता नहुनुले पनि रोगीको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ ।


अध्ययन प्रतिवेदनअनुसार प्रदेशका स्वास्थ्य संस्थामा उपचारको सेवा प्रवाह बढाउने गृहकार्य थालिएको छ । सामाजिक विकासमन्क्री सुदर्शन बरालले अब रोग अनुसार जनशत्ति बढाउने र भएकालाई थप तालिम दिएर दक्ष बनाउने काम गर्ने बताए ।

‘नसर्ने रोगको उपचार मात्र होइन, रोग नै लाग्न नदिन पनि सचेतना अपनाउनुपर्ने देखियो,’ उनले भने, ‘यसैले मन्क्रालयका बजेट तथा कार्यत्रममा समेत जनस्वास्थ्य र चेतना प्रवाहलाई प्राथमिकतामा राख्दै छौं ।’ मन्त्रालयले चालु आवबाटै मातहतका आयुर्वेद अस्पतालमा योग, ध्यान र व्यायामलाई प्राथमिकतामा राख्ने गरी काम थाल्न बजेट विनियोजन गरेको छ । अन्य अस्पतालमा पनि चिकित्सकीय परामर्श बढाउने र नागरिकलाई स्वस्थ जीवनशैली सिकाउने शिविर चलाउने मन्त्रालयको योजना छ ।


संघीय सरकारले नसर्ने खालका ८ रोगको उपचारका लागि १ लाख रुपैयाँसम्म अनुदान दिन्छ । प्रदेश सरकारले पनि धेरै समस्या देखिएको एक रोगमा अनुदान दिने तयारी थालेको छ । त्यसलाई आगामी वर्षको बजेटमार्फत बाहिर ल्याउने मन्त्री बरालले बताए । नेपालमा सन् २०१६ मा गरिएको स्वास्थ्य सर्वेक्षणअनुसार ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण भएको छ ।

त्यसमा मुटुरोगबाट ३०, श्वासप्रश्वाससम्बन्धी १०, क्यान्सरजन्य ९ र मधुमेहले ४ प्रतिशत बिरामीको मृत्यु भएको थियो । अन्य नसर्ने रोगबाट मृत्यु हुनेको संख्या करिब १३ प्रतिशत छ ।

प्रकाशित : वैशाख ११, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

फाजिलमा डाक्टर, तलबै पाएनन्

हरि गौतम

रुकुम पूर्व — जिल्ला अस्पताल छैन । स्थानीय तहले १५ शय्याको अस्पताल बनाउन सकेनन् । जिल्ला अस्पताल स्थापना गर्न एक वर्षअघि आएका दुई जना मेडिकल अधिकृत फाजिल (दरबन्दीविहीन) मा छन् । साबिकको जिल्ला जनस्वास्थ्य कार्यालय मातहत काम गर्ने गरी आएका शिशिर पोखरेल र पूर्णबहादुर पुनमगर एक वर्षदेखि फाजिलमा रहेका हुन् ।

गत असारमा साबिक जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएसँगै उनीहरू दरबन्दीविहीन बनेका छन् । स्थानीय, प्रदेश वा संघीय सरकार कुन मातहत रहने प्रस्ट छैन । पोखरेलको दरबन्दी साबिकको उपक्षत्रीय अस्पताल घोराही हो ।

जिल्ला अस्पताल सञ्चालनका लागि यहाँ आएका हुन् । पुन भने छात्रवृत्ति करारमार्फत काम गर्न यहाँ आएका हुन् । उनीहरू दुवैले रुकुमकोट स्वास्थ्य चौकीमा बसेर बिरामीको उपचार गरिरहेका छन् । स्वास्थ्य चौकीमै जिल्ला जनस्वास्थ्य कार्यालय संचालन भइरहेकाले त्यसैमा बसेर काम गरिरहेका हुन् ।


स्वास्थ्य चौकीमा चिकित्सकको दरबन्दी छैन । त्यहीँ पनि उनीहरू त्यहाँ बसेर काम गरिरहेका छन् । ‘हाम्रो दरबन्दी निश्चित भएन,’ चिकित्सक पोखरेलले भने, ‘हामीले कहाँ काम गर्ने हो भनेर लामो समयदेखि अन्योल भइरहेको छ ।’ उनीहरूले कार्यालयविहीनजस्तै भएर बस्नुपरेको दुखेसो गरे । जिल्ला जनस्वास्थ्य खारेज भएपछि जिल्ला अस्पताल बन्ने र त्यसमै काम गर्ने तय भएको थियो । उक्त प्रक्रियाले पनि गति लिन सकेको छैन ।

समायोजनका कारण स्वास्थ्यकर्मीको थप व्यवस्थापन गर्न नसक्दा अस्पताल बनाउने काम पनि ढिला भएको जवाफ प्रदेशको सामाजिक विकास मन्त्रालयले दिने गरेको छ । १ वर्षदेखि स्वास्थ्य चौकीमा बसेर सेवा दिइरहेका चिकित्सक फाजिलमा छन् । उनीहरूले तलबसमेत पाएका छैनन् । गत दसैंसम्मको तलब बुझेका दुवैले त्यसयताको तलब पाएका छैनन् । पोखरेल स्थायी हुन् । पुन करारमा नियुक्ति बुझेर काम गर्न आएका थिए ।


संघीयताका कारण तलब कसले दिने भन्ने पनि अन्योल रहेको उनीहरूले बताए । ‘स्वास्थ्य चौकीमा डाक्टरको दरबन्दी छैन, अस्पताल बनिसकेको छैन । त्यसैले हामीले कताबाट तलब खाने भनेर पनि अन्योल छ । हामी आफैं पनि कसको मातहत हौं भनेर खोज्दै ठिक्क छ,’ डा. पोखरेलले भने । लामो समयदेखि तलबविहीन काम गर्नु परिरहेको डा. पुनले बताए । अन्योलको बीचमा काम गर्न पनि समस्या हुने गरेको उनीहरूको भनाइ छ ।


जिल्ला अस्पताल बनाउने भनेर संघीय सरकारले आवश्यक निर्णय गरेर प्रदेशमा पठाइसकेको छ । तर, प्रदेशले आवश्यक काम भने अघि बढाउन सकेको छैन । गत पुस ९ गते बसेको संघीय मन्त्रिपरिषद् बैठकले जिल्ला अस्पताल स्थापनाका लागि ३१ जनाको कर्मचारी दरबन्दीसमेत टुंगो लगाएको छ ।


सिस्ने गाउँपालिका ५ मा रहेको रुकुमकोट स्वास्थ्य चौकी भएकै ठाउँमा अस्पताल बनाइने भनिएको छ । त्यसका लागि आवश्यक थप जग्गा सिस्ने गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरिसकेको छ । यसअघि स्वास्थ्य चौकीकका नाममा १४ रोपनी जग्गा छ भने सिस्ने गाउँपालिकाले २१ रोपनी जग्गा अस्पताललाई दिएर ३५ रोपनीमा अस्पताल बन्नेछ ।

संघीय मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयनका लागि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा पठाइसकिएको र यसले पनि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्