नेकपाको जिल्ला नेतृत्व चयनप्रति केन्द्रीय सदस्यको आपत्ति 

नेकपाको अध्यक्षमा रोशनबहादुर गाहा मगर
नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा नेकपाको अध्यक्षमा रोशनबहादुर गाहा मगर चयन भएपछि जिल्लाभित्र नेकपाको राजनीति एकाएक तातेको छ । 

नेकपाको जिल्ला नेतृत्व चयनप्रति केन्द्रीय सदस्यको आपत्ति 

नेकपाका शक्तिशाली केन्द्रीय सदस्य तिलक महतको कडा आपत्तिबीच रोशन गाह जिल्ला अध्यक्षमा चयन भएको विषय यहाँको राजनीतिमा अर्थपूर्ण मानिएको छ ।


संघीय सांसद तथा नेकपाका केन्द्रीय सदस्य तिलक महत आफ्ना बलिया प्रतिस्पर्धी रोशन बहादुर गाहालाई पार्टीको जिल्ला अध्यक्षमा ल्याउँदा आफू कमजोर हुने भन्दै माओवादीका कुनै नेतालाई जिल्ला अध्यक्ष बनाउने र आफू जिल्ला इन्चार्ज हुने दाउमा थिए ।


प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निकटमानिने महतको कडा विरोध र असहमतिबीच गाहले पार्टी अध्यक्षको पद खोसेर लिएको भन्दै जिल्लामा चर्चा सुरु भएको छ ।

पछिल्लो समय महत र गाह पानी बाराबारको स्थितिमा छन् ।


गत शनिबार प्रधानमन्त्री केपी ओली कावासोतीमा सरकारी कार्यालयको उद्घाटन समारोहको मञ्चमा बोलाउँदा समेत रोशन गाह, अर्का प्रभावशाली जिल्ला नेता जीवन श्रेष्ठ (नेकपा एमालेका जिल्ला पार्टी सचिव) र अर्का प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठ मञ्चमा नगएर आम कार्यकर्ता बस्ने लहरमा भुइमा राखिएको कुर्चिमा बसेका थिए । ३ जना सांसदलाई मञ्चमा पटक पटक बोलाउदापनि नगएर तल्लो रो मा बसेका थिए ।


प्रधानमन्त्री सहभागी त्यो कार्यक्रममा सांसद महतले नवलपरासीमा भएका अहिले सम्मका सबै विकासका काम आफू एक्लैले गरेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसमा असहमति जनाउँदै ती जिल्ला नेता मञ्चमा नगएका हुन् ।

पछिल्लो राजनीतिमा यहाँका चर्चित नेता तथा पूर्वसांसद जीवन श्रेष्ठ, रोशन गाहा र अर्का प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठ एउटा खेमा रहेका छन् भने तिलक महत एक्लिएका छन् । ती सबै पूर्व एमालेका जिल्ला नेता हुन् ।

पूर्व सांसद र प्रदेशसभा सदस्य समेत रहेका गाहा पूर्व एमालेका जिल्ला अध्यक्ष समेत हुन् । गाहा २०७४ को निर्वाचनमा नवलपुर क्षेत्र नंबर १ ख बाट प्रदेशसभामा निर्वाचित भएका थिए । मतदाता र कार्यकर्ताबीच लोकप्रिय रहेका गाहलाई प्रदेश सभा सदस्य हुँदाहुँदै उनैलाई जिल्ला अध्यक्ष नदिन पार्टी अध्यक्ष केपी ओलि निकट मानिने महत अन्तिमसम्म पनि लागेको पार्टी स्रोतले दाबी गरेको छ ।


स्थानीय तहमा पनि भागबण्डा

आठ वटा स्थानीय तह रहेको नवलपुरमा पूर्व एमालेलाई पाँच अध्यक्ष र पूर्व माओवादीलाई तीन अध्यक्ष दिने सहमति भएको छ ।


पूर्व एमालेले गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका, बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पाउने भएको छ भने पूर्व माओवादीले देवचुली नगरपालिका , मध्यबिन्दू नगरपालिका र हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पाउने भएको छ ।


नेकपाका नेता बालकृष्ण रानाभाटका अनुसार गाउँपालिकाका वडाहरु पूर्व एमालेले ६७ प्रतिशत र पूर्व माओवादीले ३३ प्रतिशत पाउने सहमति भएको छ भने नगरपालिकाका वडाहरुमा पूर्व एमालेले ५७ प्रतिशत र पूर्व माओवादीले ४३ प्रतिशतको आधारमा सहमति भएको छ ।

प्रकाशित : वैशाख ९, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?