वंशजका आधारमा नागरिकता लिने बढे

नवीन पौडेल

परासी — पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयमा केही दिनदेखि सेवाग्राहीको चाप बढेको छ । कार्यालय समयभन्दा १ घण्टाअघि नै सेवाग्राही प्रशासनको गेटमा आएर बस्ने गर्छन् । कर्मचारीका सवारीसाधन मूल गेटभित्र प्रवेश गर्नासाथ सेवाग्राही हुरुरु कार्यालयभित्र पस्छन् । सेवाग्राहीको भीड साबिकको भन्दा ४ गुणासम्म बढेको छ ।

नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा सेवाग्राहीको भीड । तस्बिर : नवीन/कान्तिपुर

सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका अभिभावकलाई वंशजका आधारमा नागरिकता दिन सरकारलाई निर्देशन दिएपछि यहाँ नागरिकता लिनेको भीड बढेको हो । यसअघिको जन्मसिद्ध नागरिकता लिएका अभिभावकका छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिन गृहले पत्राचार गरे पनि सर्वोच्चले नदिन अन्तरिम आदेश गरेको थियो ।

तर, अहिले फेरि जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिनुपर्ने सर्वोच्चकै फैसला आएपछि नागरिकता लिनेको भीड बढेको हो । रामग्राम नगरपालिका–१५ का प्रवीन्द्र पाण्डे २१ वर्षका भए । उनका बुबाको नागरिकता जन्मसिद्ध आधारको छ भने आमाको नागरिकता वंशजको छ । पाण्डेले आफूले वंशजका आधारमा नागरिकता पाउनुपर्ने माग राख्दै आएका थिए । तर, जिल्ला प्रशासन कार्यालयले यसअघि वंशजका आधारमा नागरिकता नपाउने भनेपछि नागरिकता नै बनाएका थिएनन् ।

अहिले सर्वोच्च अदालतको निर्णयपछि उनले पनि वंशजका आधारमा नागरिकता पाउने भएपछि खुसी छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात पेस गरेका छन् । पाण्डेजस्तै पश्चिम नवलपरासीमा भारत र नेपालका नागरिकबीच दुवैतर्फ विवाह गरेकाले वशंजको नागरिकता माग गर्दै प्रशासनमा कागज पेस गर्नेको भीड लाग्न थालेको छ । शुक्रबार मात्रै एक सयभन्दा बढीले त्यस्तो कागजात पेस गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले सर्वोच्च अदालत र गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकताको काम अगाडि बढेको बताए । ‘विभिन्न १४ किसिमका कागजात पेस गरेपछि वास्तविक नागरिकलाई कानुनले तोके अनुसारको नागरिकता लिन कुनै झन्झट छैन,’ उनले भने, ‘निकै भीडभाड भएकाले आवश्यक कागजात माग गर्ने र त्यसलाई अध्ययन गरेर भोलिपल्ट नागरिकता दिने गरिएको छ ।’

लालपुर्जाको प्रमाणपत्र, बुबा–आमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, नाता प्रमाणित, स्थायी बसोवास प्रमाणित र आवश्यक परेमा प्रहरी सर्जमिनसहितका १४ प्रकारका प्रमाणका आधारमा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्ने गरिएको छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काँचुली फेर्दै हर्रेबर्रे

वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा नगरपालिका १०, बर्रेका पुनाराम विकको बारीमा १५/२० घारी केराका बोट छन् । बर्सेनि केरा पाक्छन् । किन्न कोही नआएपछि घरपरिवार र नातेदारकहाँ बाँडेर खान्थे । अहिले उनको घरअगाडि सडक पुगेपछि नपाक्दै ती केराका घारी बोटबाटै बिक्री हुन थालेका छन् । 

गत बुधबार काँचो मर्चे केराको एक घरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका जिल्ला आयोजना एकाइ प्रमुख बलराम मिश्र, ओभरसियर हरि बोहरा र जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी शेषकान्त घिमिरेले २ सय ५० रुपैयाँमा खरिद गरे । ‘अहिले यहाँबाट केरा, लोकल कुखुरा धमाधम बिक्री भएका छन्,’ विकले भने, ‘यही पैसाले घरमा नुन, तेल, चिनी, चियापत्ती र छोराछोरीको पढाइ खर्च पुगेको छ ।’

सहरका व्यवसायी, कर्मचारीले गाउँका उत्पादन मन पराउने भएकाले भाउ पाउन थालेको उनले बताए । ‘गाउँ छाडेर तराई जाने तयारी थियो । बारीमा उत्पादन भएका वस्तु बिक्री हुन थालेपछि अब नजाने सोच बनाएँ,’ उनले भने । एक घरी केरा बेच्दा दुईदेखि ५ सय रुपैयाँसम्म आम्दानी हुने र २ महिनामा ३ घरी केरा बिक्रीबाट नौ सय रुपैयाँ हात परेको उनले सुनाए ।

सन्धिखर्क–गोरुसिंगे खण्डको चक्लाबाट करिब १२ किमि दूरी पार गरेपछि सिद्धाराको हर्रे र बर्रे गाउँमा पुगिन्छ । जिल्लाको दुर्गम गाउँ सिद्धारामा यसअघि हिउँदमा मात्रै गाडी चल्थे । सिद्धारा छिर्ने मूलद्वारमै सडक बिग्रेपछि यातायात सहज थिएन । अहिले सडक बन्दै गरेपछि हर्रे र बर्रेवासीको जीवन स्तर फेरिन थालेको छ । ‘हिउँदको ३/४ महिना मात्रै गाडी चल्थ्यो, अरू बेला हिँडेर चक्ला पुग्न झन्डै ४ घण्टा लाग्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,’ हर्रेका हिमलाल बेल्वासेले भने, ‘यात्राको दूरी छोट्टियो । हाम्रो बारीमा फलेका तरकारी, खसीबोका, कुखुराले मूल्य पाउन थाले ।’ गाउँमा नियमित गाडी चलेपछि यहाँ उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सम्भव भएको उनले बताए ।

हर्रे र बर्रे हुँदै अन्य गाउँमा जान सकिन्छ । जिल्लाको २७ प्रतिशत भूगोल ओगटेको साबिकको सिद्धारा गाविस नयाँ संरचनामा शीतगंगा नगरपालिकाका ३ वडा बनाइएको छ । ‘सिद्धारा छिर्ने मूलद्वारको सडक सुधार भएपछि गाउँको मुहार नै फेरिँदै छ,’ शीतगंगा १० का वडाध्यक्ष हिम्मत पोखरेलले भने, ‘विकासको मेरुदण्ड नै बाटो हो । विकास, उत्पादन, कृषि र पशुपालनले यहाँको रूप फेर्दै छ ।’ बाटो पिच भएपछि बसाइँसराइ गरेर गाउँ छाड्नेको संख्यामा पनि कमी हुने उनले बताए ।

‘अघिल्लो आर्थिक वर्षमा मेरो वडाबाट ४० घरपरिवारले तराईमा बसाइँ सरेका थिए,’ उनले भने, ‘यस वर्षको अहिलेसम्म १८ घरपरिवारले मात्रै गाउँ छाडेका छन् । धेरै गाउँलेले गाउँमै सुविधा पुगेपछि बसाइँ नसर्ने बताएका छन् ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइको कुल २४ करोड ७४ लाख ४९ हजार ९ सय रुपैयाँको लगानीमा यस वर्ष यहाँको ११ किमि सडक निर्माण भइरहेको छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्