एसईई सकेर सिलाइ कक्षामा
बाँके — माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएपछि कोहलपुरकी १६ वर्षीया लक्ष्मी रोकामगर फुर्सदमा छिन् । उनी फुर्सदमा सिलाइ सिक्ने सोच बनाएकी छन् । ‘सीप भएपछि जहाँ पनि काम पाइन्छ,’ उनले भनिन्, ‘आफैं कमाउँदै पढ्ने सोच छ ।’
उनीजस्तै १८ वर्षीया पूजा थारूले पनि सिलाइकटाइ सिकिरहेकी छन् । झोलाबाट कलम, कापी, कैंची, धागो, सियो, इन्चीटेप र कपडाका टुक्रा निकालिन् । ‘मेडम यो लुगा कुन साइजमा काटने ?,’ तालिम कक्षमै उनले प्रश्न गरिन् । कोहलपुरकी पवित्रा सुनारले यिनीहरूलाई सिलाइ प्रशिक्षण दिइरहेकी छन् ।
दैलेखकी १७ वर्षीया विष्णु खत्री सिलाइ पेसा सुरक्षित भएको महसुस गर्छिन् । उनले समाजमा यस्ता थुप्रै महिला देखेकी छन्, जसले सिलाइबाट जीवन गुजारा गरिरहेका छन् । यिनैमध्येकी एक आफूलाई पढाउने पवित्रा सुनारको जीवनीबाट प्रेरित भएको उनले बताइन् । ‘उहाँ एक्लैले सिलाइकटाइबाटै परिवार पाल्नु भएको छ,’ उनले भनिन्, ‘यस्ता थुप्रै महिलाको हिम्मत
देखेर यो क्षेत्र रोजेकी हुँ ।’
सिलाइको कमाल
जन्मथलो सुर्खेत भएकी ३९ वर्षीया पवित्राले सिलाइ पसलसँगै प्रशिक्षण दिंदै आएकी छन् । उनको जीवनकथा सिलाइसँग जोडिएको छ । धेरैले उनीबाट प्रेरित भएर सिलाइ सिक्ने सपना बुनेका छन् । उनले कुनै बेला ६० जना महिलालाई एकसाथ सिलाइकटाइ सिकाइन् । अहिले १६ जना उनको सिलाइ कक्षामा सिक्न आउँछन् । सुर्खेतबाट कोहलपुर आउँदा उनको साथमा एकसरो लुगा र काखमा छोराबाहेक केही थिएन । जीवनभर साथ दिन्छु भन्ने श्रीमान्ले पनि बीचैमा छोडिदिएका थिए ।
उनी एक्लै थिइन् । गाँस र बासका लागि दिदीकहाँ आश्रय लिएकी थिइन् । तर, कतिन्जेल त्यसरी बस्ने ? उनले सुरुका दिनमा जानेको सीप भनेको रक्सी बनाउने थियो । घरमा बनाएको रक्सीले उनलाई खासै साथ दिएन । बल्लतल्ल एउटा बंगुर किन्ने पैसा जुटाइन् । रक्सी बेच्न छाडेर उनले बंगुर पाल्न लागिन् । यसैबीच उनले छिमेकी दिदीबाट सिलाइकटाइ सिकिन् । झन्डै एक वर्ष लाग्ने सीप बाध्यतामा उनले तीन महिनामै पूरा गरिन् । सिलाउन जाने पनि पवित्राको साथमा मेसिन थिएन ।
प्रकाशित : चैत्र २५, २०७५ ०९:४४