वृद्धवृद्धाको गुनासो : नयाँ पुस्ता मोबाइलमै भुल्छन्

‘हामीले जीवनमा के के दुःखकष्ट भोग्यौं । के–के देख्यौं भन्ने कुरा छोराछोरी, नातिनातिनाले सुनिदिनुपर्छ’
दुर्गालाल केसी

दाङ — वृद्धवृद्धाको बौद्धिक सम्पत्ति उपयोग कसरी गर्ने ? जीवनभर उनीहरूले सँगालेका अनुभव नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने ? यी विषयमा शनिबार तुलसीपुरमा गम्भीर बहस र छलफल भएको छ । ६० देखि ९० वर्षसम्मका ८३ वृद्धवृद्धा एक ठाउँमा जुटेर आफ्ना अनुभव साटासाट गरे । उनीहरूले आफ्ना कुरा नयाँ पुस्ताले नसुनेकामा गुनासो पनि गरे ।

दाङको तुलसीपुरमा शनिबार अनुभव साटासाट गर्न भेला भएका वृद्धवृद्धा । तस्बिर : दुर्गालाल/कान्तिपुर

जीवनभर सिकेका सीप नयाँ पुस्ताले सिक्न आवश्यक रहेको तुलसीपुर उपमहानगरपालिका–८, कटकुइयाकी ८३ वर्षीया भागीरथी पाण्डेले बताइन् । ‘हामीले जीवनमा के के दुःखकष्ट भोग्यौं । के के देख्यौं भन्ने कुरा छोराछोरी, नातिनातिनाले सुनिदिनुपर्छ,’ उनले भने, ‘हामीले देखे भोगेका कुरा अहिले छैनन् । हामी गएपछि ती कुरा पनि हराएर जान्छन् ।’

तुलसीपुर–८, ज्ञानज्योति टोलकी शिवाकुमारी उपाध्यायका ९ छोराछोरी र २६ नातिनातिना छन् । उनी कहिलेकाहीं केटाकेटीसँग कुराकानी गरौं भन्ने सोच्छिन् तर सबै आफ्नै धुनमा हुन्छन् । कुरा सुनिदिने कोही हुँदैन । ‘सबै मोबाइल खेलाइरहन्छन् । मोबाइलमा के के हेर्छन् । खेल्छन् । हाम्रा कुरा सुन्न कोही तयार हुँदैन,’ उनले भनिन्, ‘हामी आँखा देख्दैनौं, मोबाइल चलाउन जान्दैनौं । अचेलका केटाकेटी त्यसैमा भुलेका छन् । हाम्रा कुरा कसले सुनिदेओस् !’

तुलसीपुर–३ का ८४ वर्षीय हर्कसिंह ओलीले पनि जीवनमा अनेक अनुभव सँगालेका छन् । खेतीपाती गरे, छोराछोरी हुर्काउन मिहिनेत गरे, सकीनसकी पढाए । त्यसबेला पढ्न नपाए पनि कामका आधारमा धेरै ज्ञान हुने उनको अनुभव छ । आफूसँग भएको ज्ञान बाँडन चाहन्छन् तर कसले सिक्ने ? ‘वृद्धवृद्धाका कुरा सुन्ने र भएको सीप लिने काम गर्नुपर्छ । हाम्रो ज्ञान, सीप मर्न दिनुभएन,’ उनले भने, ‘हामी जाँदा हाम्रो सबै अनुभव हराउने अवस्था नहोस् ।’

पहिले पहिले बूढाबूढी र केटाकेटी एकै थलोमा बस्ने, कुराकानी सुन्ने र सरसल्लाह लिने चलन भए पनि अहिले सबै हराउँदै गयो । ‘अब त सबै एक्लाएक्लै बस्न थाले,’ तुलसीपुर–९ का ८८ वर्षीय दामोदर भट्टराईले भने, ‘नयाँ र पुराना पुस्ताको भेटै नहुने समय आइसक्यो । सबै आफ्नै धुनमा छन् । सिक्ने चलन हरायो ।’

वृद्धवृद्धासँग ज्ञानको भण्डार भएकाले उनीहरूका कुरा सुन्ने र सिक्ने चलन सुरु गर्न आवश्यक रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका जिल्ला अध्यक्ष भोलानाथ योगीले बताए । ‘जीवनभर सँगालेको ज्ञान, सीप निकै उपयोगी हुन्छ । यो सीप हस्तान्तरण हुन आवश्यक छ,’ उनले भने, ‘घर परिवार र समाज भरिलो हुन ज्येष्ठ नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ ।’

बोलीवचन र व्यवहार मीठो गर्न सके मात्रै पनि ज्येष्ठ नागरिकलाई सन्तोष मिल्ने नागरिक समाजका पूर्वअध्यक्ष टीकाराम रेग्मीले बताए । ‘सन्चो, बिसन्चो ख्याल गर्ने, कहिलेकाहीं सरसल्लाह लिने, कुरा सुनिदिने गर्दा पनि सन्तुष्टि मिल्छ,’ उनले भने, ‘समाज एकल परिवारमा बढी केन्द्रित भएकाले समस्या छ । ज्येष्ठ नागरिकको अनुभव उपयोग हुन सकेको छैन ।’

ज्येष्ठ नागरिकका अनुभव साटासाट गर्ने वातावरण मिलाउन र बुढेसकाल सुखद बनाउन विभिन्न मनोपरामर्शका कार्यक्रम सञ्चालन गर्न थालिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । ‘बुढेसकाल निकै दुःखद र पीडादायी हुन्छ । यसलाई कसरी व्यवस्थापन गरी अधिकतम खुसी जीवन बाँच्ने भन्नेबारे परामर्श गर्ने गरेका छौं,’ उनले भने, ‘उहाँहरूको बौद्धिक सम्पत्ति उपयोग गर्न दिवा जमघट र छलफल कार्यक्रमलाई पनि महत्त्व दिइरहेका छौं ।’

ज्येष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण, स्वास्थ्य जाँचजस्ता कार्यक्रम गरेर वृद्धवृद्धाका समस्या सम्बोधन गर्ने प्रयास गरिरहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । ‘अब ज्येष्ठ नागरिकलाई आरामदायी जीवनयापनमा सहायता गर्दै उहाँहरूको अनुभवबाट सिक्ने वातावरण तयार गर्दैछौं,’ उनले भने, ‘टोलटोलमा उहाँहरूका कथा सुन्ने परिपाटी सुरु गर्दैछौं ।’

प्रकाशित : चैत्र १०, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

औद्योगिक क्षेत्र निर्माण ठप्प 

अमृता अनमोल

बुटवल — रूपन्देहीमा प्रस्तावित प्रदेश ५ स्तरीय मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम ठप्प भएको छ । औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन हुन नसक्दा कार्यालय खुलेको ५ महिना बितिसक्दा पनि निर्माणको काम अगाडि बढ्न नसकेको हो ।

रूपन्देहीको मोतीपुरमा प्रस्तावित प्रदेश ५ स्तरीय मोतीपुर औद्योगिक क्षेत्र । तस्बिर : अमृता/कान्तिपुर

तिनाउ नदी किनारको मोतीपुरमा ८ सय १३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन विस्तृत अध्ययन भएको छ । अध्ययन प्रतिवेदनको काम सकिएपछि संघीय सरकारले निर्माणका लागि चालु आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ । गत कात्तिकमा मोतीपुर औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना भएको थियो ।

परियोजना कार्यालयमा इन्जिनियरसहितका कर्मचारी खटिएका छन् । वातावरणीय प्रभाव मूल्यांकनबिना काम गर्न नसकिने भएपछि कर्मचारी कामविहीन भएका हुन् । परियोजनाका प्रमुख तथा इन्जिनियर अशोक पौडेलले वातावरणीय प्रभाव मूल्यांकनबिना काम अगाडि बढाउन नसकिएको बताए ।

औद्योगिक क्षेत्रमा कस्ता प्रकृतिका उद्योग स्थापना गर्ने भन्नेमा वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको छ । नेपाल इन्भाइन्मेन्लट एन्ड साइन्टिफिक सर्भिसेज प्रालि (नेस) नामक परामर्शदाताको अगुवाइमा बीडीए नेपाल र एडीएमसीजेभी जितजंगमार्ग, थापाथली काठमाडौंले संयुक्त रूपमा वातावरणीय प्रभाव मूल्यांकनको काम गरेका थिए ।

तर, अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा प्रक्रियामा रहेको परियोजनाले जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महानिर्देशक नन्दकिशोर बस्नेतले वन मन्त्रालयको ढिलासुस्तीले काम अघि नबढेको बताए । चैत मसान्तसम्म जसरी पनि वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन सार्वजनिक गर्ने उनले बताए ।

औद्योगिक क्षेत्र रूपन्देहीको बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको छ । औद्योगिक क्षेत्रमा उद्योग खोल्न ४ सय ५० उद्योगीले आवेदन दिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले इच्छुक उद्योगीलाई एक महिनाभित्र आशयपत्र पेस गर्न आग्रह गर्दै असार २० गतेसम्मको समय तोकेको थियो ।

वातावरणीय प्रभाव मूल्यांकनका क्रममा उक्त क्षेत्रमा कस्ता उद्योग स्थापना हुन्छन् र तिनको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन गर्न पनि आशयपत्र मागेको थियो । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, घरेलु तथा साना उद्योग महासंघ, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोदन गाउँपालिकालगायतले पनि इच्छुक उद्योगीका आशयपत्र संकलन गरेका थिए ।

धेरै उद्योगीले औषधि, सोलार, मेटल, फर्निचर, आईटी सफ्टवेयर, केवल तथा टान्सफर्मर, प्याकेजिङ, प्लास्टिकलगायतका उद्योगका लागि जग्गा माग गरेका थिए । खाद्यान्न, डेरी, आयुर्वेदिक औषधि, पानीलगायतका लागि पनि जग्गा माग भएको छ । उद्योगका लागि आशयपत्र दर्ता गर्नेमा रूपन्देहीका उद्योगी धेरै थिए ।

मोतीपुरमा ५ वर्षभित्र करिब ८ अर्बको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारको योजना छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार औद्योगिक क्षेत्रमा करिब दुई सय ठूला तथा मझौला उद्योग स्थापना गर्न सकिनेछ । औद्योगिक क्षेत्रले प्रस्तावित स्थानमा माटोको बेस परीक्षण पनि गरेको छ । यसले ठूला उद्योगका पूर्वाधार पनि निर्माण गर्न सकिने देखिएको छ ।

तिनाउ खोलाको दुवै किनारका लागि थप अध्ययन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गालाई तीन सेक्टरमा विभाजन गरेर काम गर्ने योजना बनाएको छ । औद्योगिक क्षेत्रका लागि छुट्याइएको जग्गामध्ये १ सय ५० बिघा क्षेत्रफलमा बस्ती छ ।

अहिले त्यहाँ रहेको कति बस्ती राख्ने र कतिलाई स्थानान्तरण गर्ने भन्ने पहिलो चरणको लगत संकलन भएको छ । स्थानीय तहले बाक्लो बस्ती छोडन र पातलो बस्ती मात्रै स्थानान्तरण गर्न सुझाव दिएका छन् । विद्यालय र केही सार्वजनिक क्षेत्रका लागि समेत जग्गा छोड्नुपर्ने माग छ । तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले त्यसलाई सार्वजनिक गरेको छैन ।

उद्योगीको आशयपत्र माग गरिसकेपछि पनि औद्योगिक क्षेत्रको काम रोकिंदा उद्योगीहरू चिन्तित बनेका छन् । बुटवल उद्योग वाणिज्य महासंघका अध्यक्ष खिमबहादुर हमालले स्थान अभावले उद्योग खोल्न र विस्तार गर्न नपाएका उद्योगी समस्यामा परेको बताए ।

‘लुम्बिनी केन्द्रित विकास योजना बढ्नु, सहज सीमा नाका, सहज सडक, भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललगायतका कारण रूपन्देहीमा नयाँ उद्योग खोल्न चाहने उद्यमीको संख्या बढो छ । तर, जग्गाको मूल्यवृद्धिले बुटवल र आसपासमा निजी जग्गा किनेर सामान्य व्यक्तिले उद्योग सञ्चालन गर्ने अवस्था छैन,’ उनले भने, ‘यस्तोमा औद्योगिक क्षेत्र निर्माणको काम रोकिनु हुँदैन ।’

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले संघीय सरकारको दायित्वमा पुगेपछि छिटो काम अघि बढाउन आग्रह गरेको बताए । ‘रूपन्देहीमा उद्योगप्रतिको आकर्षण धेरै छ,’ उनले भने, ‘प्रक्रियामा रहेका वातावरणीय प्रभाव मूल्यांकनलगायतका प्रतिवेदन छिटो सार्वजनिक गरेर काम गर्न अनुरोध गरेका छौं ।’

प्रकाशित : चैत्र १०, २०७५ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्