कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडक विस्तारले दुर्घटना न्यून

वीरेन्द्र केसी

अर्घाखाँची — साँघुरो भएकाले सन्धिखर्क–गोरुसिंगे सडक असुरक्षित मानिन्थ्यो । ६८ किमि खण्डका अधिकांश ठाउँमा अप्ठेरा, डरलाग्दा मोड, ग्रेड नमिलेका र खाल्डाखुल्डीका कारण त्रासदीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । जसले गाडी दुर्घटना बढी हुन्थे । विपरीत दिशाबाट आएका गाडी मोडमा नदेखिने हुँदा जुध्ने वा भीरबाट खस्थे । अहिले जोखिमपूर्ण यात्रालाई सहज बनाउन लागिएको छ ।

४ वर्षयता सन्धिखर्क–गोरुसिंगे सडकमा ठूला दुर्घटना भएका छैनन् । यात्रुको ज्यान गएको छैन । फुदबाङ, नरपानी, दहखोला, घुम्ती, सुपादेउरली ठाडा क्षेत्रमा डरलाग्दा मोड र त्यहाँ धेरै दुर्घटना भएका थिए ।


प्रहरीको तथ्यांकअनुसार ०६८ मा २१ जना यात्रुको ज्यान गयो । त्यति नै घाइते भए । ०६९ मा १२ जनाले दुर्घटनामा ज्यान गुमाए । ०७० मा १७ जना र ०७१ मा ३१ यात्रु दुर्घटनामा परी निधन भए । माइक्रो बस सडकबाट तल खस्दा थुप्रै घाइते भए । ०७२ मा ११ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । कारण– गाडी ठोक्किने सडकबाट गाडी खस्ने, जुध्ने समस्या थियो ।


सन्धिखर्क–गोरुसिंगे हेर्ने सडक डिभिजन कार्यालय शिवपुर कपिलवस्तुले मोड फराकिलो पार्ने, नाली काट्ने र ग्रेड मिलाउने काम विस्तार गरेपछि बस, ट्रक, जिप र माइक्रो बस जुध्ने र खस्ने गरेर ठूला दुर्घटना भएर यात्रुको ज्यान गएको छैन । ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यका अनुसार दुर्घटना नहोस् भनेरै सडकमा सूचनामूलक होर्डिङ बोर्ड राख्ने र चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिने गरिएको छ । गाडीको छतमा मान्छे राखे र सिट क्षमताभन्दा बढी यात्रु राखे कारबाहीमा पर्छन् । मोडमा अनिवार्य हर्न बजाउन चालकलाई भनिएको छ ।


माइक्रो बस (हाइस) चालक अमृत पन्थीले मोड फराकिलो पारेपछि गाडी चलाउन सहज भएको बताए । ‘पहिला त हामीलाई नै डर लाग्थ्यो,’ उनले भने, ‘अहिले त विपरीत दिशाबाट आएको गाडी पनि देखिन्छ । हर्न बज्छ । साइड दिने ठाउँ छ । केही फरक छ ।’


अझै पनि धेरै ठाउँमा खाल्डाखुल्डी छन् । त्यहाँ गाडी पार गर्न अप्ठेरो छ । सुपादेउराली, नरपानी र ठाडाका केही मोड फराकिलो पारिँदैछ । सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तु, बुटवल, काठमाडौं पश्चिम नेपाल बस व्यवसायी संघका बस, देउराली यातायात व्यवसायी समितिका हाइस, जिप र लंका यातायाका साना गाडी चल्छन् ।


शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर पवन भट्टराईले गोरुसिंगेदेखि कपिलवस्तुको पत्थरकोट र अर्घाखाँचीको ठाडासम्म सडक फराकिलो पार्ने काम भइरहेको बताए । नरपानीदेखि घुम्तीसम्म डरलाग्दा मोड काटने, फराकिलो पार्ने, वाल उठाउने र नाली काट्ने कामको प्रक्रिया अघि बढेको उनले बताए । अप्ठेरो सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सन्धिखर्क–गोरुसिंगे सडकमा सरर गाडी गुड्ने र यात्रा सहज बनाउने काम भइरहेको उनले बताए ।


धार्मिक पर्यटकीय स्थल सुपादेउराली वरपर अघिल्लो वर्ष पनि मोड फराकिलो पारिएको थियो । सुपादेउराली–नरपानी सडकलाई ढलान गरियो । डिभिजनका सडक कार्यालयका इन्जिनियर नारायण पन्थीले ३२ करोड रुपैयाँको लगानीमा अर्घाखाँचीको ठाडामा सडक फराकिलो पारिँदै गरेको बताए । फराकिलो सडक ७ मिटर पिच गर्ने र दुई मिटर नाली काटने काम भएको छ ।


गोरुसिंगोमा पनि ओटासिल उक्काएर करिब २७ सय मिटर सडक फराकिलो परेर पिच गर्ने काम भइरहेको उनले बताए । संघ सरकारको सहयोगमा निर्माणको काम भएको छ । ‘प्रदेश सरकार मातहत यो सडक परेको छ । आगामी वर्ष थप बजेट आउनेछ,’ उनले भने ।


पहिले सन्धिखर्क–गोरुसिंगे सडक थियो । अहिले प्रदेश सरकारले ठाउँ थपेर कपिलवस्तुको तौलिहवाबाट भारतको सीमासम्म जोड्ने प्रयास गरेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगेबाट ६८ किमिको दूरीमा अर्घाखाँची सदरमुकाम पर्छ ।

देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले जति फराकिलो पार्नुपर्ने र डरलाग्दा मोड काट्नुपर्ने हो, त्यतातिर काम नभएको बताए । ‘सजिलो ठाउँमा मात्रै डबल कटिङ सुरु गरिएपछि सन्धिखर्क–गोरुसिंगे यात्रा अझै सहज छैन,’ उनले भने, ‘चालकलाई मोडमा हर्न बजाउन र साइट च्यापेर गाडी चलाउन भनेकाले दुर्घटनामा भने कमी आएको छ ।’

प्रकाशित : फाल्गुन २८, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?