कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

शौचालयमा पराल

मधु शाही

बाँके — कोहलपुर नगरपालिका–१४ पार्वतीपुरका अधिकांश स्थानीयवासी शौचालय प्रयोगका बारेमा अनभिज्ञ छन् । त्यसैले उनीहरूले शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । यहाँका शौचालय हेर्दा ‘स्टोर रुम’ जस्तै देखिन्छन् । कतिपय शौचालय जीर्ण छन् । मर्मतसम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ । 

कतिपयले भएका शौचालय प्रयोग गरेका छैनन् भने कतिले बनाएकै छैनन् । ४५ वर्षीया बेलकुमारी उपाध्यायले झन्डै ७ हजार रुपैयाँको लगानीमा ३ वर्षअघि शौचालय बनाइन् । ढोका हाल्न नभ्याउँदै उनले शौचालय अन्य प्रयोजनमा लगाइन् । अहिले त्यहाँ उनले गाईभैंसीलाई आवश्यक पर्ने पराल थन्काएकी छन् । ‘गतिलो गोठ छैन, पराल बर्खामा भिज्छ भनेर चर्पीमै राख्न थालें,’ उनले भनिन्, ‘हामी बाहिरै जान्छौं दिसापिसाब लागे ।’


साबिकको शमशेरगन्ज गाविसले ४ वर्षअघि शौचालय नबनाए कुनै पनि सरकारी सुविधा नपाउने नियम बनायो । त्यही बाध्यतामा यहाँ केही शौचालय बने । यद्यपि, तिनको प्रयोग भएन । अनुगमन पनि भएन । ४५ वर्षीया भागमती बर्माले शौचालय बनाउँदा ११ हजार रुपैयाँ खर्च लागेको सुनाइन् । त्यति हुँदाहुँदै पनि उनले ढोका र माथिको छानो हाल्न कन्जुस्याइँ गरिन् ।


‘शौचालय नबने गाविसले काम रोक्थ्यो,’ उनले भनिन्, ‘त्यसैले बनाउन थालेको । छानो र ढोका नराख्दै नियम फेरियो ।’ ढोका र छानो नहुँदा उनको शौचालय प्रयोगविहीन बनेको छ । उनकी बुहारी पूजा बर्माले ढोकै नभएको शौचालय प्रयोग गर्नु असुरक्षित महसुस भएको बताइन् । ‘त्यहाँ शौच गर्नुभन्दा बरु झाडीतिर लुकेर बस्छौं,’ उनले भनिन्, ‘कसले ढोका राखिदन्छ र ? आफूसँग पैसा छैन ।’


शौचालयको विषयमा सबैभन्दा समस्या महिलालाई पर्छ । परिवारले आवश्यक नठानेपछि पूजाजस्ता थुप्रै बुहारी र छोरी बाध्यताले खुला स्थानमा दिसा–पिसाब गर्न बाध्य छन् । ढोका र छत नभएको शौचालय साना नानीहरूको खेल्ने थलो बनेको उनले बताइन् ।

३५ वर्षीया सुहारादेवी अहिरको शौचालय पनि जीर्ण छ । ३ वर्षअघि बनाएको उक्त शौचायलय मर्मत गर्नेतर्फ उनको चासो छैन । ‘खर्च मात्र बढाउन किन बनाउने ?,’ उनले भनिन्, ‘ट्वाइलेटमै कति खर्च गर्नू ? कमाइधमाइ केही छैन ।’


सञ्जय हरिजनको घरमा शौचालय छ । उनले त्यसमा व्यवस्थित रूपले दाउरा राखेका छन् । ७० वर्षे खोडाइ लोनियाको गोठभित्रै शौचालय छ । छोरो विदेश जान गाविसले कागज नबनाइदिएपछि उनले शौचलाय बनाउनु परेको थियो । त्यसबेला निर्माण गरेको शौचालयमा अहिले पनि ढोका छैन ।


उनले शौचालय प्रयोग गर्दै आएको दाबी गरे पनि प्रयोग भएको देखिँदैन । त्यसमा दाउरा र घरायसी सामग्री राखिएको छ । बस्तीकै पाका र वृद्ध ज्यागेश्वरलाल यादवले अधिकांशले शौचालय बनाए पनि प्रयोग र मर्मतको समस्या रहेको बताए । ‘केही संस्थाले शौचालय बनाइदिए तर सदुपयोग भयो कि भएन भनेर बुझ्न कोही आएका छैनन्,’ उनले भने, ‘शौचालय किन प्रयोग गर्ने भन्ने नै धेरैलाई थाहा छैन ।’


कोहलपुर–१४ का वडाध्यक्ष टेकचन हरिजनले पटक–पटक अनुगमन गर्दा पनि शौचालयको सोचमा परिवर्तन ल्याउन नसकिएको बताए । ढोका नभएका शौचालय प्रयोग गर्दा दुर्गन्ध फैलिएर उल्टै फोहोर हुने उनले सुनाए ।


खुला ठाउँलाई शौचालयका रूपमा प्रयोग गर्दा झाडापखालाका बिरामी बढ्ने कुरा गाउँलेलाई सम्झाउँदा सम्झाउँदै थाकिसकेको उनले बताए । ‘पटक्कै सुन्ने र टेर्ने होइनन्,’ उनले भने, ‘फेरि अनुगमन गरेर सम्झाउँछौं । अब पनि मानेनन् भने बाध्यकारी नीति ल्याउने सोचमा छौं ।’

प्रकाशित : फाल्गुन २३, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?