कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उच्च प्रविधिबाट गाँउमा पानी

खानेपानीमा मात्रै २० करोड लगानी 
वीरेन्द्र केसी

अर्घाखाँची — वर्षौंदेखि सञ्चालित खानेपानीका योजनाको मुहान सुकेपछि उच्च प्रविधिबाट खोलाको पानी डाँडामा तानेर वितरण गर्ने अभियान जिल्लाभर सुरु भएको छ । अग्ला पहाडमा पानीका ठूला मुहान पनि छैनन् । सानातिना मूलमा पनि पानी भासिँदै गएपछि गाउँमा खानेपानीको अभाव बढदो छ ।

उच्च प्रविधिबाट गाँउमा पानी

धेरै बस्तीमा पानीको दुःख थेग्न वर्षाको आकाशे पानी संकलन गर्न घरैपिच्छे घैंटा निर्माण गरिएको छ । घैंटामा पानी जम्मा गर्ने र अडकलेर प्रयोग गर्ने गरिन्छ ।


लिफ्ट प्रविधि अपनाएर खोलाको पानी डाँडामा तान्ने, ट्यांकीमा जम्मा गर्ने र घरमा मिटर सिस्टमबाट जडान गरिएका धारामा बिहान–बेलुका वितरण गरेर गाउँलेलाई पानीको गर्जो टार्न लागिएको छ । ‘गाउँका धारामा पानी आउने गरेका मुहान सुक्दै गएका छन्,’ खानेपानी कार्यालय प्रमुख विपिन ज्ञवालीले भने, ‘भूगोल नै सुक्खा भएकाले खानेपानीको समस्या बढदो छ । खानेपानीका मुहानमाथिको र तलको जंगल मासिँदै जानु, संरक्षण नहुनु र जथाभावी सडक खनिनु मुख्य कारण हुन् ।’ घरका धारामा पानी आउन थालेपछि गाउँलेले कुवा बिर्सिए । कुवाको संरक्षण नभएपछि ती पुरिए, पानी हरायो । अहिले धारामा पानी आउन छाडेपछि समस्या भएको उनले बताए ।


सडक निर्माणलगायत विकास निर्माणका काम गर्दा वातावरणीय प्रभाव मूल्यांकन गरिएन । ठूला रूख र बोट विरुवा संरक्षणमा पनि कसैले ध्यान दिएन । योजना सम्पन्न गर्दा भएको पानी अहिले घटेर निकै कम भएको उनले सुनाए । गाउँका कुवा, पँधेरा र खोलामा पनि पहिलेको जस्तो पानी छैन । अर्को जलवायु परिवर्तनका कारण पनि जमिन सुक्खा भएको हो । केही गाउँमा सुविधा भए पनि यहाँ ९० प्रतिशत भूगोलमा पानी छैन ।


धारामा पानी खस्न छाडेपछि स्थानीय कुवा खोज्दै जंगल धाउन थालेका छन् । अब खोला, कुवा र जमिनभित्र भएको पानीलाई उच्च प्रविधि (लिफ्ट योजना) सञ्चालन गरेर वितरण गर्न सुरु गरिएको खानेपानी कार्यालयका प्रमुख ज्ञवालीले बताए । ०३२ सालमा मढेलचौर मुहानबाट केरुंगा, बल्कोट र चिदिका गाउँमा पानी ल्याइएको थियो । मुहानमाथि बाटो खनिनु र संरक्षण नहुँदा अहिले मुहान सुक्यो र धारामा पानी आउन छाडेको छ ।


धारामा पानी खस्दा मन फुरुंग थियो, तरकारी खेती र पशुपालनमा वृद्धि भएको थियो, जब मुहान सुके फेरि दुःखका दिन आएको बल्कोटका पूर्वजनप्रतिनिधि ध्रुव पन्थीले बताए । सामुदायिक वनमा सल्ला मात्रै रोपिएको छ । त्यसले जमिन सुक्खा बनाएको छ । सरकारले वनमा जमिन सुक्खा नपार्ने जातका बिरुवा रोप्ने, खानेपानीका मुहान संरक्षण गर्ने नीति ल्याउनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।


गाउँमा यातायातको सुविधाका लागि मोटरबाटो चाहिन्छ । तर, पानीका मुहानलाई असर नपर्ने गरी बाटो खनिनुपर्ने उनको सुझाव छ । मालारानी गाउँपालिका–९ की पुतला नेपालीको गाउँमा मुहानबाट सीधै पानी ल्याउने योजना छैन । अग्लो बस्ती छ । कुवामा धाएर गाग्रीमा पानी बोक्दा ढाड, घुँडा, छाती, टाउको दुख्ने समस्या बढेको उनले बताइन् । संघीय सांसद टोपबहादुर रायमाझीले अर्घाखाँची सुक्खाग्रस्त भएकाले लिफ्टबाट योजना संचालन गर्न थप दातृ निकायसँग बजेट माग गर्ने बताए । कृषि, पशुपालन र उत्पादनबाट आत्मनिर्भर जिल्ला बनाउन खानेपानी र सिँचाइ योजना आवश्यक रहेको उनले बताए ।


खानेपानीमा मात्रै २० करोड

संघीय र प्रदेश सरकारले यहाँ लिफ्ट प्रविधिका मात्रै ७९ योजना सन्चालनमा ल्याएको छ । खोलाको पानी डाँडामा तान्न यो प्रविधि प्रयोगमा ल्याएको हो । त्यसका लागि संघ सरकारका ३ करोड २१ लाख ८० हजार बजेटका ६६ र प्रदेश सरकारका ७ करोड २२ लाख ५० हजार रुपैयाँका १३ योजना संचालनमा छन् । सबैको डीपीआर तयार गरिँदैछ ।


स्थानीय तहले पनि बजेट विनियोजन गरेर योजना सञ्चालन गरिरहेका छन् । छत्रदेव गाउँपालिकाका ९ वटै वडाका केही गाउँबाहेक अधिकांश बस्तीमा मुहानबाट सीधै पानी आउने ठाउँ छैन । लिफ्ट प्रविधिबाट पानी वितरण गर्ने कार्यक्रम अनुसार पालिकाले यस आर्थिक वर्षमा १ करोड ६८ लाख रुपैयाँ बजेट छुटयाएर लिफ्टबाट पानी तान्ने योजनाको काम गरिरहेको अध्यक्ष लेखनाथ पोखरेलले बताए । संघबाट १ करोड र प्रदेश सरकारको डेढ करोड रुपैयाँ बजेट यही गाउँलाई परेको छ ।


जिल्लामा ५० लाखभन्दा तलका कुनै पनि खानेपानीका योजना छैनन् । पानीकै कारण पशुपालन, कृषि उत्पादन घटदो छ । बसाइँसराइ पनि रोकिएको छैन । ‘५ वर्षभित्रमा पालिकाका सबै बस्तीमा खानेपानीका धारा आउने नीति अनुसार काम गर्दै छौं,’ अध्यक्ष पोखरेलले भने, ‘त्यसमा प्रदेश र संघीय सरकारबाट पनि राम्रो सहयोग र समर्थन मिलेको छ ।’


पाणिनि गाउँपालिकाले खानेपानीका ३५ योजनामा साढे ४ करोड बजेट विनियोजन गरेको छ । ‘कुनै वडा खानेपानीको समस्या नभएको छैन,’ उपाध्यक्ष लक्ष्मी गौतमले भनिन्, ‘आधा योजना लिफ्टबाट संचालन गर्ने हो ।’ मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले यहाँ लिफ्टबाट पानी तानेर वितरण गर्नुबाहेक कुनै उपाय नभएको बताए । पालिकाभर ६ योजनाका लागि २ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको छ ।


सन्धिखर्क नगरपालिकामा पनि उस्तै समस्या छ । बजारमा नौलापानीबाट खानेपानी योजना ल्याउन नगरको ५० लाख र प्रदेशबाट ५० लाख रुपैयाँ छुट्याइएको छ । सन्धिखर्क–२, ३, ४, ५, १० र ११ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेर योजनाको काम सुरुआत गरिएको नगर उपप्रमुख ठाकुर विकले बताए ।


शीतगंगा नगरपालिकामा फनबोर्डका ४, पश्चिम नेपाल ग्रामीण खानेपानी संस्थाका २ योजना सञ्चालित छन् । नगरबाट ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ । ‘चालु आवमा ६० प्रतिशत खानेपानीको समस्या हल हुन्छ,’ नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘हाम्रो कार्यकालमा कुनै गाउँमा खानेपानी अभाव नहुने गरी काम गर्दैछौं ।’

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?