१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सामान्य बन्दै रुकुमकोट, हट्यो निषेधाज्ञा

रुकुम पूर्व — रुकुमकोटको अवस्था सामान्य बन्दै गएको छ । अघिल्लो आइतबारदेखि लगाइएको निषेधाज्ञा हटाइएसँगै जनजीवन सामान्य बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालयले चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको थियो । 

‘एक हप्तादेखिको निषेधाज्ञा हटाइएपछि अवस्था सामान्य भइसकेको छ । मान्छेसँगै सवारी साधनको पनि आवतजावत सुरु भएको छ,’ स्थानीय व्यापारी विनोद केसीले भने, ‘सर्वसाधारणले निर्धक्क हिँडडुल तथा दैनिक काम गर्न थालिसकेका छन् ।’


जिल्ला सदरमुकामसम्बन्धी विवाद बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले ठूलो क्षेत्र समेटेर सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा निषेधाज्ञा जारी गरेको थियो । सर्वोच्च अदालतमा चलिरहेको सदरमुकामसम्बन्धी विवादको पेसी तोकिएको दिन नजिकिँदै गर्दा रुकुमकोट पक्षधर र गोल्खाडा पक्षधरले आन्दोलनका कार्यक्रम बढाउँदै आएका थिए । जिल्लाको सदरमुकाम रुकुमकोट हुनुपर्ने माग रुकुमकोट पक्षधरको छ भने गोल्खाडामा हुनुपर्ने माग गोल्खाडा पक्षधरको छ ।


जिल्लाको स्थायी सदरमुकाम गोल्खाडामा कायम गर्ने सरकारको निर्णय कार्यान्वयनको माग गर्दै गोल्खाडावासीले रुकुमकोटमा शान्तिपूर्ण र्‍याली गर्ने तयारी गरेपछि जिल्ला प्रशासनले रुकुमकोट पक्षधर र गोल्खाडा पक्षधरबीच विवाद बढ्ने भन्दै निषेधाज्ञा जारी गरेको थियो ।


प्रशासनले निषेधाज्ञा हटाएपछि सवारीका साधन पनि नियमित भएका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपूर्व नै रुकुमकोटमा सवारी साधन आउजाउ बन्द गरिएको थियो । रुकुमकोट पक्षधरले आन्दोलन स्वरूप अनिश्चितकालीन रुकुमकोट ठप्प गरेसँगै रुकुमकोटमा सवारी साधनको आवतजावत बन्द भयो भने रुकुमकोट भएर चल्ने सवारीका साधन पनि रोकिए । निषेधाज्ञा हटेसँगै प्रशासनले थपेका सुरक्षाकर्मी पनि फर्काउन थालेको छ ।


प्रशासनले जिल्लाको अवस्था जटिल बन्न सक्ने भन्दै प्रदेश ५ को अस्थायी राजधानी बुटवलबाट थप सुरक्षाकर्मी झिकाएको थियो । सर्वोच्चमा विचाराधीन मुद्दा अब संवैधानिक इलजासमा सुनुवाइ हुने गरी आइतबार फैसला भएपछि जिल्लाको समग्र अवस्था सामान्य हुँदै गएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रकाशित : माघ २९, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?