बाघको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कमल पन्थी

बर्दिया — बढैयाताल गाउँपालिका—२ सितापुरमा घाँस काटिरहेको समय आइतबार साँझ बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार बाघको आक्रमणबाट सोही ठाउँका ७१ वर्षीय चन्द्र बहादुर शाहीको उपचारको क्रममा मृत्यु भएको छ । शाहीलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए ।


बाघले शाहीको घाटी र छातीमा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट सोही ठाउँका विजय बुढा क्षेत्री घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


भारतीय सीमावर्ती क्षेत्र कर्तनियाघाट वन्यजन्तु आरक्षको घना जङ्गल भएकोले बाघ बढैयाताल गाउँपालिकाको सितापुर गाउँमा पसेर आतङ्क मच्चाएको आशंका स्थानीयले गरेका छन् । बाघ अझै गहुँबारीमा भएकाले स्थानीयवासी आतंकित भएका छन् ।


बाघबाट थप क्षति नहोस् भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । बाघलाई धपाउन वा डार्ट(बेहोस) गर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई स्थानीयले आग्रह गरेका छन्


प्रहरी उपरीक्षक मैनालीले उक्त गाउँका बासिन्दालाई घर बाहिर ननिस्कन आग्रह गरिएको बताए । त्रासले गाउँ सुनसान भएको स्थानीयले बताए । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब १८ किमी पूर्व दक्षिणमा पर्दछ ।

प्रकाशित : माघ २१, २०७५ २०:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी

विनोद भण्डारी

मोरङ — जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयकी शिक्षिका दुर्गावती राजवंशी सोमबार १० बजेर ५ मिनेटमा विद्यालय पुगिन् । मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले उनलाई सोधे, ‘मिस तपाईंको घडीमा कति बज्यो ?’ घडी हेरेर शिक्षिकाले जवाफ फर्काइन्,‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ ।’

मोरङको बुधनगरस्थित जनता बाल आधारभूत विद्यालयबाट सोमबार घर फर्कंदै शिक्षिका । १० बजेभन्दा ढिलो पुगेपछि स्कुलले बनाएको नियमअनुसार विद्यार्थीले उनलाई घर फर्काएका थिए । तस्बिर : विनोद/कान्तिपुर

दुवै छात्राले भने,‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस् ।’घरबाट हिँडदा ढिला भएको भन्दै मनाउन खोजिन् तर विद्यार्थी मानेनन् । ‘आउँदाआउँदै ढिलो भइहाल्यो, आज घर फर्कन्छु, भोलिदेखि समयमै विद्यालय आइपुग्छु,’शिक्षिका राजवंशीले कान्तिपुरसँग भनिन्,‘आफैंले बनाएको नियम हो, पालना नगरी सुखै छैन ।’

यसअघि शिक्षिकाद्वय मनमाया गुरुङ र पूजा मण्डललाई पनि विद्यार्थीले ढोकैबाट फर्काएका थिए ।शिक्षक–शिक्षिका मात्र होइन, विद्यार्थीलाई पनि ढिलो आए घर फर्काउने नियमै बनाइएको छ । यो नियम सबैले सहज रूपमा मान्दै आएका छन् ।

१० बजेर ढिलो भइसकेपछि विद्यालय पुग्ने ६० जना विद्यार्थीलाई पनि सहपाठीले फर्काइसकेको प्राचार्य वीरेन्द्रप्रसाद मण्डलले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानसहित शिक्षक र विद्यार्थी समयमा विद्यालय नआउने र आए पनि लगत्तै हिँडिहाल्ने प्रवृत्ति रोक्न दुई महिनादेखि १० बजेर एक मिनेटपछि भए पनि शिक्षक–विद्यार्थीलाई फर्काउने नियम लागू गरिएको प्राचार्य मण्डलले बताए ।

हरेक दिन १० बज्न ५ मिनेट बाँकी रहँदा कक्षा ७ र ८ का विद्यार्थी मूलढोकामा बस्छन् । घण्टी लागेपछि आइपुग्ने शिक्षक र विद्यार्थीलाई उनीहरूले फर्काइदिन्छन् । विद्यालयमा ३ सय ६५ जना अध्ययनरत छन् । तीमध्ये २ सय ५८ जना दलित सरबरिया समुदायका छन् ।

करिब ८० प्रतिशत बालबालिका नियमित विद्यालय जाने गरेको विद्यालयको अभिलेख छ । ‘नियम लागू भएपछि शिक्षक र विद्यार्थी ढिलो आउने र दिउँसै घर फर्कने रोग निवारणजस्तै भएको छ,’ प्राचार्य मण्डलले भने, ‘ढिलो आउने गेटबाटै घर फर्कन्छन्, समयमा आउने पनि ४ बजेअगाडि निस्कन पाउँदैनन् ।’

आपतकालीन समस्या आइपरे मात्र शिक्षक र शिक्षिका चार बजेअगाडि बाहिर निस्कन पाउने र छुट्टी भएपछि निर्धारित समयमा निस्कन पाउने मण्डलले बताए । विद्यार्थी टिफिनमा पनि बाहिर निस्कन पाउँदैनन् । टिफिन लिएर आउँछन्, नल्याउनेका अभिभावकले ल्याइदिन्छन् । उनका अनुसार टिफिनमा बाहिर निस्कन दिँदा विद्यार्थी घर भाग्ने समस्या थियो । विद्यालय प्रवेश गरिसकेपछि उनीहरू कक्षाकोठा र मूलढोकाबाट आफूखुसी बाहिर निस्कन पाउँदैनन् ।

कक्षा ८ मा अध्ययनरत ज्योति केवटले भनिन्, ‘विद्यार्थीले कक्षाकोठाबाट बाहिर निस्कँदासमेत गेट पास प्रयोग गर्नुपर्ने नियम छ ।’ विद्यालयको यो नियमको पालना सबैले गरेको उनले बताइन् ।

जहदा गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय छन् । तीमध्ये यो विद्यालय शैक्षिक गुणस्तर सुधार र अनुशासनमा उत्कृष्ट भएको गाउँपालिका शिक्षा संयोजक विन्दुकुमार लावतीको बुझाइ छ । छिमेकी विद्यालयमा दिउँसो १२ बजेसम्म शिक्षक र विद्यार्थी विद्यालय आउने अनि मन लागेको बेला घर जाने गर्छन् । ती विद्यालयका प्राचार्यलाई जनता बाल आधारभूत विद्यालयको जस्तो नियममा बाँध्न सुझाव दिँदा बेवास्ता गरेको लावतीको गुनासो छ ।

यो विद्यालय परिसर सफा छ । कक्षा ५ देखि ८ सम्मका विद्यार्थीले पालो गर्दै हरेक दिन विद्यालय परिसर सफाइ गर्छन् । विद्यालयमा स्वच्छ पानीको व्यवस्था छ । कक्षा ५ देखि ८ का बालबालिकालाई बेलाबेला प्रोजेक्टर र कम्प्युटरबाट पढाउनका लागि एक थान प्रजेक्टर र सात थान कम्प्युटरको व्यवस्था गरिएको छ ।
विद्यालयमा पुस्तकालय र लोपोन्मुख वस्तुको संग्रहालय पनि छ ।

लोप हुँदै गएका पुराना वस्तुको विद्यार्थीलाई जानकारी दिन ढिँकी, जाँतो, ओखल, पुराना हतियार, ढाका टोपी, डोली, विराट राजाको दरबारका इँटा, ओदान, ठेकी, हर्पे, मादल, भड्डु, करुवा, दियो, ढाकी, डोकोजस्ता सामान संग्रहालयमा राखिएको प्राचार्य मण्डलले बताए । अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने प्रयास गरे पनि दक्ष जनशक्ति अभावमा सम्भव नभएको उनको गुनासो छ ।

प्रकाशित : माघ २१, २०७५ २०:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×