१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रानीमहल संरक्षणमा चासो 

माधब अर्याल

पाल्पा — संघीय सरकारका दुई मन्त्री शनिबार हेलिकप्टर चढेर रानीमहल पुगे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडाले रानीमहल क्षेत्रको अवलोकन गरेका हुन् । कालीगण्डकी किनारमा चट्टानलाई जग बनाएर रानीमहल निर्माण गरिएको छ । 

रानीमहल संरक्षणमा चासो 

कालीगण्डकीले रानीमहलको जग कटान गरिरहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने मन्त्रीले बताए । यो महल गत साउन १० गतेबाट तानसेन नगरपालिकालाई हस्तान्तरण भइसकेको छ । नगर प्रमुख अशोक शाहीले बजेट अभाव भएकाले संघीय सरकारले सघाउनुपर्ने बताए ।


कालीगण्डकी करिडोरको मालढुंगा–पालुङखोलासम्मको सडक चौडा कार्यको शिलान्यास र रूरू क्षेत्रको दर्शनपछि दुवै मन्त्री रानीमहल आएका थिए । उनीहरू रानीमहल आउने विषयमा धेरै अनभिज्ञ थिए । ‘आर्थिक, वातावरणीय, धार्मिक, पर्यटकीय सम्भावना खोज्दै हिँडेका छौं,’ अर्थमन्त्री खतिवडाले भने, ‘चीन र भारत जोड्ने सडक निर्माणले तीव्रता पाएकाले अब कस्ता पूर्वाधार विकास गर्नुपर्छ भन्ने विषयमा निरीक्षण गरिरहेका छौं ।’


रानीमहलजस्ता सम्पदा संरक्षणका लागि प्रदेश सरकारसँग मिलेर काम गर्नुपर्ने उनले बताए । कोरला नाकादेखि भारतीय सीमा नाकासम्म यस्ता विषयवस्तु खोजी गर्ने क्रममा रहेको उनले जनाए ।


यस्ता सम्पदाको संरक्षण र प्रवद्र्धन गरेर आर्थिक रूपमा रोजगार, आयआर्जन र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने अर्थमन्त्रीले बताए । उनले आन्तरिक पर्यटकको केन्द्रका रूपमा विकास भएको तर बाह्य पर्यटक भित्र्याउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।


‘रानीमहलसम्म आउनलाई सडक पहिलो पूर्वाधार हो,’ उनले भने, ‘धेरै बाटोको संगमस्थल पनि बनेको छ । सडक सञ्जालले छिट्टै आइपुग्ने भएकाले पर्यटकको हब बन्न सक्छ ।’ रानीमहल पर्यटकको हब बने पनि प्रचारप्रसारलाई अझ अन्तर्राष्ट्रियकरण गर्न नसकेको उनले बताए । उनले साहसिक पर्यटन, कालीगण्डकी नदीसँग सम्बन्धित रहेर योजना बनाउन नगरपालिकालाई आग्रह गरे । कालीगण्डकी क्षेत्र रिडीदेखि नै पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए ।


‘काठमाडांै, चितवन, पोखराबाट आउने पर्यटकको खर्चको वितरण गर्दा आयको पुन: वितरणका हिसाबले महत्त्वपूर्ण छ,’ उनले भने, ‘रानीमहलको संरक्षणमा संघ सरकारले आफ्नो क्षेत्रभित्र रहेर आवश्यक सहयोग गर्ने नै छ ।’


परराष्ट्रमन्त्री ज्ञवालीले रानीमहल नेपालकै सुन्दर स्थान भएकाले यसको प्रचारप्रसार र संरक्षणमा जोड दिनुपर्ने बताए । रानीमहलको इतिहास र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी भएको उनले बताए । ‘नदीको किनारमा यति सुन्दर र एउटा भू–बनोटमा रानीमहल छ,’ उनले भने, ‘जति धेरै प्रचार गर्न सक्यो, त्यति धेरै पर्यटक आवागमन सुनिश्चित गर्न सकिन्छ ।’ उनले रानीमहलको सुरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।


कालीगण्डकी नदी बगेको जगबाटै असुरक्षित हुँदै गएको देखिएकाले यसका विषयमा बेलैमा सचेत हुन जरुरी रहेको बताए । ‘यसको जगलाई धक्का दिइरहेको अवस्था छ,’ उनले भने, ‘त्यसलाई संरक्षण गर्न जरुरी छ । त्यसमाथि कालीगण्डकी करिडोर खनिरहेका छौं । त्यसबाट आउने भूस्खलनको असर नपरोस् भन्नका निम्ति बाह्य संरक्षण गर्नुपर्छ ।’


उनले भित्री संरक्षण मौलिकतालाई कायम राखेर रेट्रोफिट वा नयाँ ढंगले रेनोभेट गर्न जरुरी रहेको बताए । बाह्य सुन्दरताको सुरक्षामा ध्यान दिँदै महत्त्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘यो प्रेमको प्रतीक हो,’ उनले भने, ‘यसले लाखौं पर्यटक भित्र्याउन सक्छ ।’


मन्त्रीद्वयलाई तानसेन नगरपालिका प्रमुख शाहीले रानीमहल संरक्षणको जिम्मेवारी स्थानीय तहमा आए पनि बजेटको अभावमा काम गर्न नसकिएको जानकारी गराएका थिए । उनले संघीय सरकारले रानीमहल, कालीगण्डकी करिडोर र रूरू क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न मागपत्र पेस गरको बताए । तानसेन नगरपालिका–१३ रानीमहल संघीय सरकारले स्थानीय सरकार मातहत रहने गरी हस्तान्तरण गरिसकेको छ ।


प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, एसपी विश्वमणि पोखरेल, गोरख दल गण प्रमुख सुरज थापा, सशस्त्र प्रहरी प्रमुख ईश्वरी खनाल, अनुसन्धान प्रमुख सन्तोष बस्नेतलगायतको टोली रानीमहल पुगेपछि मात्र मन्त्रीद्वय आउने जानकारी पाएका हुन् । ‘मन्त्री आउने कुरामा हामीले पनि ढिला थाहा पाइयो,’ स्थानीय सुरेश पाण्डेयले भने, ‘एकाएक गाडीको लस्कर झर्दा कोही आउने भएछ कि भन्ने लागेको थियो ।’ उनका अनुसार पछिल्लो समय नजिकका मूल सुकेपछि रानीमहल आउने पर्यटकले पानी पिउनसमेत नपाएको बताए ।


तानसेनबाट २ घण्टाको पैदल र सवारी साधनमा आधा घण्टामै पुग्न सकिन्छ । तानसेन कैलाशनगरबाट १३ किलोमिटर टाढा रहेको रानीमहल खडगशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए । १९५० मा शिलान्यास गरी १९५४ सालमा महल निर्माण सम्पन्न भएको थियो ।

प्रकाशित : माघ २१, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?